ओहो! तीन वर्ष भइसकेछ, प्रकृतिसँग रमाउँदै घुमन्तेजसरी बरालिएर नहिँडेको पनि। एक दूधे बालकले आफ्नो आमाको काख खोजेजस्तै म पनि जीवनको थकाइलाई बिट मार्दै, प्रकृतिको काखमा लुटुपुटु निदाउन चाहन्थेँ। यसै क्रममा रक्षा र आशिकासँग योजना बनाएर हामी लाङटाङ-गोसाइँकुण्ड पदमार्गमा हुर्रिने निधो गर्यौँ।
लाङटाङ हिमाल दृश्यावलोकन गर्ने सपनासँगै बिहानको ८ बजे हामीले कलंकीबाट रसुवा जाने गाडी पक्डियौँ। दिउँसोको करिब २:३० बजेतिर गाडीले हामीलाई ट्रेकिङको स्टार्टिङ पोइन्ट स्याफ्रुबेँसीमा पुर्यायो। यो रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिकामा पर्ने रहेछ।
पहिलो दिन हामी स्याफ्रुबेँसी, दोमन, पहिरो हुँदै ब्याम्बु भन्ने ठाँउमा पुग्यौँ। रात परिसकेको हुँदा ब्याम्बुमा नै बस्ने निधो गर्यौँ। गतिलो हिँडाइका साथ अघि बढे पहिलो दिन नै स्याफ्रुबेँसीबाट लामा होटल पुग्न सकिने रहेछ तर हाम्रो हिँडाइले भने लामा होटल भेट्न सकेन।
दोस्रो दिन चिया नास्ता गरेर अन्दाजी ८ बजेतिर हामीले आफ्नो यात्रा सुरु गर्यौँ। उकालो नै उकालोको यात्रा थियो। टी-हाउस, रिम्चे, लामा होटेल, रिभरसाइड, छुनामा, घोडातबेला, थाङ्सेप हुँदै गुम्बा डाँडा भन्ने ठाँउसम्म आइपुग्दा हामी करिब ११ घण्टा हिँडिसकेका रहेछौँ।
दोस्रो दिन लाङटाङ भ्याली नै पुग्ने सोच थियो तर दर्किएको झरी र बाक्लो कुहिरोले गर्दा गुम्बा डाँडामा नै बिट मार्यौँ र होटल प्यानोरोमामा बास बस्ने निर्णय गर्यौँ। तातो आगोको राप र मिठो चाउमिनको स्वादमा हामीले सबै थकाइ भुल्यौँ।
तेस्रो दिन हामीलाई केही हतार थिएन किनभने त्यसदिनको अन्तिम गन्तव्य थियो केन्जिङगोम्पा, जुन सहजै पुग्न सकिन्थ्यो। बिहानको १० बजे होटेलको दिदीलाई धन्यवाद भनेर आफ्नो झोला बोकेर गन्तव्यतिर हाक्कियौँ। करिब २० मिनेट हिँडाइपछि २०७२ सालको भूकम्पले सखाप पारेको लाङटाङ भ्यालीलाई देख्यौँ। ढुङ्गै ढुङ्गा थियो, मुटु चिसो भयो तर खुट्टा भने लम्काइराख्यौँ। सो स्थानबाट करिब १५ मिनेट जत्तिमा नयाँ लाङटाङ भ्याली देखिन थाल्यो। जाने र आउने नेपाली र विदेशी पर्यटकहरूको चहलपहल खुब थियो। बाटोभरि भूकम्पमा ज्यान गुमाएकाहरूको सम्झनामा ढुङ्गाका शालिकमा कुँदिएका नामहरू थिए। हामीले पनि त्यँहा श्रद्धाञ्जली अर्पण गर्यौँ।
बाटो भरि ठूलाठूला चट्टान, भिर, खोला, जङ्गलमा चरिरहेका याक र न्याक, घोडा अवलोकन गर्दै करिब ३ घण्टाको हिँडाइपश्चात् हामी केन्जिङ गोम्पा आइपुग्यौँ। हिमालयन हिल्टन भन्ने होटेलमा बस्ने निर्णय गरियो।
तातो चियाको चुस्की लिँदै हामीले बेल्जियम र अस्ट्रेलियाबाट पाल्नुभएका दुईजना पर्यटकहरूसँग भलाकुसारी गर्न थाल्यौँ। गफ गर्दागर्दै खाना पाकिसकेको जनाउ आयो र खाना खाइसकेपछि सुत्न आफ्नो कोठातर्फ लाग्यौँ।
मन भने खिन्न थियो किनभने मौसम खुलेको थिएन। भोलि बिहान गगनचुम्बी हिमाल र निलो आकाश देख्न पाइयोस् भगवान! भन्दै मोबाइलमा अलार्म सेट गरेर सुत्यौँ।
चौथो दिन, बिहानको करिब ५:३० बजे मिलिटरी टर्च बोकेर हामी बाहिर निस्कियौँ। हिउँले केन्जिङ गोम्पा सेत्ताम्मे देखिन्थ्यो। वरिपरि हिमालहरू ट्लकिएका थिए, हीरा जसरी। मन चङ्गा भइहाल्यो। त्यसपछि जुत्तामा क्र्याम्पन्स लगाएर हिउँमा कुल्चिदै, खुसीले 'सरिङ्गा' भन्दै हामी केन्जिङ १ तिर लाग्यौँ।
पहाड उक्लिरहेका थियौँ, केही कालो आकृति हल्लिएको जस्तो लाग्यो। हामी तर्सियौँ। पछि त चौँरी गाई पो रहेछन् हामीलाई कुइरोभित्रबाट गिज्याइरहेका। हामी पनि चौँरी गाईहरूलाई बाइबाइ गर्दै फिस्स हाँसेर अगाडि बढ्यौँ।
बिस्तारै बादलहरू हामीतिर लम्किरहेका थिए। बदलिएको मौसमले बाधा पुर्याउने हो कि भन्ने लागेको थियो तर सौभाग्यवश लाङटाङ हिमालको हँसिलो मुहार हेर्न पायौँ। अघाउन्जेल हिमाललाई हेरिसकेर हिमशृङ्खलाहरू क्यामेरामा कैद गरी केन्जिङ री १ र २ मा नेपाल आमाको झण्डा फर्फराउँदै हामी फर्कियौँ।
केन्जिङगोम्पाबाट लामा होटलसम्म पुग्ने योजनाले हिँडाइको रफ्तार बढायौँ। किनभने अबको गन्तव्य गोसाइँकुण्डको थियो। बेलुकाको ८:३० बजे लामा होटल पुग्यौँ। लामा होटेलको सहज बसाइपछि पाँचौँ दिन ब्याम्बो, पहिरो हुँदै ठूलोस्याफ्रु भन्ने ठाँउमा करिब ३ बजे पुग्यौँ। होटेल टिबेट हिमालयमा मिठो थकाली खाना खाएपछि साँझ ६:३० बजे होटेल शेर्पा कटेज पुग्यौँ। मकैको ढिँडो, चौरी गाईको दही, लेकाली साग र होटल सञ्चालक बुबा, आमा र भुजुङ दाइसँगको गफले यात्रा अर्गानिक लागिरहेको थियो।
छैटौँ दिन ठूलोखर्क, चोलाङपाटी हुँदै करिब ७ घण्टाको ठाडो हिँडाइपछि लौरीबिना भन्ने ठाँउसम्म पुग्दा मेघ गर्जन र हावाहुरीले मौसम बिग्रिएको सङ्केत दियो। त्यसरात लौरीबिना नै बस्ने योजना बनायौँ।
सातौँ दिन घामको सुनौलो किरणसँगै अन्नपूर्ण हिमशृङ्खला, मनास्लु, गणेश र टिबेट हिमाल हाम्रो आँखाअगाडि हाँसिरहेको देख्यौँ। बिस्तारै हिउँमा लडिबुडी गर्दै बर्फिला पहाड र जमेका कुण्डहरूको अवलोकन गर्दै ९:३० बजे गोसाइँकुण्डमा पुग्यौँ। गोसाइकुण्डको मध्य भाग जमेको थियो तर बरफले गोसाइँकुण्डमा स्नान गर्न भने रोकेन। भगवान महादेवको आराधना गरी परम्परागत पहिरनमा फोटो खिचिसकेपछि सोही दिन धुन्चे पुग्ने उद्देश्यले बाटो ततायौँ। बेलुकाको ८:३० बजे धुन्चे पुगिसकेपछि मेरो प्रिय मित्र आकृतिको घरमा यात्राको थकाइ बिसायौँ र भोलिपल्ट काठमाडौँको यात्रा तय गर्यौँ।
यात्रा खुसी दिने खास कुरा
केही समय र खर्च जोगाउन सकियो भने नेपालमै पनि राम्रै घुमाइ हुन सक्दो रहेछ। प्रकृतिले पस्किएका अनुपम सुन्दरतालाई नियाल्दै कुनै दिन कुहिरो, कुनै दिन झरी, कुनै दिन हिउँ, घाम, बाँदल पार गरी प्रकृतिको अनुपम सुन्दरताको पाटो नियाल्ने मौका लाङटाङ-गोसाइँकुण्ड पदयात्राले दिन्छ।
नेपालीहरूको लागि यो यात्रा एकदमै इकोनोमिकल छ। जम्मा ११ देखि १५ हजारको खर्चले लाङटाङ-गोसाइँकुण्डको यात्रा तय गर्न सकिन्छ। ५ दिनको लाङटाङ यात्रामा २ दिन थप गरेमा एकैपटक लाङटाङ-गोसाइँकुण्ड ट्रेकिङ गर्न सक्नु यस ट्रेलको विशेषता हो।
आत्मीय होटल व्यवसायी र उनीहरूको पर्यटकप्रतिको व्यवहारले यात्रालाई अझै सहज बनाइदिन्छ। विकट भूगोल र सीमित पूर्वाधार भइकन लाङटाङले पर्यटकलाई पर्याप्त सुविधा दिन खोजेको कार्य सराहनीय छ।
यात्राको क्रममा बाह्य र नेपाली पर्यटक आउनेजाने क्रम सरोबरी भेटियो। 'नेपालीहरू पनि ट्रेकिङ गर्छन् र?' भन्ने स्टिरियोटाइप परिवर्तन हुँदै आएको देखियो। यात्राभरि विभिन्न देश, भाषा, संस्कृति र रहनसहन भएका पर्यटकहरूसँग जम्काभेट हुने हुँदा आफ्नो देशको मौलिकतालाई अन्तर्राष्ट्रिय डायसपोरामाझ चिनाउने ठूलो अवसर यस पदयात्राले दिन्छ।
यात्राको सुरुदेखि अन्त्यसम्म कहिले दायाँ त कहिले बायाँ गर्दै तपाईँको सहयात्री बनेर लाङटाङ खोलाले यात्रा थप रोमाञ्चक बनाइदिन्छ। चराहरूको भाकामा सुसेली मिसाउँदै खोलासँग दोहोरी गाउँदै उकाली र ओराली हिँड्दै मनमोहक दृश्यले समय गएको पत्तै हुँदैन।
लाङटाङ पदमार्ग लाङटाङ राष्ट्रिय निकुञ्ज हुँदै अगाडि बढ्ने हुँदा जैविक विविधता संरक्षण तथा वन्यजन्तु सम्बन्धी अपराधलाई न्यूनीकरण गर्ने उद्देश्यसहित नेपाली सेनाको अनुगमन टोलीको उपस्थिति यात्राको क्रममा नियमित देखिन्छ। नेपाल सरकार आफ्नो वातावरणीय दायित्वलाई लिएर कटिबद्ध रहेको महसुस हुन्छ, यो एउटा सकरात्मक पक्ष हो। नेपाली सेनाको उपस्थितिले यात्रा थप सुरक्षित लाग्छ।
होटलप्रति भ्रम र यथार्थ
फेसबुक मार्फत व्यापक रुपमा आएको सुझाव थियो, 'जेसुकै होस्, लामा होटल नबस्नू। नेपालीहरूलाई होटेल नै दिँदैनन्, हेप्छन्।'
यथार्थ फरक थियो। चिसो मौसमका बेला होटेल सञ्चालक दिदीले हामीलाई आफ्नो तातो कोठा उपलब्ध गराएर आफू भने २ वर्षको बालकलाई च्यापेर टेन्टमा सुत्न पस्नुभएको यथार्थले हामीलाई मार्मिक मात्र बनाएन, अपवादलाई सत्य मान्नु हुँदैन भनेर पाठ समेत सिकाएको छ।
सकेसम्म नेपाली पर्यटकलाई राम्रो सेवा सत्कार गर्ने प्रयास सबैले गरेको कुरा दिदीले अवगत गराउनुभयो। ट्रेकिङ भनेको आफैँमा कम्फर्ट जोनभन्दा बाहिरको कार्य भएको हुँदा हामीले ठाउँ र परिस्थितिअनुसार लचकता अपनाउनुपर्छ। तर होटेल व्यवसायीहरू समेतले सरसफाइ, आत्मीयता र स्वागत सत्कारमा सम्झौता गर्नुहुँदैन। यसो गर्न सके पर्यटन व्यवसाय दिगो हुने र स्थानीयको आर्थिक विकासमा टेवा पुर्याउने देखिन्छ।
अँध्यारो लाङटाङ
लाङटाङ ट्रेकको सुरुवातदेखि अन्त्यसम्म नछुटिने भनेको लाङटाङ नदीको साथ हो। लाङटाङ नदीकै छेउछाउमा दोमनदेखि थाङ्सेपसम्मका ट्रेकिङ पोइन्टसहरूमा होटेलहरू भए पनि बिजुलीको पहुँच छैन। लाङटाङ खोला हाइड्रोपावर प्रोजेक्टको कछुवा गतिले गर्दा होटेल व्यवसाय अन्धकारसँग जुधिरहेको छ। लाङटाङ भ्याली र केन्जिङ गोम्पा भने लाङटाङ लिरुङ्ग ग्लेसियर हाइड्रोपावरको विकासले गर्दा झलमल्ल छन्। सोलारको भरमा पर्यटन व्यवसायलाई धान्नुपर्ने हुँदा लाङटाङ भ्याली र केन्जिङ गोम्पाभन्दा तलका ट्रेकिङ स्टप्सहरूमा सेवासुविधा महङ्गो भएको महसूस हुन्छ।
भूकम्प र कोरोनापछि खुम्चिएको पर्यटनमा केही सुधार आए तापनि कमजोर पूर्वाधार विकास र गुणस्तरीय सेवा सुविधाको अभावमा पर्यटक प्रवर्द्धनले विदेशी डलर नेपाल भित्र्याउने सरकारको योजना विफल हुने देखिन्छ। लाङटाङ क्षेत्रमा मनग्य खर्च गर्ने पर्यटक भित्र्याउन समेत लोकल तर विश्वस्तरको सर्भिस दिन सक्ने क्षमता विकास गर्नुपर्ने देखिन्छ।
निकुञ्ज र पर्यटन
लाङटाङ पदयात्राको अधिकांश ट्रेकिङ स्टप्स लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्दछन्। वन, जङ्गल तथा वन्यजन्तुको संरक्षण गर्ने नेपाल सरकारको महत्त्वपूर्ण नीति रहेको हुँदा यस क्षेत्रमा होटेल सञ्चालन गर्ने व्यक्तिहरूले राष्ट्रय निकुञ्जद्वारा निर्देशित नियमहरू पालना गर्नुपर्ने नै हुन्छ।
निकुञ्जको अनुमतिबिना यहाँ रुख काट्न पाइँदैन, न त होटेलहरूको कोठा तथा भवनहरूको सङ्ख्या थप्न नै। काठ समेत राष्ट्रिय निकुञ्जसँग किनेर स्थानीयहरूले प्रयोग गर्नुपर्ने बाध्यता यस क्षेत्रमा देखिन्छ। साथै राष्ट्रिय निकुञ्ज र होटेल सञ्चालकबीच छोटो समयावधिलाई होटेल सञ्चालन गर्न मिल्ने लिज अग्रिमेन्ट हुने र रिन्यू हुने नहुने सम्भावनाको अनिश्चितताले गर्दा होटेल व्यवसायीहरू थप निरुत्साहित भएको देखिन्छ।
जैविक विविधता तथा वन्यजन्तु संरक्षण जस्तो संवेदनशील विषय सरकारको प्राथमिकता भए पनि समुदायलाई परिचालन नगरीकन सरकारले आफ्नो दिगो संरक्षणको लक्ष्य प्राप्ति गर्न सक्दैन।
राष्ट्रिय निकुञ्जको निगरानीमा वनमा कुहिएका वा सड्न लागेका, भाँचिएर भुइँमा खसेका रुखहरू, हाँगाबिँगा, पात पतिङ्गर यदि स्थानीयलाई प्रयोग गर्न दिने वा सहुलियत दरमा बिक्री गर्ने हो भने पर्यटकलाई सेवाबापतको खर्च केही कम हुने तथा जङ्गलको युटिलिटीसमेत बढ्ने निश्चित छ। साथै पर्यटकीय चाप र पूर्वाधार विकासको आवश्यकतालाई पुनरवलोकन गरी राष्ट्रिय निकुञ्जले होटल सञ्चालन सम्बन्धी नीतिमा केही लचकता ल्याउनै पर्ने देखिन्छ।
शिक्षित गवार नेपाली
लाङटाङ ट्रेलमा नेपाली युवाहरूको बाक्लो उपस्थिति देखिन्छ। तर हाइफाइ, शिक्षित देखिने नेपाली युवाहरूले नै लाज पचाएर जहाँ मन लाग्यो त्यहीँ फोहोर फाल्ने कार्यले हाम्रो चेतनाको स्तर निकै कम छ भन्ने बुझाउँछ। राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको सहकार्यमा ठाँउठाउँमा ढुङ्गाले छापेर स्क्वायर बिनहरू तयार गरिएका भए तापनि फोहोरहरू डस्टबिनभन्दा बाहिर फालिएको पदमार्गमा देखिन्छ।
हुन त ट्रेकिङ गर्दा थाक्नु स्वाभाविक हो। तर एक पाइला चालेर व्यवस्थित गरिएका डस्टबिनमा फोहोर नफाली जथाभावी फाल्ने प्रवृत्तिले, नेपालीहरू साँच्चै नै शिक्षित गवार हुन् भन्ने सन्देश विदेशीहरूले सुभिनियरको रुपमा आफ्नो देशमा लग्दा हामी पक्कै पनि गौरवान्वित हुन्छौँ होला।
स्वास्थ्य सेवाको अभाव
पदमार्गमा स्वास्थ्य सम्बन्धी पूर्वाधारको आवश्यकताबारे न त सरकार न त हामी नै सजग रहेको महसुस भयो। लाङटाङ भ्यालीमा बाहेक कुनै पनि ठाउँमा स्वास्थ्य शिविर अथवा आकस्मिक सेवा प्रदान निमित्त कुनै स्वयंसेवकको उपस्थिति देखिँदैन। कुनै गम्भीर समस्या आइहाल्यो भने पनि विदुर वा काठमाडौँ नै लग्नुपर्ने बाध्यता र यसले पर्यटन स्थायित्वमा पार्ने असरबारे स्थानीय, प्रदेश तथा संघीय सरकार गम्भीर रहेको देखिँदैन।
युवाको खडेरी
दिनप्रतिदिन युवाहरू विदेश पलायन हुँदै गर्दा ठूलो सम्भावना बोकेका पदमार्गहरू सुनसान हुँदै गइरहेका छन्। लाङटाङ-गोसाइँकुण्ड पदमार्गमा अधिकांश होटेल व्यवसायीहरू तथा स्थानीयका छोराछोरी कोही अमेरिका त कोही अस्ट्रेलिया गइसकेका छन् भने वृद्ध अवस्थाका बुबाआमाले नै होटेल व्यवसाय धान्दै आइरहनु भएको कुरा थाहा भयो। नेपालभित्र नै रहेका युवाहरू भने पिक ट्रेकिङ सिजनको बेलामा मात्र आफ्नो बुबाआमालाई सघाउने हेतुले गाउँ छिर्ने रहेछन्।
ट्रेकिङ र हस्पिटालिटीमा राम्रो करिअर प्रोस्पेक्ट भावी पुस्ताले महसुस गरेमा मात्र पदमार्गहरूको चहलपहल कायम रहने देखिन्छ। स्थानीय सरकारको अग्रसरतामा पदमार्गका जनशक्तिलाई लक्षित गरेर विभिन्न ट्रेनिङ कार्यक्रम, ट्रेकिङबारे अध्ययन, गाइड तथा पोर्टरलाई क्षमतावृद्धि तालिम, होटेल व्यवसायीहरूलाई लक्षित बेसिक हस्पिट्यालिटी कोर्सहरू तथा स्थानीय जनजीवनको ब्रान्डिङ गर्दै परम्परागत आतिथ्य पस्किने अवसर सिर्जना गर्न सके मात्र युवा पुस्ताको खडेरीको चुनौतीलाई अवसरमा परिणत गर्न सकिन्छ।
गैरस्थानीय लगानीकर्तालाई स्वागत जरुरी
