घर बिदामा नेपाल आएका भारतीय सेनामा कार्यरत एक व्यक्तिको हत्या आरोपमा जन्म कैदको फैसला सुनाइएका एक व्यक्ति ४१ वर्षपछि पक्राउ परेका छन्।
स्याङ्जाको चापाकोट नगरपालिका ८ मा २०३३ साल वैशाख २ गते कालीगण्डकी नदी किनारमा हत्या गरी नदीमा फालिएका पाल्पाका २४ वर्षीय जीतबहादुर रानाको हत्या अभियोगमा रत्नपुरका ६७ वार्षीय डिल्लीबहादुर घर्ती पक्राउ परेका हुन्।
उनलाई सजाय भुक्तानका लागि मंगलबार जिल्ला कारागार स्याङ्जामा चलान गरिएको छ।
भारतीय सेनामा कार्यरत पाल्पाका २४ वर्षीय जीतबहादुर राना त्यतिबेला घरबिदामा आई पूर्णिमा मेला हेर्न त्यहाँ गएका थिए।
रानालाई १३ जनाको समूहले निर्घात कुटपिट गरी कालीगण्डकी नदिमा फालेका थिए। उनको शव तीन दिनपछि घटनास्थल भन्दा करिब ५ सय मिटर तल कालीगण्डकीमा फेला परेको थियो।
रानाको शव फेला परेको भोलिपल्ट वैशाख ६ गते मृतकका दाइ दलबहादुर रानाले जिल्ला प्रहरी कार्यालय स्याङ्जामा जाहेरी दिएका थिए। रत्नपुर तथा सेखामका १३ जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको थियो।
जिल्ला अदालतले २०३६ माघ १७ गते कसुरदार ठहर गरी जन्मकैदको फैसला गरेको थियो। प्रतिवादीहरूका तर्फबाट तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन गरेकोमा २०३९ कात्तिक २४ गते र सर्वोच्च अदालतले २०४० माघ ८ गते जिल्लाकै फैसला सदर गरेको थियो।
सर्वोच्चको फैसलापछि कोही भारत र कोही नेपालकै अन्य ठाउँमा लुकिछिपी बसेका थिए। घटनामा संलग्न अन्य दुई जना यसअघि नै पक्राउ परी जेल चलान भइसकेको छन्। १० जना अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले बताए।
Shares

प्रतिक्रिया