ब्लग


विवेकशील-साझा पुन: एकता सम्भव छ? यी हुन् ४ चुनौती

विवेकशील-साझा पुन: एकता सम्भव छ? यी हुन् ४ चुनौती

प्रतिभा डंगोल
बैशाख १६, २०७७ मंगलबार १३:३१,

नेपाली राजनीतिमा फेरि फुट र जुटको शृंखला सुरु भएको छ। बिस्तारै राजनीतिक ध्रुवीकरण बढ्दै गएको छ। यस्तो अवस्थामा वैकल्पिक धार मानिएका विवेकशील र साझा पार्टीका विषयमा चर्चा गर्नु पक्कै असान्दर्भिक हुने छैन। यहाँ विवेकशील नेपाली दलको सदस्य भएका नाताले केही विचार राख्नुअगाडि के भन्छु भने यो नितान्त मेरो व्यक्तिगत विचार हो। साथै सुरुमै प्रस्ट पारौं- पंक्तिकार कसैको उक्साहटमा लाग्ने व्यक्ति पनि होइन।

जनताले पुराना दलको विकल्पका रूपमा आशा गरेका दल राम्ररी जुट्न नपाउँदै जसरी फुटे, त्यो पक्कै दुर्भाग्यपूर्ण थियो। तर वास्तविकता के हो भने यी दल नफुट्दा त्यहाँभित्र जुन प्रकारको आन्तरिक द्वन्द्व मौलाउँदै थियो, त्यसले देश र जनताको हित हुनेवाला थिएन। सूर्यराज आचार्यजीलगायत साझातर्फका ‘वरिष्ठ’ सदस्यलाई विवेकशीलमा कुनै ‘सार छैन’ भन्ने लाग्नु नै द्वन्द्वको प्रमुख कारक थियो। विवेकशीलको ६ वर्ष लामो राजनीतिक यात्रा र अनुभवलाई अस्वीकार गर्नु नै झगडाको बीउ थियो।

कतिले यसलाई विवेकशील तर्फकाहरूको लघुताभाष र पदीय मोहसँग जोडेर पनि हेरे, तर वास्तवमा त्यो कुरा विवेकशीलको सिद्धान्त राख्ने कि मास्ने भन्ने गम्भीर विषयसँग सम्बन्धित थियो। उहाँहरू विज्ञ र सामाजिक प्रतिष्ठावाला व्यक्तिको नेतृत्वमा विश्वास गर्नुहुन्छ भने हामी समाज परिवर्तनका प्रमुख पात्र भनेका सामान्य मानिस नै हुन् भन्ने मान्यतामा अडिग छौं।

त्यसैगरी सवाल, राजनीतिमा रणनीति र कुटिलताबीचको मसिनो रेखाको पनि थियो। राजनीति अवश्य पनि बुद्धिचाल (चेस) खेलसँग समानता राख्छ, तर खेलको नियम हुन्छ, जसलाई राजनीतिक इमान भन्न सकिन्छ, त्यसविपरीत अर्को पक्षको घोडा (चेसको गोटी) चोरेर जित्ने कुटिलता विवेकशील समूहलाई कदापि स्वीकार्य छैन। विवेकशील सफा खेल खेल्न चाहन्छ, लक्ष्यमा पुग्ने हतारोमा इमानसँग सम्झौता गर्दैन।

यिनै सेरोफेरोमा तत्कालीन समयमा घटनाक्रम अघि बढे र विवेकशीलले आफ्नो इमान र उद्देश्य बचाइराख्ने अन्तिम उपाय फुट्नुबाहेक अर्काे देखेन। एकतर्फी ढंगले केन्द्रीय सदस्य थप्ने, विभाग खारेज गर्ने र बिनाछलफल युवा संघ खोल्ने निर्णय गरिसक्दा पनि विवेकशीलको सारै छैन भन्ने उहाँहरूलाई विवेकशीलका साथीले किन साथ छाडे भनेर बुझ्न गाह्रो हुनु अस्वाभाविक होइन।

उसो भए अब यी दुई दल फेरि जुट्ने सम्भावनै छैन त? राजनीतिमा असम्भव भन्ने केही हुँदैन। तर यसका लागि मैले देखेका जटिलता निम्नानुसार छन्:
१. अहिले टुटपछि परिस्थिति बदलिएको र दल पुनर्निर्माणको अवस्थामा विवेकशीलले आफ्नो आत्मा वा अजेन्डालाई अझै लिपिबद्ध गरेर सार्वजनिक गरिसकेको छैन। त्यो कुन कुरा हो, जसले अहिलेको समयमा हामी विवेकशीलका साथीलाई जोडिरहेको छ? हामी हाम्रा स्पष्ट लक्ष्य र कार्यदिशा कोर्ने क्रममै छौं। यसमा स्पष्टता नआएसम्म साझा वा अन्य दलसँग जोडिनुको आधार तयार हुँदैन र समान अस्तित्वको सम्भावना रहन्न। यसो नहुँदा फेरि द्वन्द्व पुनरावृत्ति हुन्छ। र, जुट्नुको औचित्य रहन्न।

