दक्षिण कोरियाबाट घर बिदामा आएका नेपाली फर्किन पाउने भएका छन्। घर बिदामा नेपाल फर्किएका श्रमिकलाई आफ्नै खर्चमा जान दिने सरकारले निर्णय गरेको हो।
उनीहरुलाई स्वास्थ्य परीक्षण गरेर पठाइने छ। सरकारको यो निर्णयसँगै श्रम अवधि र भिसाको म्याद भएका श्रमिक कोरिया जान चाहे जान पाउने छन्। कोरिया जाने श्रमिकको श्रम अवधि ४ वर्ष १० महिनाको हुन्छ।
वैदेशिक रोजगार विभाग अन्तरगतको ईपीएस शाखाका अनुसार यस्ता श्रमिक २ सय ६६ जना छन्। यीमध्ये को–को जान्छन् भन्ने निश्चित नभएको शाखाका निर्देशक कृष्णप्रसाद खनालले बताए। यीबाहेक अरुपनि नेपाल फर्किएको तर शाखाको सम्पर्कमा नआएकाहरु पनि हुन सक्ने उनको अनुमान छ।
उनीहरुलाई आफ्नै खर्चमा चार्टड उडानबाट जान स्वीकृति दिइएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले बताए। नयाँ श्रमिक भने अहिले नै कोरिया जान पाउने छैनन्। दक्षिण कोरियामा ४० हजार बढी नेपाली श्रमिक कार्यरत छन्।
प्रतिक्रिया