२०८१ वैशाख ५ गते। नेपाल प्रहरीको आधुनिकीकरणका जनक, नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) स्वर्गीय खड्गजित बरालको ९६ औँ जन्मजयन्ती। उहाँको जन्म तत्कालीन पाल्पा (हाल नवलपुर अर्थात् पूर्वी नवलपरासी) मा कप्तान बहादुरसिंह बराल र सरस्वती बरालको कनिष्ठ सुपुत्रका रूपमा भएको थियो।
उहाँले २०२९ श्रावण १ देखि २०३५ जेठ ३१ सम्म प्रहरी प्रमुखको कार्यभार सम्हाल्नुभएको थियो।
उहाँको कार्यकालदेखि नेपाल प्रहरी प्रधान कार्यालय र मातहातमा कार्यरत प्रहरीलाई प्रत्येक महिनाको आइतबार हेडक्वार्टरको प्राङ्गणमा सामूहिक परेड गराउने चलन सुरु भयो। सो परेडमा सम्पूर्ण प्रहरीलाई अनिवार्य उपस्थित गराउने र आईजीपीबाटै त्यसको निरीक्षण गरिने परिपाटी बसालियो। सङ्गठनको कामकारबाहीप्रति गुनासो भए वा व्यक्तिगत पीरमर्का भए सो परेडमा सीधै आईजीपीसमक्ष जाहेर गर्न सकिन्थ्यो।
दण्डनीय काम गर्नेलाई तुरुन्त कारबाही र राम्रो काम गर्नेलाई बराल सरबाट तत्काल पुरस्कृत गरिन्थ्यो। राम्रो काम गर्नेलाई विभूषण, नगद पुरस्कार, तत्काल बढुवा दिने तथा प्रतिष्ठित विदेशी प्रशिक्षण संस्थाबाट प्रशिक्षण दिलाउने परिपाटी थियो। प्रहरीको मनोबल उच्च राख्न उहाँबाट चालिएका यस्ता सकारात्मक कदमले प्रत्येक प्रहरीमा नयाँ उर्जा थपियो। प्रहरीहरू अनुशासित भई सङ्गठनको दायित्व र आफ्नो कर्तव्यप्रति सचेत एवम् उत्तरदायी हुन थाले। सेवाकालदेखि सेवाकालपर्यन्त बराल सर सबै प्रहरीमाझ आदरणीय बन्नुभयो। हरेकको मनमा ‘सङ्गठनको भविष्यमा नै हाम्रो भविष्य छ’ भन्ने भावना जागृत भयो।
अध्यागमनमा नेपाल प्रहरी
पहिला भिसा तथा अध्यागमनसम्बन्धी सम्पूर्ण कामकारबाही प्रहरीबाट हुन्थ्यो।
नेपालमा विदेशीको प्रवेश, उपस्थिति र प्रस्थानलाई नियन्त्रित र व्यवस्थित बनाउन तथा अनुगमनसमेत गर्न नेपाल प्रहरी सक्षम रहेको व्यहोरा बराल सरले तत्कालीन सरकारमा जाहेर गर्नुभयो, जसअनुरूप सरकारले नेपाल प्रहरीलाई अध्यागमनसम्बन्धी सम्पूर्ण कार्यको जिम्मेवारी दियो। बराल सरको कार्यकालमा २०३० भाद्र ३ मा अध्यागमनका लागि दरबन्दी निकासा भयो।
उहाँको कार्यकालमा प्रहरीले हेर्ने अध्यागमन सम्बन्धी जिम्मेवारी सिभिल (गृह) लाई सुम्पने प्रयास भएको थियो। तर उहाँकै प्रयासमा अध्यागमन हेर्ने जिम्मेवारीमा नेपाल प्रहरी नै रह्यो। यसरी २०३१ सालदेखि २०४६ सालसम्म नेपाल प्रहरीले अध्यागमन क्षेत्रमा अनवरत सेवा पुर्यायो।
२०३२/०३३ सालतिर म रामशाहपथस्थित अध्यागमन कार्यालयमा कार्यरत थिएँ।
एकदिन मेरो विषयमा एक इटालियन पर्यटकले नेपाल पुलिसको हेडक्वार्टरमा उजुरी गरेछन्।
मासिक निरीक्षणको क्रममा मलगायतका प्रहरीहरू पुलिस हेडक्वार्टरको प्राङ्गणमा पंक्तिबद्ध थियौँ।
बराल सरले निर्देशन गर्नुभयो, ‘अध्यागमनमा काम गर्ने राणा को हो? पंक्ति छोड्!’
‘म हुँ, सर,’ पंक्तिबाट निस्कँदै मैले भनेँ।
बराल सरले मलाई इटालियन पर्यटकका सम्बन्धमा बयान दिन लगाउनुभयो।
मैले विस्तृतमै बताएँ– ‘सर, ती इटालियन पर्यटकले अध्यागमन कार्यालयमा कार्यरत प्रहरीमाथि दुर्व्यवहार गरी मर्यादाविपरीत काम गरे। त्यसपछि उनलाई अध्यागमन कार्यालयबाट बाहिर निकालियो।’
केहीबेर वातावारणमा मौनता छायो।
‘जे गरिस्, ठीक गरिस्’, त्यसपछि बरालसाबले भन्नुभयो, ‘गो अहेड!’
प्रहरीको मनोबल उच्च राख्ने मामलामा उहाँको सजगता यस घटनामा प्रत्यक्ष अनुभव गरेँ। साथै, गल्तीबिना उजुरी परेको अवस्थामा मातहतका प्रहरीको बचाउमा उहाँ ‘सुरक्षा–कवच’ बनेर उभिनुभएको महसुस गरेँ। कर्तव्यपालनका क्रममा प्रहरीविरुद्ध उजुरी परेर अप्ठेरो स्थिति आउँदा यसरी उहाँले सम्पूर्ण जिम्मेवारी आफूले लिई मातहत प्रहरीलाई भरोसा दिएर सदैव सच्चा अभिभावकीय भूमिका निर्वाह गर्नुहुन्थ्यो।
प्रहरी सेवामा प्रवेश
२०२४ सालको कुरा हो। म आफ्नो घर वीरगन्जमा थिएँ। नेपाल प्रहरीमा रिक्त अधिकृत पदपूर्तिका लागि पुलिस हेडक्वार्टरबाट खुला प्रतियोगितामा दरखास्त आह्वान गर्दै विज्ञापन प्रकाशित भयो। यसबारे मेरो साथी अम्बिकाबहादुर क्षत्रीले काठमाडौँबाट खबर गर्यो।
काठमाडौँ आएर आवेदन दिएँ। हरेक परीक्षामा सहभागी हुँदै लिखित परीक्षासम्म उत्तीर्ण भएँ। अन्तिम चरणमा अन्तर्वार्ता थियो। अन्तर्वार्ता लिनेमा बराल सर पनि हुनुहुन्थ्यो। उहाँ त्यतिबेला महाराजगञ्जस्थित सदर प्रहरी तालिम केन्द्र (हाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान) का कमान्डेन्ट (प्रमुख) हुनुहुन्थ्यो।
अन्तर्वार्ताको क्रममा मैले आफ्नो खेलकुदको पृष्ठभूमि बताएँ। म राष्ट्रियस्तरको फुटबल खेलाडी थिएँ। साथै, थाइल्यान्डको राजधानी बैंककमा आयोजित एसियन गेम्समा १०० मिटर दौडमा नेपालको तर्फबाट सहभागी पनि भएँ। मेरो खेलकुदको पृष्ठभूमिबाट बराल सर प्रभावित हुनुभयो। २०२४ सालमा प्रहरी सेवा प्रवेश गरेँ। नेपालको प्रतिनिधित्व गर्दै चीन र हङकङमा फुटबल खेल्ने मौका पाएँ।
मैले सेवा प्रवेश गर्दा सङ्गठन प्रमुखमा आईजीपी रोमबहादुर थापा सर हुनुहुन्थ्यो। मसँगै भर्ना हुनेमा पूर्वएसएसपी ज्ञानकुमार श्रेष्ठ, पूर्वएसपी अरूण राणा र पूर्वइन्स्पेक्टर अम्बिकाबहादुर क्षेत्री आदि हुनुहुन्थ्यो।
नेपाल प्रहरीमा फुटबलको विकास
२०२५ सालमा ‘आईजीपी शिल्ड फुटबल प्रतियोगिता’ सुरु भयो, जुन प्रहरी सङ्गठनभित्रकै अन्तरअञ्चल प्रतियोगिता थियो। बराल सरको परिकल्पनामा सुरू भएको सो प्रतियोगिताको प्रारम्भिक योजना पनि उहाँबाटै तयार भयो। त्यसमा पुलिस हेडक्वार्टरबाट एक, सदर प्रहरी तालिम केन्द्रबाट एक र चौध अञ्चलबाट एक/एक गरी कुल १६ वटा टिमबीच प्रतिस्पर्धा हुन्थ्यो।
नेपाल प्रहरीको फुटबल टिमलाई परिचित गराउने श्रेय बराल सरलाई जान्छ। पहिला प्रहरी टिमले प्रहरी सङ्गठनभित्रै सीमित भई खेल्थ्यो। सर्वसाधारणका फुटबल टिमसँग प्रतिस्पर्धा गर्ने अनुमति प्रहरी टिमलाई थिएन।
स्वीकृति पाउन कठिन थियो। बराल सरले उपयुक्त तर्क प्रस्तुत गरेर दरबारबाटै स्वीकृति लिनुभयो। यसरी प्रहरीको फुटबल टिमलाई जनतामाझ परिचित गराई प्रतिस्पर्धामा सहभागी हुने परिपाटी सुरु भयो। आजको प्रतिष्ठित नेपाल पुलिस फुटबल टिम यसैको प्रतिफल हो।
फुटबलको माध्यमबाट प्रहरी र जनताबीच सुमधुर सम्बन्ध बन्यो, जसले सकारात्मक परिणाम देखायो। बिस्तारै प्रहरी र नागरिकका खेलाडी सम्मिलित गराई राष्ट्रिय टिम खडा भयो। बराल सरकै प्रयासमा नेपाल प्रहरीका इन्स्पेक्टर, सई र असईजस्ता अधिकृतस्तरका पदका भर्ना–छनौटमा विभिन्न खेलका राष्ट्रियस्तरका खेलाडीलाई ग्राह्यता दिई स्थायी नियुक्ति दिन थालियो। यसबाट फुटबललगायत अन्य खेलसमेतको स्तरोन्नति हुँदै गयो। प्रहरीले यसरी खेलाडीलाई प्रोत्साहित गरेबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रहरी खेलाडीले उत्कृष्ट प्रदर्शन गरी समग्र राष्ट्रकै शीर ठाडो बनाए।
पूर्वआईजीपी अच्युतकृष्ण खरेल, म, पूर्वएसएसपी बाबुराम पुन, पूर्वएसपी रूपकराज शर्मा, पूर्वइन्स्पेक्टरत्रय अशोक केसी, सुरेश पन्थी र धीरेन्द्र प्रधानजस्ता फुटबल खेलाडीलाई नेपाल प्रहरीमा स्थायी नियुक्ति दिने काम बराल सरबाटै भयो।
राष्ट्रियस्तरको फुटबल प्रतियोगितामा प्रहरीको टिमले गोल गर्दा गोलरलाई उहाँले प्रोत्साहनस्वरूप रू. ५०० नगद वा बढुवा दिनुहुन्थ्यो।
उहाँ आईजीपी हुँदा प्रहरीका केही फुटबल खेलाडीले नेपाली राष्ट्रिय फुटबल टिमको नेतृत्वसमेत गरे। प्रहरीका कैयौँ फुटबल खेलाडीले नेपालको ‘सर्वोत्तम खेलाडी’को उपाधि पाए। प्रहरीका कैयौँ फुटबल खेलाडीलाई प्रशिक्षण दिलाउन उहाँले फिफा आबद्ध विदेशी संस्थामा पठाउनुभयो। यस क्रममा बाबुराम पुनले सन् १९७३ मा इरानको तेहरानस्थित ‘थर्ड फिफा कोचिङ स्कुल’ बाट प्रशिक्षित भई फुटबल प्रशिक्षकको अनुमति–पत्र (कोचिङ–लाइसेन्स) प्राप्त गर्नुभयो। त्यस्तै, स्व. रूपकराज शर्मा फिफाका रेफ्री हुनुभयो।
राष्ट्रियस्तरमा फुटबल प्रतियोगिता (पुरुष)
बराल सरको कार्यकालमा नेपालमा भएका राष्ट्रियस्तरका फुटबल प्रतियोगितामा नेपाल प्रहरीले प्रथम स्थानका सर्वाधिक ट्रफी एवम् शिल्ड जित्यो। संयोगवश उहाँकै कार्यकालमा २०३४ सालमा राजा त्रिभुवनको स्मृतिमा काठमाडौस्थित श्री ५ त्रिभुवन च्यालेन्ज शिल्ड फुटबल प्रतियोगिता र श्री ५ त्रिभुवन गोल्डकप फुटबल प्रतियोगिता, राजा महेन्द्रको स्मृतिमा विराटनगरस्थित श्री ५ महेन्द्र गोल्डकप फुटबल प्रतियोगिता र राजा वीरेन्द्रको जन्मोत्सवमा काठमाडौँस्थित श्री ५ शुभजन्मोत्सव कप फुटबल प्रतियोगितामासमेत नेपाल प्रहरीले प्रथम स्थान हासिल गर्यो।
त्यस्तै, २०३४ सालमा झापास्थित रोलिङ्ग कप धुलाबारी फुटबल प्रतियोगिता, बुटवलस्थित तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता र भेरीस्थित भेरी शिल्ड फुटबल प्रतियोगितामा पनि नेपाल प्रहरीले प्रथम स्थान प्राप्त गर्यो। त्यतिबेला फुटबल मात्र नभएर प्रत्येक खेलका राष्ट्रियस्तरका प्रतियोगितामा नेपाल प्रहरीकै वर्चस्व थियो।
अन्तर्राष्ट्रियस्तरमा फुटबल
साथै, २०३३ सालताका दार्जिलिङमा प्रतिष्ठित ‘गोर्खा ब्रिगेड कप’ र नयाँ दिल्लीमा ‘सञ्जय गान्धी स्मृति फुटबल प्रतियोगिता’ मा नेपाल प्रहरीको फुटबल टिम विजयी भयो। नेपाली खेलकुद टिमले भारतमा आयोजित प्रतियोगितामा विजयी भई उपाधि प्राप्त गरेको यो सफलता नेपाली खेलकुद इतिहासमै पहिलो हो।
बराल सरकै कार्यकालमा नेपाल प्रहरीलाई भारतका बिहार पुलिस र सीमा सुरक्षा बल (बोर्डर सेक्युरिटी फोर्स) लगायत भारतका अन्य कयौँ सुरक्षा निकायसँग मैत्रीपूर्ण फुटबल खेलमा सहभागिता जनाउने अवसर मिल्यो। यसबाट नेपाल प्रहरी र भारतका विविध सुरक्षा निकायबीच सुमधुर सम्बन्ध स्थापित भयो, जुन बराल सरकै प्रयासमा सम्भव भयो।
नागरिक र प्रहरीबीच आपसी सम्बन्ध मजबुत बनाई शान्तिसुरक्षा र अमनचैन कायम गर्ने प्रहरी दायित्व निर्वाहमा खेलकुदको विशेष भूमिका छ। खेलको माध्यमबाट जनसहयोग जुटाउन र मित्रराष्ट्रबाट सहयोग प्राप्त गर्न प्रहरीलाई सहज हुने सोचमा उहाँले अघि सार्नुभएको यो योजना वास्तवमै सह्रानीय थियो, जसले नेपाल प्रहरीको छवि अभिवृद्धि हुनुका साथै राष्ट्रिय खेलकुदको स्तरोन्नति र प्रहरी कार्यलाई सहज बनाएको थियो।
बराल सरले खेल हुनु एक दिनअघि नै पुलिस फुटबल टिमलाई प्रत्यक्ष भेटेर ब्रिफिङ गर्नुहुन्थ्यो। विद्यार्थीकालमा उहाँ पनि फुटबल र हकीको उत्कृष्ट खेलाडी हुनुहुन्थ्यो। सोही सीप र अनुभवका आधारमा उहाँले खेलसम्बन्धी टेक्निकसहित रणनीतिक सल्लाह–सुझाव दिनुहुन्थ्यो। साथै, उहाँबाट प्रहरीका खेलाडीलाई उपयुक्त आहारको व्यवस्थापन गरी सम्पूर्ण खेलाडीको मनोबल उच्च गराई खेल्न पठाइन्थ्यो।
राष्ट्रिय–लिगको फुटबल प्रतियोगिता हुँदा प्रहरी टिमको मनोबल उकास्नका लागि उहाँ स्वयम् दशरथ रङ्गशालामा उपस्थित भई रङ्गशालाको उपल्लो भागमा बसेर प्रहरीका फुटबल खेलाडीलाई खेलकै क्रममा निर्देशन दिनुहुन्थ्यो।
गाँस, बास र कपासको व्यवस्था
बराल सर आईजीपी हुनुअघि नेपाल प्रहरीमा गाँस, बास र कपासको राम्रो व्यवस्था थिएन। आईजीपी हुनुभएपछि उहाँको एकल अनवरत संघर्षबाट सकल दर्जाका प्रहरी अधिकृत तथा जवानका लागि २०३० सालमा निःशुल्क रासनको व्यवस्था हुनाका साथै २०३३ सालमा पोसाकलगायतका वैयक्तिक सामग्रीहरू निःशुल्क वितरण हुने व्यवस्था भयो। उहाँकै प्रयासमा २०३१ सालमा सर्वप्रथम इन्जिनियरिङ–शाखा (हालको भौतिक–पूर्वाधार निर्देशनालय) स्थापना भई डीएसपी दर्जाको इन्जिनियर र केही ओभरसियरको दरबन्दी निकासा भयो। सो शाखाले बराल सरकै परिकल्पनामा नक्सा तयार गरी त्यसको आधारमा देशभर एकै स्वरूपका पेगोडा–शैलीका प्रहरी भवनको निर्माण कार्यको थालनी गर्यो।
सीमा सुरक्षामा नेपाल प्रहरी
पहिला नेपाल–भारत सिमानामा भन्सारसम्बन्धी काम गर्ने साधारण कार्यालय मात्र थिए। बराल सरको कार्यकालमा नेपाल–भारत सीमा क्षेत्रमा ‘एक्सक्लुसिभ्ली’ सीमा–सुरक्षाका लागि सर्वप्रथम ‘सुरक्षा प्रहरी चौकी’ (सीमा प्रहरी चौकी) स्थापना भए र २०३२ श्रावणमा ‘सुरक्षा प्रहरी जिल्ला कार्यालय’ (सु.प्र.जि.का.) स्वीकृति भई दरबन्दी निकासा भयो। सु.प्र.जि.का. का मातहतमा सीमा प्रहरी चौकी रहन्थे। उहाँको कार्यकालमा २०३३ सालका प्रहरीका इन्स्पेक्टरका दरबन्दी यिनै प्रयोजनका लागि खडा गरियो। त्यतिबेला नेपाल–भारत सीमा र नेपाल–चीन सीमा गरेर करिब ३० ठाउँमा सीमा प्रहरी चौकी स्थापना भए।
सीमा सुरक्षाका लागि स्थापित सु.प्र.जि.का. र सुरक्षा प्रहरी चौकीका पेगोडा–शैलीका पक्की भवन बनाई आवश्यक हातहतियार उपलब्ध गराइयो। साथै, ती एकाइहरूमा भारतीय सीमा सुरक्षा बलबाट सीमा–सुरक्षासम्बन्धी तालिम लिएका नेपाल प्रहरीका दक्ष जनशक्ति खटाइए। बराल सरकै कार्यकालमा नेपाल प्रहरीका अधिकृतहरूले सर्वप्रथम भारतको सीमा सुरक्षा बलबाट प्रशिक्षित हुने अवसर पाए। यसरी उहाँको कार्यकालमा यी कार्यालय पूर्णरूपमा सञ्चालनमा आए। त्यसबेला स्थापित सामान्य चौकीदेखि थाना र सीमा सुरक्षाका कार्यालयका अधिकांश नवनिर्मित प्रहरी भवन उहाँबाटै उद्घाटन भए।
नेपाल पुलिस ब्यान्डको जग र प्रहरी पुनर्मिलन समारोह
पहिला नेपाल प्रहरीको ब्यान्ड (हालको नेपाल प्रहरी संगीत विद्यालय) अर्द्धप्रशिक्षित थियो। कुनै औपचारिक कार्यक्रममा ब्यान्ड–प्रदर्शनी गर्दा एकरूपता देखिँदैनथ्यो। यसलाई मध्यनजर गरेर बराल सरले ब्रिटिस गोर्खा आर्मीका तत्कालीन मेजर जेनरल बर्नी बर्नेडसँग सम्झौता गर्नुभयो। सो सम्झौताअनुसार नेपाल प्रहरीको ब्यान्डलाई प्रशिक्षण दिलाउन ब्रिटिश गोर्खा आर्मीका तत्कालीन कप्तान हस्तबहादुर थापालाई सर्वप्रथम २०२९ सालमा काजमा काठमाडौं झिकाइयो। बराल सरको परिकल्पनामा थापाबाट प्राप्त प्रशिक्षणको परिणामस्वरूप नेपाल प्रहरीको ब्यान्डमा ‘पाइप ब्यान्ड’ को सुरूवात भयो।
बराल सरकै परिकल्पना एवम् थापाले दिलाउनुभएको प्रशिक्षणको फलस्वरूप नेपाल प्रहरीले २०३० को कात्तिकदेखि प्रत्येक वर्ष निश्चित दिन पारेर महाराजगञ्जस्थित सदर प्रहरी तालिम केन्द्रमा ‘बिटिङ दि रिट्रिट’ नामक उच्चस्तरीय साङ्गीतिक कार्यक्रम सुरु गर्यो। सोही दिन पूर्व तथा बहालवाला प्रहरीबीच भेटघाट गराई भातृत्व र सद्भाव विकसित गर्ने अभिप्रायले ‘प्रहरी पुनर्मिलन समारोह’ मनाउने प्रथा सुरु भयो। बराल सरकै परिकल्पनाअनुसार सुरु भएको यस ‘प्रहरी पुनर्मिलन समारोह’ को प्रभावले कालान्तरमा उहाँबाट सर्वप्रथम परिकल्पित ‘नेपाल भूतपूर्व प्रहरी सङ्गठन’ स्थापनाको ढोका खोलेको पाइन्छ।
केही वर्षपछि हस्तबहादुर थापाले ब्रिटिस गोर्खा आर्मीबाट अवकाश पाउनुभयो। त्यतिबेला उहाँको उमेर करिब ४५ वर्ष थियो। नेपाल प्रहरीमा जनपदतर्फ इन्स्पेक्टरमा भर्ना हुने उमेर हद २५ र प्राविधिकतर्फ ३५ वर्ष थियो। उहाँलाई नेपाल प्रहरीमा भर्ना गर्न सम्भव थिएन। बराल सरले तत्कालीन राजा वीरेन्द्रलाई प्रत्यक्ष भेटेर पुलिस ब्यान्डको विकासका लागि थापाको नियुक्ति अपरिहार्य रहेको व्यहोरा जाहेर गर्नुभयो। फलस्वरूप २०३४ सालमा राजाको विशेष अधिकार ‘हुकुम प्रमांगी (हु.प्र.)’ बाट थापालाई नेपाल प्रहरीको इन्स्पेक्टरमा स्थायी नियुक्ति दिइयो।
अन्य योगदान
बराल सरको कार्यकालमा काठमाडौँ उपत्यकामा आकस्मिक सुरक्षा–सेवा प्रदान गराउने अभिप्रायले २०३१ सालमा भृकुटीमण्डपस्थित नगर प्रहरी कार्यालयमा भ्यानसहितको गस्ती प्रहरी (‘पुलिस फ्लाइङ्ग स्क्वाड’) स्थापना भयो।
उहाँको कार्यकालमा २०३२ सालमा सइको नेतृत्वमा १० जनाको दरबन्दीसहित ‘कुकुर शाखा’ (हालको नेपाल प्रहरी केनाइन महाशाखा, महाराजगन्ज) स्थापना भयो। यसबाट अपराध–अनुसन्धानमा ठूलो टेवा पुग्यो, जुन हालसम्म कायम छ।
बराल सरकै कार्यकालमा २०३० सालमा घोडचढी तालिम सुरू भयो। २०३१ सालमा ट्राफिक–व्यवस्थापनका लागि भारतबाट घोडा मगाई नेपाल प्रहरीमा माउन्टेड (घोडचढी) प्रहरीको सुरूवात भयो। जसअनुसार २०३४ वैशाख १ गते काठमाडौँस्थित सदर ट्राफिक प्रहरी कार्यालयअन्तर्गत माउन्टेड प्रहरी स्थापना भयो। यसबाट भीड–नियन्त्रण र ट्राफिक–व्यवस्थापन सहज भयो, जसले हालसम्म निरन्तरता पाइरहेको छ।
असल व्यक्तित्व
बराल सर उच्च व्यावसायिक दक्षता भएको, कसैसँग नझुक्ने हक्की स्वभावको अधिकृत हुनुहुन्थ्यो। कुसाग्र बौद्धिक क्षमताका धनी उहाँमा बहुभाषाको ज्ञान थियो। निस्वार्थी चरित्र भएको उहाँ न्यायपूर्ण नेतृत्व प्रदान गर्नसक्ने क्षमता भएका सद्गुणी व्यक्ति हुनुहुन्थ्यो। स्वच्छ छविका बराल सर इमानदार र नैतिक हुनुहुन्थ्यो। बहुआयामिक प्रतिभाका धनी उहाँको मन असल थियो।
उहाँको अन्तरहृदय स्फटिक जत्तिकै स्वच्छ थियो। उहाँले मातहतका प्रहरीलाई अनुशासनमा राख्ने क्रममा केही कडा व्यवहार देखाउनुहुन्थ्यो। यस सन्दर्भमा उहाँलाई कडा आईजीपी भन्ने गरिए तापनि उहाँले अन्तरहृदयबाट सबैलाई माया गर्नुहुन्थ्यो। कुनै प्रहरीले गल्ती गरेमा उसलाई बर्खास्त गर्नु भनेको ‘गरिबको पेटमा लात हान्नु हो’ भन्ने उहाँको मान्यता थियो। किनकि न्यून पारिश्रमिकको जागिरबाट निकालिने व्यक्तिको साथमा उसको परिवारसमेत प्रभावित हुन्थ्यो। यस्तो उच्च आदर्श भएका बराल सरको कार्यकालमा गम्भीर अवस्थाका केही अपवादबाहेक कुनै प्रहरीको बर्खास्त भएन। बर्खास्त नगरी नहुने अवस्थामा समेत उहाँले कारबाहीको ‘वैकल्पिक उपाय’ खोज्नुहुन्थ्यो।
उहाँले समयसमयमा सकल दर्जाका प्रहरी अधिकृत र जवानलाई प्रत्यक्ष भेटेर उनीहरूका समस्याबारे जानकारी लिई समाधान निकाल्ने प्रयास गर्नुहुन्थ्यो। साथै, प्रहरीलाई समस्या परेको बेलामा आफूभन्दा वरिष्ठ अधिकारीसामु नझुकी अडान लिने सामर्थ्य उहाँमा थियो।