२. अभिजात एवं उच्च वर्गका व्यक्तिलाई नेता चयन गर्ने जुन शैली साझाको छ, त्यो नै विवेकशीलको मूल मर्मविपरीत छ। विवेकशीलसँग जुट्न साझाले आफ्नो यस्तो संठनात्मक संरचना निर्माण प्रक्रिया पूरै बदल्न सक्छ? आफ्नो निरंकुश प्रणालीबाट माथि उठेर लोकतान्त्रिक पद्धति अँगाल्ने साहस राख्छ? सामान्य मानिसको परिवर्तनकारी र नेतृत्वदायी भूमिकालाई स्वीकार गर्न सक्छ? सक्दैन र अभिजात वर्गकै दल रहने हो भने जुट्नको औचित्य छैन। विवेकशील– साझामा गएर बिलाउनु मात्रै हो। त्यो विवेकशील साझा हुँदैन, साझा मात्रै हुनेछ। यस्तो हुन कुनै विवेकशील सदस्यले दिने छैनन्।

३. केही समयअघि धर्म निरपेक्षताप्रति साझाले उठाएको प्रश्न, विवेकशीलले लिएको अडानविपरीत छ र यसले साझाको ढुलमुले प्रवृत्ति पनि प्रस्ट पार्छ। आफ्नो सिद्धान्तमा अडिग नहुने समूहलाई विश्वास गर्न गाह्रो हुन्छ। विश्वासबिना कसरी एकता सम्भव हुन्छ?

४. विवेकशील समूह- सम्झौता होइन, जतिसुकै जटिल अवस्था किन नहोस्, सत्यको मार्ग अंगीकार गर्न चाहन्छ। मेरो विचारमा यी दुई दल एकै ठाउँमा ल्याउन सबैभन्दा ठूलो चुनौती यहींनेर छ। मुलुकलाई आमूल रूपमै परिवर्तन गर्ने दल बन्ने कि पुरानै परम्परा अनुसरण गर्दै जतिसक्दो छिटो सत्तामा पुग्ने पार्टी बन्ने? राजनीतिक परिपक्वताको वास्तविक अर्थ के हो? एक विवेकशील सदस्य भएको हैसियतले म के विश्वास व्यक्त गर्छु भने यी दुई दल तात्त्विक रूपले नै एक हुने र सामान्य मानिसको समाज परिवर्तन गर्ने असामान्य क्षमतालाई सशक्तीकरण गर्न सक्ने हो भने परिवर्तन हाम्रै जीवनकालमा सम्भव छ। यो विश्वास साझाले पनि गर्न सक्छ?

अन्त्यमा, लक्ष्य एउटै हो भने यात्रा सहज बनाउन एक हुनु राम्रो! तर तेल र पानीजसरी होइन, जुसमा चिनीजसरी मिसिन जरुरी छ। यसका लागि घनीभूत छलफल र बहस आवश्यक छ। अनि दुवै पक्षले एकअर्काको भावना बुझ्न र आत्मसात् गर्न जरुरी छ। वास्तवमा जुट्ने भनेकै सारमै हो। सारमा कुरा मिल्यो भने तपसिलका कुरा बिस्तारै मिलाउन सकिन्छ।

समयले जुरायो र हाम्रो सार मेल खाए भने जुटौंला नभए जहाँ मेल खान्छन् त्यहाँनेर समयको मागअनुसार सहकार्य गरौंला। तर कुनै पनि हालतमा हतारोमा निर्णय गर्न उचित हुँदैन। हतारमा एकता गरिहाल्ने वा कहिले गर्दिनँ भन्ने निर्णय गर्नु दुवै राजनीतिक अपरिपक्वता हुनेछन्। वर्तमान समयले हामीसँग दृढ संकल्प र दूरदर्शितासहितको राजनीतिक परिपक्वता माग गरिरहेको छ।

विवेकशील दल एउटा तपस्या हो। हामी बारम्बार लडेर पनि उठेका छौ। साझा दल स्थापना हुनु केही वर्षअघि नै हामी जुन साहस र आत्मविश्वाससाथ राजनीतिमा होमिएका थियौं, त्यो साहस र आत्मविश्वास अहिले अझ बढेको छ र राजनीतिमा वैकल्पिक अभ्यासका लागि परिस्थिति पनि त्यसबेलाको भन्दा सहज छ।

समय, परिस्थिति र अनुभवले हामीलाई तिखारेको छ। फुटपछिको विषम परिस्थितिले पनि हाम्रो अस्तित्व निमोठ्न सकेको छैन, बरु हामी सांगठनिक प्रक्रियालाई झनै लोकतान्त्रिक ढंगले अघि बढाउन सफल भएका छौं। आन्तरिक समस्या धेरै छन्, हाम्रासामु चुनौतीका पहाड पनि छन्, तर पनि हामी हारेका छैनौं। स्पष्ट छ- अन्तरहृदयमा अटुट विश्वास बोकेर हामी झनझन् ऊर्जावान् हुँदै अघि बढिरहेका छाैं। यसरी बुझौं– हामी छोटो दूरीका धावक होइनौं।
नेपाल आमाको जय होस!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .