तिम्रो ग्रेट म्यानको खबर के छ भन्दै वसन्तले मलाई सोध्दै थियो नि आज! यस्तै सन्देश मेसेन्जरमा ब्लिन्क गर्यो। तर त्यो ग्रेट म्यान भन्या के रैछ बुझ्न सक्या छैन अझै। म्यासेज फेसबुक मित्र समुनाको थियो, उनैले आफ्नो प्रेमीसामु मलाई ग्रेट म्यान हो भनेर चिनाएकी हुन रे। सुरुमा समुनाको नाम नै मलाई एकदम युनिक लागेको थियो, पहिले कहीँकतै नसुनेको नाम थियो। अझै पनि विरलै सुन्छु।
हामी एउटा रेडियो कार्यक्रम मार्फत जोडिएका थियौँ फेसबुकमा सन् २०१२ तिर। उनी सिरहा जिल्लाको जिरोमाइल भन्ने सानो बजार छेउतिरको देहातकी थिएन्। समुनासँग संयोगले चिनजान हुनु पनि दैवले जुराएको जस्तो भयो मेरो लागि।
जिरोमाइल भन्ने ठाउँसँग आकर्षण हुनु तर त्यता नपुग्नु, मनको कुनै कुनामा त्यो सम्झनाको अस्तित्व रहिरहनु र संयोग नै सही उनीसँग परिचित हुनु एक किसिमको सुखद संयोग भयो। पूर्व–पश्चिम राजमार्गको सिरहा खण्डमा पर्ने जिरोमाइलसँग पुरानो सम्झनाहरू ताजा भएर आयो र समुनासँग झन् नजिकिएर बोल्ने बहाना बन्यो।
किशोरवयमा म लगायत केही साथीहरूलाई केही दिन भारत घुम्ने अवसर मिलेको थियो। त्यतिखेर संयोगवश आफूलाई क्रान्तिकारी मजदुर बताउने, भुमिगत रुपमा कम्युनिस्ट विचारलाई विस्तार गर्ने, आवरणमा चाहिँ कुनै कम्पनीमा देखावटी रुपमा काम गर्ने केही युवाहरूसँग भेट र संगत भयो। उनीहरूले त्यस्तै कम्युनिस्ट र समाजवाद पच्छ्याउने विभिन्न किताबहरू पढ्न दिएका थिए र पढ्नु पर्छ भनेर हौस्याउँथे। उनिहरूलाई पढ्नै पर्छ भन्ने लागेको तर आफुसँग नभएका किताब हरू को सिफारिस पनि गरेका थिए भविष्यमा पढ्नु होला भनेर। त्यसैको प्रभावस्वरुप पछि मैले नेपालीमा अनुवाद गरिएका म्याक्सिम गोर्की, लु सुन लगायतका कम्युनिस्ट लेखकका थप्रै पुस्तक पढेको थिएँ, जो विश्व कम्युनिस्ट जगतमा चर्चित थिए।
तिनैले दिएका किताबमध्ये एउटा किताबको नाम ‘जिरोमाइल’ थियो। सिरहाको पूर्वपश्चिम राजमार्गमा पर्ने (मलाई लाग्छ, त्यो उपन्यास लेखिँदा त्यो बजार थिएन, सानो चोकसम्म थियो कि) सानो बजार जिरोमाइललाई केन्द्रमा राखेर इस्मालीले यो उपन्यास लेखेका थिए। एउटा सोझो युवालाई राज्यसत्ताले दुःख दिएर कसरी क्रान्तिकारी या भनौँ विद्रोही बन्न बाध्य बनाउँछ भन्ने सार थियो त्यो उपन्यासको।
समुना त्यही ठाउँको हो भन्ने थाहा पाउँदा पुराना दिनहरू मनमा रिल झैँ घुम्दै आए। तिनै प्रवासमा भेट भएका युवाहरूको याद आयो। केही समयसम्म पत्राचार भए पनि त्यसले निरन्तरता पाउन सकेन। उनीहरूको बसाइ पनि स्थायी थिएन, कताकता सरिरहन्छौँ भन्थे र राज्यको तर्फबाट आफूहरूलाई सधैँ खतरा रहेको बताउँथे। अहिले लाग्छ, ती माओवादीको जनयुद्धलाई सघाउन भारतमा क्रियाशील थिए। खैर, उनीहरू जो जहाँ भए पनि मेरो स्मृतिमा रहिरहन्छन्।
समयले लामो यात्रा तय गर्यो। मैले पनि घरको विभिन्न जिम्मेवारी वहन गर्नु पर्ने भयो र विदेशिन पुगेँ, र समुनासँग भर्चुअल साथी भइयो। यही कारणले समुनासँग म नजिकिन पुगेँ।
तिनताक हाम्रो त्यो दुर्गम गाउँमा राम्रो नेट पनि चल्दैन थियो। र, स्मार्टफोन पनि सबैसँग थिएन। त्यो समयमा विदेशको बिरसिलो समय कटाउन समुनासँगको गफगाफ मेरो लागि राम्रो माध्यम बन्यो। त्यसै पनि विपरीतलिङ्गीप्रति आकर्षण पनि हुने नै भयो।
म अहिले चाहिँ सन् २०१४ पछिको प्रसंग निकाल्दैछु। समुनामार्फत वसन्त मसँग केही महिनादेखि फेसबुकमा साथी थियो र कुरा पनि गर्थ्यो, छिमेकी जिल्ला सप्तरीतिरको थियो ऊ अनि समुना सिरहाको। उनीमार्फत वसन्तसँग पनि भर्चुअल चिनजान भएकोले भेट हुने कुरै भएन, त्यतिखेर। अब त त्यो सम्भावना पनि छैन।
उनीहरू दुईबीचको प्रेमसम्बन्धले मैले पाएको अपजसबारे अहिले चलिरहेको विवाहको चहलपहलमा यति लेखौँलेखौँ लाग्यो। यो एउटा मैले नदेखेको, नभेटेको तर महसुस र कुराकानी गरेको प्रेमी जोडीको कथा हो। समुना र वसन्तबीचको प्रेमको दुःखद अवसानको कथा हो, साक्षीजस्तो त म थिएँ तर गर्न चाहिँ केही नसकेको दुःखद कथा हो।
समुनासँग सामान्य चिनजान हुँदै दुःखसुख अन्तरकुन्तर गफ चलिरहन्थ्यो। एकअर्काबीच खुल्दै जाँदा कलेजको विद्यार्थी रहेको आदि बताउँदै एकदिन वसन्तसँगको आफ्नो प्रेम सम्बन्धबारे पनि बताएकी थिइन्। उनकै आग्रहमा वसन्त पनि मसँग फेसबुकमा साथी हुन आएको थियो र समुनाको प्रशंसा, राम्रा नराम्रा कुरा गरिरहन्थ्यो। दुवैले प्रेमको साक्षी बनाएका थिए मलाई।
समुना र मबीच घनिष्ठ सम्बन्ध हुँदै गयो तर त्यो केवल मित्रता थियो। किनकि उनलाई थाहा थियो, म विवाहित र विदेशमा थिएँ। त्यति मात्र नभए र मेरो आग्रहमा उनको मेरी श्रीमती अञ्जनाजीसँग पनि मित्रता थियो। समुनाले वसन्तसँगको प्रेमबारे यति धेरै खुलेर कुरा गर्थिन् कि म नै छक्क पर्थें। वसन्तले पनि कुरा नगरेको त हैन तर यसमा समुना नै अगाडि थिइन्। समुनाको परिवारको बारेमा सबै थाहा थियो मलाई तर वसन्तको पारिवारिक स्थितिको बारेमा त्यति धेरै थाहा थिएन। सायद मैले पनि सोधिनँ र उसले पनि बताउन आवश्यक ठानेन होला या ख्याल पनि भएन होला।
उनीहरूले आफ्नो प्रेम कसरी सफल बनाउने, भविष्य कसरी बिताउने सबै योजना बनाएका थिए र मसँग सल्लाह सुझावको लागि सेयर गर्थे। विवाहमा टाढा भनेर उपस्थित नहुने छुट मलाई दिएका थिएनन्, जसरी पनि विशेष अतितिका रुपमा उपस्थित हुनुपर्ने उर्दीजस्तो थियो। त्यो जोडीको त्यो किसिमको प्रेम सफलताको कामना मैले पनि गरिरहेँ। यस्तै क्रम करिब २ वर्ष चल्यो। दुवैले विवाहको कुरा तय गर्न लाग्दा समुनाको आमाको मृत्यु भयो। त्यो दुःखद समयमा आफू उपस्थित हुन नसके पनि अञ्जनाजी र मैले सान्त्वना दिइरह्यौँ। आमाको मृत्युले उनीहरूको विवाह गर्ने योजना पछाडि धकेलियो।
अलिक लामो समयपछि पुन समुना र वसन्तको विवाह गर्ने योजना बन्दै गयो। मेरो सल्लाहसुझाव र उपस्थिति पनि चाहेका थिय। सन् २०१६ मा म नेपाल आउनेवाला थिएँ, उनीहरूले पनि त्यही सालको हिँउदको छेको पारेर विवाह गर्ने निधो गरे। यो २०१५ को दसैँतिरको कुरा हुनुपर्छ। विवाहपछि हनिमुनको लागि जाने स्थान समेत तय गरेका थिए उनीहरूले। भारतको गोवा जानेवाला थिए। गोवा लानु वसन्तको विशेष सपना थियो। एउटा सामान्य गाउँको सामान्य परिवारको युवा जोडीको गोवा हनिमुन सपना अद्भूत थियो नि हैन र? प्रेम प्राप्तिको अथाह विश्वास थियो र सम्भवतः तयारी पनि त्यस्तै थियो होला। अन्तर्जातीय भए पनि सम्भवत पारिवारिक संकट खासै थिएन कि भन्ने लाग्छ, अथवा मिलाउँछु भन्ने आत्मविश्वास थियो होला।
प्रेमी जोडीबाट विवाहित जोडी हुन लागेका उनीहरूको मिलनको साक्षी हुन पाउने कुराले अवश्य खुसी थिएँ म पनि। तर कहानी यत्तिकैमा सिद्धिनेवाला रहेनछ। ट्विस्ट आउन बाँकी रहेछ। ट्विस्ट त आयो तर अप्रत्याशित तथा दुःखद। म पनि सन्न भएँ पहिलो पटक त्यो कुरा थाहा पाउँदा।
‘ज्ञानेन्द्रजी! म तपाईंको जिल्लातिरको वैदेशिक रोजगारबाट भर्खरै फर्किएको व्यक्तिसँग माघ ... गते विवाह गर्दैछु।’ अचानक समुनाको यस्तो म्यासेज देखेर एकदमै रनभुल्लमा परेँ। कर्कलोको पात फतक्क गलेको जस्तो महसुस पो भयो मलाई त, अझ ती दुईलाई के भयो होला। के कसो हो बुझ्न खोजेँ, अहँ केही बुझ्न सकिनँ, दोहोरो कुरा नै हुन सकेन। एकदुई पटक थोरै मात्र कुरा भयो वसन्तकोबारे बोल्न चाहिनन्। कोसिस त गरेँ बुझ्न तर उनी खुल्न नचाहेपछि मेरो के लाग्थ्यो र! उनले यति मात्र भनिन्, ‘फरगेट इट!’
‘बरु तपाईंको जिल्लातिर आउने भएकी छु, नजिक पनि होला, कुनै दिन भेट पनि होला, भयो भने दुःखसुखको कुरा गरौँला बस यति मात्र, बस यति अहिलेलाई।’ यही थियो बिहेअघिको उनको अन्तिम म्यासेज, त्यसपछि कुरा हुन सकेन।
वसन्तको हालत के होला, के गर्दै होला भैरह्यो, त्यतिखेर झट्ट कुरा पनि हुने सकेन। मैले म्यासेज गर्दै गरेको थिइँ। एकदिन उसको म्यासेज आयो, ‘दाजु मलाई समुनाले धोका दियो।’ उसले मलाई दाजु भन्थ्यो। सम्हाल्न सकिरहेको छैन तपाईंले केही गरिदिनु पर्यो भन्ने अनुरोध थियो उसको, तर मैले गर्न सक्ने केही थिएन सम्झाउनबाहेक।
आखिर धोका कसले चैँ दियो, बुझ्न सकिएन। तर मलाई पनि जान्न मन लागिरहेको थियो, के कारणले यो सब हुन गयो भनेर। मन भुलाउन गाह्रो भयो दाजु केही समय टाढा एकान्तमा जान चाहन्छु भन्दै थियो। खैर, मैले पनि जे नचाहेको त्यही हुन गैरहेको थियो। समुनाको विवाह भयो, त्यसपछि त सम्पर्क पनि टुट्यो। मैले पनि उनलाई बोलाइरहने कुरा भएन। सम्भवत उनको श्रीमानले हामीबीचको पछिल्लो कुराकानीका केही अंश देखेको हुनुपर्दछ, त्यसपछी मलाई फेसबुकमा ब्लक गरियो अनि त झन् मित्रता नै सकियो भनौँ न।
मैले पनि चासो दिन छोडेँ। केही महिनापछि पुनः फ्रेन्ड रिक्वेस्ट आयो समुनाको आईडीबाट, स्वीकार गर्नुभन्दा पहिले उनको प्रोफाइल हेरेँ, उनीहरूको विवाहको र उनको श्रीमानको एकल फोटोहरू भर्खरै पोस्ट गरिएको थियो। उनीहरूको विवाहको थुप्रै दिनसम्म पनि विवाहको फोटो अपलोड भएको थिएन, अहिले भएको रहेछ। मलाई लाग्छ, सुरुमा नचाहेर नै फोटोहरू हालिएको थिएन। फ्रेन्ड रिक्वेस्ट स्वीकार गरेँ किनकि उनको बारे जान्नु थियो। तर हेल्लो हाइबाहेक अरु केही कुरा भएन। तर पुनः दुई पटक ब्लक गर्ने र अनब्लक गर्ने चल्यो उनको तर्फबाट। अरु भए स्वीकार गरिन्नथ्यो होला, तर उनीप्रति चासो भएकोले एसेप्ट गर्दै रहेँ। म पनि नेपाल आएर सानो व्यवसायतिर लागेँ। जीवन जिउने मेसो त गर्नु नै छ सबैले।
लामो समय भएको थियो वसन्तसँग कुरा नभएको। गाउँमा नेट पनि राम्रो थिएन। उसको लामो म्यासेजले मलाई पर्खिरहेको रहेछ गाली त गरेको थिएन उसले तर मलाई धोखेबाज भनेको थियो। समुनालाई उबाट टाढा मैले बनाएको, मैले आफ्नो चिनजानको, आफ्नै जातको, आफ्नै जिल्लातिरको मान्छेसँग उनको विवाह गराएको र उसलाई नीच बनाएको भन्ने आरोप लगाएको थियो। जुन जोडीको सफल प्रेमको कामना गरेँ, जसको विवाह होस र आफूले पनि उपस्थिति जनाउन पाइयोस् भन्ने सोचेँ उही एकबाट यस्तो अपजस पाउँदा सारै मर्माहत बनायो, नरमाइलो लाग्यो। के कसरी उसले मलाई यस्तो भन्यो भनेर बुझ्न खोज्दा जवाफ दिनुको साटो फेसबुकमै ब्लक गर्यो। उसँग सम्पर्कको अर्को माध्यम थिएन मसँग।
पूर्वपश्चिम राजमार्गको कञ्चनपुरनजिक सप्तकोसी कोल्डस्टोरको बोर्ड राखेको ठूलो बिल्डिङ छेउछाउ घर छ भन्थ्यो। आजभोलि यदाकदा त्यता पुग्दा चियाकफी खाने बहानामा रोकिन्छु र गम खान्छु, वसन्त यतै कतै होला। तर कसैलाई सोधी हाल्न मन चैँ लाग्दैन किन किन। अपराध त मैले गरेको थिइनँ तर पनि अचानक अगाडि पर्दा उसले मेरो कुरै नसुनी दुर्व्यवहार पो गर्ने हो कि भन्ने पनि सोच्छु। खैर एकदिन त सोधखोज गर्नै पर्ला।
गएको वैशाख २५ गते समुनाको विवाह वर्षगाँठ रहेछ र मैले त्यही दिन उनको फोटोसहित विवाहको शुभकामना दिएको रहेछु। फेसबुकले मेमोरी भनेर देखायो अनि यति लेख्ने हुटहुटी जाग्यो। यदाकदा समुनालाई फेसबुकमा देख्छु, यो बीचमा हेल्लोहाइ पनि एकदमै थोरै भएको छ। हाल ६÷७ वर्षको बच्चा पनि छ उनको, सायद छोरी हुनुपर्छ। खासै टाढा पनि छैनौँ हामी एकाध घण्टाको दूरीमा छौँ र उनको अहिलेको बसाइ हाम्रै जिल्लाको पूर्वी भागतिर छ। तर पनि भेटघाट कुराकानी छैन। त्यो दिशातिर कामविशेषले प्रायः हिँडिरहनु पर्छ, कतै अचानक भेट पो हुने हो कि भन्ने पनि लाग्छ। अहिलेसम्म तेस्तो संयोग जुरेको छैन।
समय बित्दै जाँदा पछिपछि त जम्काभेट नै भए पनि उमेर जन्य परिवर्तनले गर्दा चिन्न पनि नसकिएला। गत वर्ष पश्चिमतिरबाट फर्किंदा सिरहाको त्यही जिरोमाइलमा केहीबेर सुस्ताउन र समुनाको गाउँबारे बुझ्न मन लाग्यो। टेबलको कालो कफी हेर्दै उनले भनेको सम्झिएँ। जिरोमाइलबाट आधा घण्टाको दूरीमा छ गाउँ भन्थिन्। होटल साहुनीलाई सोधेको त्यो गाउँ कता पर्छ भनेर, संयोगले उनी त्यही गाँउकी रहिछिन् र समुनालाई चिन्दी पनि रहिछिन्। मैले गाउँ सोधेको तर मान्छे नै चिन्ने व्यक्ति भेटिइन्। साहुनीले सोधीखोजी गर्दै थिइन्, केही पूर्वसम्बन्ध पो थियो कि भन्दै, मैले हाँसेर टारेँ।
मोटरसाइकलमा केवल आधा घण्टाको दूरी भएकाले उनको गाउँ हेर्न मन लाग्यो। बाटो सोधेर त्यतै लागे। सघन मधेसी बस्तीको बीचमा सानो पहाडी बस्ती रहेछ। सरर एक फन्को लगाए गाउँलाई तर समुनाको माइतीघर कुन हो भनेर सोधिनँ कसैलाई। त्यो मेरो लागि अज्ञात अजनवी नै रहोस् भन्ने सोचेँ।
ती दुईको गोवा जाने सपनाले मलाई पनि लखेटिरहेको थियो, एकपटक पुग्न पर्ला भन्ने लागिरहेको थियो। तर त्यो टाढा र महङ्गो ठाउँमा जान राम्रै योजना चाहिन्थ्यो हामी सामान्य आय भएको मान्छेलाई। तर पनि मनको कुनामा कतै त्यो कुरा अडिइरहेको थियो। सकेसम्म हामी दम्पती नै जान पाए हुन्थ्यो भन्ने सोच थियो। आखिर त्यो समय पनि आयो तर मैले सोचे जस्तो हामी दुवै जना जान सकेनौँ। मलाई चाहिँ साथीहरूसँग गत वर्ष गोवा पुग्ने अवसर मिल्यो। केही दिन त्यहाँको समुद्र, सफा, सुन्दर सहर, नरिवलका लहर मिलाएर लगाइएका सुन्दर बोटहरू हेरेर, घुमेर रमाइलो गरियो। धोको पुगुञ्जेल फोटो खिचियो। तर मनले चैँ त्यही समुना र वसन्तको जोडीलाई नै खोजे जस्तो भयो। अहिले पनि लाग्छ त्यो फोटो ती दुईलाई देखाउन पाए कस्तो होला।
ती दुईको मिलन हुन नसकेकोमा÷मिलन गराउन नसकेकोमा सारै थकथकी लागि रहन्छ। वास्तविक कुरा मैले पनि बुझ्न सकिनँ, खै वसन्तले के बुझ्यो मेरो कुरा पनि सुन्न चाहेन। ग्रेट म्यान भन्नेको लागि अन्ततः म उसको लागि भिलेन भएँ। अपजसको भारी मलाई बोकाएर ऊ गयो। यो भारी बोकिरहेको छु अझै पनि के त्यो बिसाउने समय आउला त? खुल्दुली भैरहन्छ तर जवाफ कतैबाट आउँदैन। ती दुईको बिछोडको अप्रत्यक्ष नै सही साक्षी हुनुपर्दा, त्यो जोडीलाई सँगै देख्न सुन्न नपाउँदा अफसोच लागिरहन्छ। बिहेको र प्रेमको प्रसंग आउँदा त्यो असफल जोडीलाई सम्झन्छु।
Shares
प्रतिक्रिया