ad ad

ब्लग


अमेरिकी सपनाले थाकेकी वर्षा

अमेरिकी सपनाले थाकेकी वर्षा

मीना खड्का
बैशाख ६, २०८१ बिहिबार १४:३५, टेक्सस

मान्छे विभिन्न कारणले कमजोर हुन्छ। परिस्थितिले कहिले उचाइमा पुर्‍याउँछ, त कहिले भुइँमा पछार्छ। विद्यार्थी भिसामा झण्डै एक वर्षअघि अमेरिका आएकी बर्दियाकी १९ वर्षीया वर्षालाई अहिले त्यस्तै भएको छ। 

एक वर्ष पुग्दासम्म पनि तिर्न नसकेको ऋण, महिनैपिच्छे बढिरहेको ब्याज। सोचेको जस्तो काम पाउन नसक्नुको पीडा। सहयोगको नाममा नेपालीहरूले लगाउने कुदृष्टिले अस्तव्यस्त जीवनमा झन् हैरानी थपिएको उनी बताउँछिन्। 

‘अनेक प्रक्रिया सकेर अमेरिकी दूतावासमा अन्तर्वार्ता दिन जाँदा लागेको थियो, अब अप्ठेरा दिन सकिए। सबै सोचेकै जस्तो हुनेछ। भनेजस्तो काम सजिलोसँग पाइनेछ। सबै मान्छे सहयोगी र सफा मन भएका होलान्। तर सबै उल्टो भयो,’ उनी भन्छिन्।
 

२५ देखि ३० लाखसम्म ऋण थियो। तर केहीले मनदेखि खुलेर सहयोग गरे। केही आफन्तले पैसा हुँदा पनि ऋण दिएनन्। 

एकदिन फेसबुक स्क्रोल गर्दै थिएँ। फेसबुक स्टोरीमा लेखिएको थियो, ‘कसैले संसारमा सबैभन्दा घातक चिज के हो भनेर सोधे मैले विनाकुनै संकोच जवाफमा भन्ने थिएँ– साथी।’

यो लेख्ने कोही अन्जान व्यक्ति थिएन। उनै वर्षा थिइन्। उनको मनमा के बितिरहेको छ, त्यो त थाहा थिएन। तर साथीलाई गरेको विश्वास र धोका पाएपछिको दुःख सहजै आकलन गर्न सकिन्थ्यो। 

केमस्ट्री क्लासमा सँगै पढ्ने नेपाली साथीसँग भेट भयो। थ्याङ्क्सगिभिङमा सबैजना घर गए तर उनीहरू सँगै मिलेर बसे। नेपाली परिकारहरू पकाएर खाए। काम नपाएपछि फुर्सदमा बसिरहेकी ती साथीलाई उनी आफैँले काम गरिरहेको ठाउँमा काम लगाइदिइन्।  

केही दिनसम्म त काम राम्रो थियो। तर एकदिन ओनरले उनलाई बोलायो। क्यामेरामा कैद गरिएको एउटा भिडिओ फुटेज देखाउँदै उनलाई भन्यो, ‘इधर देख्, तेरी दोस्त क्या करती है!’

वर्षा झस्किइन्। त्यसपछि थाहा भयो। उनकी साथी धुम्रपान्, मद्यपान साथै लागुऔषध समेत सेवन गर्ने रहिछन्। काम गरिरहेको स्टोरमा चुरोट चोरिरहेको फुटेज थियो त्यो। जुन देखेर उनलाई अचम्म लाग्यो। 

सुरुमा उनी आएको युनिभर्सिटीमा १० हजार डलर लाग्थ्यो १ सेमेस्टर सक्न। जुन उनलाई महँगो लाग्यो। खान बस्न पनि उस्तै महँगो थियो। घरबाट पैसा पठाउन सक्ने अवस्था थिएन। उनले यहीँ कमाउने वातावरण बनेको थिएन। 

युनिभर्सिटीको महँगो शुल्कको कारण पैसा घर पठाउन र ऋण तिर्न सम्भव नहुने भएपछि कलेज चेन्ज गर्ने सोचिन्। एकातिर पढाइको पीर अर्कोतिर घरको ऋण, उनलाई अमेरिका व्यर्थ लागिरहेको थियो। अब कलेज ट्रान्सफर बाहेक विकल्प थिएन।  

कलेज ट्रान्सफरको प्रक्रिया चलिरहेको थियो। साथीबाहेक अमेरिकामा चिनेका खासै कोही थिएनन्। सँगसँगै उनीहरू टेक्सस आए। 