जब अर्थतन्त्रको विषय जोडिन्छ तब एउटा आवाज सधैँ उठ्ने गरेको छ, 'लोकल पिपुल फर्स्ट'। तर रित्तिँदै गरेको गाउँ र विदेशिने ट्रेण्डले गर्दा स्थानीयले मात्र पदमार्गमा होटल व्यवसाय धान्न नसक्ने देखिन्छ। व्यापार-व्यवसाय हस्तान्तरणको लागि भावी पुस्ता नहुनु एक मुख्य चुनौती हो। त्यसकारणले गर्दा पदमार्गहरूमा गैरस्थानीय तथा इच्छुक लगानीकर्ताहरूको अवस्थालाई अध्ययन गरेर समेत स्थानीय सरकारले नयाँ विकासको नीति तयार गर्नुपर्ने देखिन्छ। यसो गर्न नसके हस्तातन्तरण हुनु पर्ने होटेल, व्यवसाय तथा व्यापार घट्दै जान सक्छ।
गर्न सकिन्छ सिस्नुको ब्रान्डिङ
हामीले ट्रेकिङ्ग सुरु गरेदेखि लगभग आधा बाटोसम्म सिस्नु झ्याम्म फलेको देख्यौँ। तर त्यसलाई पदमार्गहरूमा ब्रान्डिङ गरेर बेच्न नसक्नु स्थानीय सरकार र होटेल व्यवसायीहरूको कमजोरी देखिन्छ। लाङटाङ क्षेत्रमा नै सिस्नुलाई लेबलिङ तथा प्याकेजिङ गर्दै अन्तर्राष्ट्रिय तथा आन्तरिक पर्यटकहरूलाई बिक्री वितरण गर्न सकिने ठूलो अवसर देखिन्छ। साथै सिस्नुको सुपलाई मेन्यूमा स्पेसल डिसको रुपमा राख्नु पर्ने देखिन्छ। नेपाली तथा विदेशी पर्यटकहरूलाई तर्ल्याङ्ग गार्लिक सुपको विकल्पको रुपमा तागतिलो र फाइदाजनक सिस्नोको सुपलाई पस्किनको लागि नयाँ रणनीति तथा अलिकति जाँगरसहितको पहल जरूरी देखिन्छ।
परम्परागत पहिरनको रेन्टल बिजनेस
परम्परागत पहिरनहरू जस्तै बख्खु, नेपाली गुन्युचोली आदिको 'रेन्टल बिजनेस' होटल व्यवसायीहरूले सुरु गरेमा पर्यटनमा थप टेवा मिल्ने देखिन्छ। यसले पदयात्रा थप रोचक बनाउँछ।
अन्ततः प्रकृतिसँगै रमाउँदै जीवनका सबै दुःखलाई भुलेर हिमालको सौन्दर्य, खोलाको शीतलता, जङ्गलको मित्रता र आगोको न्यानोपनलाई स्वागत र विदाई गर्दै हामी फर्कियौँ। स्थानीयहरूको आत्मीयता र पर्यटकहरूको हँसिलो अनुहारले हिँडाइलाई थप सहज बनाइदिन्छ र साँचिराख्नको लागि अनगिन्ती पलहरू समेटिदिन्छ। जुन दृश्य, जुन सुन्दरताले हामीलाई आनन्दित तुल्याएको छ, मनमोहक बनाएको छ त्यो दृश्य, त्यो सुन्दरता भोलिका पुस्तालाई यथावत हस्तान्तरण गर्न सक्नु नै हाम्रो पुस्ताको ठूलो उपलब्धि हुने छ।
त्यसैले रमाइलो सँगसँगै एक सचेत नागरिकको भूमिका निर्वाह गर्दै पदयात्रालाई अझै व्यवस्थित तथा विकसित गर्नुपर्ने दायित्व भने भुल्नु हुँदैन। अन्तिममा नेपाल ‘वान्स इज नट इनफ’ भनेर गाउँदेखि सहर, सहरदेखि विदेशमा गुन्जायमान बनाऔँ र नेपालको पर्यटकीय सम्भावनालाई उचाएमा लिएर जाऔँ।
(श्रुति खरेल सर्वोच्च अदालतको लेक्सिस नेक्सिस डिपार्टमेन्टमा शाखा अधिकृत हुन् भने रक्षा घिमिरे न्यास्नल ल कलेजमा बीए एलएलबी आठौँ सेमेस्टरमा अध्ययनरत छिन्)
Shares
प्रतिक्रिया