जिल्ला प्रहरी कार्यालय, सिरहाको प्रमुख
२०३३ चैत्तमा बराल सरको आदेशबाट म जिल्ला प्रहरी कार्यालय, सिरहाको प्रमुखमा खटिएँ। केही समयपछि उहाँको निरीक्षण–भ्रमण भयो।
भ्रमणको क्रममा मेरो सिफारिसअनुरूप बराल सरले ५ जना उत्कृष्ट कार्य गर्नेलाई असइ र प्रहरी हवल्दार पदमा ‘अन द स्पट’ अर्थात् तत्कालै बढुवा गरी दर्ज्यानी चिन्ह लगाइदिनुभयो।
त्यसबेला धेरै प्रहरीको जागिर जाने जिल्लाको रूपमा सिरहा परिचित थियो। यो बढुवा निर्णयबाट त्यहाँ कार्यरत समस्त प्रहरीको मनोबल उच्च भयो। संयोगवश म सिरहाको प्रहरी प्रमुखमा निरन्तर तीन वर्षसम्म खटिने पहिलो अधिकृत भएँ।
भारतमा प्रशिक्षण
सिरहामा मेरो कार्यसम्पादनबाट प्रभावित भएर २०३४ पुसमा बराल सरले मनोनयन गरी तत्कालीन डीएसपी चन्द्रप्रकाश देउजा र मलाई भारतको मध्य प्रदेशस्थित इन्दौरमा रहेको सीमा सुरक्षा बलअन्तर्गत ‘सेन्ट्रल स्कुल अफ वेपन्स एन्ड ट्याक्टिक्स’ मा तीन महिने ‘प्लाटुन–वेपन्स कोर्स’ लिन पठाउनुभयो।
हामीले त्यहाँ स्टेन–गन, पिस्तोल, राइफल र एलएमजी (लङ–मेसिन गन) र म्याप–रिडिङसम्बन्धी सैद्धान्तिक र व्यावहारिक प्रशिक्षण गर्यौँ। सो प्रशिक्षणले म एकाइस्तरका प्रहरीलाई सो हातहतियारसम्बन्धी प्रशिक्षण दिलाउन सक्षम भएँ।
तालिमकै क्रममा विशेष कारणवश हामी तालिमरत संस्थामा रहेका भारतलगायत अन्य देशका प्रशिक्षार्थीहरूले उपभोग गरीआएका केही सुविधामाथि प्रतिबन्ध लाग्यो। बराल सर सो संस्थाका कमान्डेन्ट डीआइजी एमएल जैनका घनिष्ठ मित्र हुनुहुन्थ्यो। त्यसैले डीएसपी देउजा र मेरो सुविधामा कटौती भएन। हाम्रो बसाइ अवधिभर यथावत् रह्यो।
नेपाल प्रहरीको स्तरोन्नतिमा अतुलनीय योगदान गर्नुभएका र हरेक प्रहरीको अभिभावकीय भूमिकामा रहनुभएकै कारण स्वर्गीय खड्गजित बराल सर आजपर्यन्त ‘नेपाल प्रहरीका पिता’ एवम् ‘नेपाल प्रहरीका युगपुरूष’ का उपाधिबाट सम्मानित हुनुहुन्छ। उहाँको नेतृत्वकाल नेपाल प्रहरीको इतिहासमा ‘सुनौलो युग’को रूपमा युगौँसम्म जीवन्त रहनेछ।
(लेखक रूपाल शमशेर जबर. नेपाल प्रहरीमा वि.सं. २०२४ देखि २०५६ सालसम्म सेवारत अवकाशप्राप्त प्रहरी नायब महानिरीक्षक (डीआईजी) हुन्।
तस्बिर सौजन्यः प्रहरी प्रधान कार्यालय, नक्साल, अवकाशप्राप्त आईजीपी स्वर्गीय खड्गजित बरालको परिवार, अवकाशप्राप्त एसएसपी बाबुराम पुन र अवकाशप्राप्त इन्स्पेक्टर हरिकाजी कोइराला)
Shares
प्रतिक्रिया