यहाँ आएपछि साथी सुध्रेली, सबै राम्रो होला भन्ने लागेको थियो। तर समस्या झन् विकराल बन्यो। साथी र उनी बस्ने एउटै कोठा भएको कारण झन् धेरै अनौठा कुरा देख्न थालिन्।
 
दिनप्रतिदिन नयाँ मान्छे कोठामा आउँथे। 

साथीहरूले जस्तै गलत काम गर्न सक्दैन थिइन्। जसको कारणले साथीबाट अपनत्व, साथ, माया र सहयोगको साटो अपमान र घृणा पाइन्। परदेशमा न आफन्त न त असल साथी। निकै अप्ठ्यारोबाट गुज्रिरहेकी उनी टेक्सस आएको एक महिनापश्चात् काम नपाएपछि हाम्रो सम्पर्कमा आइन्। हामीले उनको कामको लागि एक चिनजानका नेपालीलाई आग्रह गर्‍यौँ। उनले अर्को भारतीय व्यक्तिको स्टोरमा काम खोजिदिए। 

एक हप्तासम्म राम्रो काम गरिन्। तर एकदिन उनले काम गरिरहेकै स्टोरको ओनरले होटेलमा बस्ने प्रस्ताव गर्‍यो। उसको इच्छा पूरा गरिदिए राम्रो काम दिने बताउँदै वर्षामाथि गलत सोच राखेको उनी बताउँछिन्।

कोठामा त बस्न लायक वातावरण थिएन नै। काम गर्ने ठाउँमा समेत वातावरण अनुकूल भएन। त्यसपछि उनको आमाले आग्रह गरिन्। र, अहिले वर्षा हामीसँगै बसिरहेकी छिन्। 

वर्षाको बुवा नेपाल प्रहरी हुन्। बेलाबेला भन्छन्– विदेश जान्छु र ऋण तिर्छु। तर यो सुन्दा वर्षालाई देखेर पीडा हुन्छ र मन भक्कानिन्छ। 

अहिले उनी गाडीमा १ घण्टाको बाटो पार गरेर कलेज पुग्छिन्। उवर गरिरहेका एक नेपालीले केही समयसम्म कलेज छोड्न नसके पनि कलेजबाट फर्कंदा घर पुर्‍याइदिएर सहयोग गर्छु भने तर त्यसको केही दिनमै प्रेम प्रस्ताव राखे। 

यसरी विदेशमा भेटिने कुरुप मानसिकता भएकाहरू देखेपछि उनी हतोत्साहित छिन्। 

दुखेको बेला चिच्याऊ। अन्याय सहनुहुन्न, चुप बस्नुहुन्न, प्रश्न गर्नुपर्छ भनेर सम्झाउनु, सिकाउनु सायद मेरो गल्ती होइन होला। 

सामान्य जिस्क्याइ मात्रै यौनजन्य दुर्व्यवहार होइन भन्ने भ्रम लाग्छ कतिपयलाई। तर त्यस्तो होइन। तपाईंलाई सामान्य लाग्ने कुराले कसैको हृदय क्षतविक्षत भइसकेको हुनसक्छ। 

यौनजन्य दुर्व्यवहार यौनजन्य मनसायले महिलामाथि गरिने अनिच्छित आचरण हो। त्यसैले यो महिला हिंसा हो। यसले महिलाको सुरक्षित र स्वस्थ वातावरणमा बस्न पाउने अधिकारको उल्लंघन गर्दछ।

शरीर छोप्ने लुगा लगाउँदा पनि महिलाहरू यौनजन्य दुर्व्यवहारका सिकार भएका छन्। त्यसैले यौनजन्य दुर्व्यवहारको लागि त्यस्तो कार्य गर्ने व्यक्ति नै जिम्मेवार हुन्छ। यौनजन्य दुर्व्यवहारको लागि महिलाको हाउभाउ र पहिरन कदापि जिम्मेवार हुनै सक्दैन।
 
चुप लाग्नाले यौनजन्य दुर्व्यवहार कम हुने होइन। झनै यसलाई बढावा दिन्छ। पीडितले कुनै वास्ता नगर्दै यौनजन्य दुर्व्यवहार कम हुँदैन।

तर वर्षालाई डर छ। यसरी उनीहरूको विरुद्ध उजुरी गर्दा कानुनी प्रक्रिया लामो होला। पढाइ बिग्रेला। भविष्य अस्तव्यस्त होला। त्यसैले उनी चुपचाप हिंसा सहेर बसेकी छन्। 

यौनहिंसाका पीडितको पक्षमा बोल्नु मेरो मात्रै होइन, हरकोहीको धर्म हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .