ब्लग


एउटा ‘असफल’ राष्ट्र कोरोनाविरुद्धको युद्धमा कसरी भयो सफल?

एउटा ‘असफल’ राष्ट्र कोरोनाविरुद्धको युद्धमा कसरी भयो सफल?

खालिद दियाब
बैशाख ३, २०७७ बुधबार ९:४१,

सरकार गठन गर्न असफल बन्ने मामिलामा बेल्जियमले कीर्तिमान कायम गरेको छ। एक दशकभन्दा बढी समयदेखि बारम्बार स्थायी सरकार गठन गर्न मुस्किल पर्ने गरेकैले बेल्जियमलाई विदेशी सञ्चारमाध्यममा ‘असफल’ राष्ट्र भनिने गरिएको छ। यहाँका नागरिक पनि मजाक गरिरहन्छन्, ‘सरकार हुँदाभन्दा नहुँदै यो देशले राम्ररी काम गर्छ।’

त्यसैले जब इटलीमा कोभिड–१९ फैलियो र युरोपभर सर्ने जोखिम बढ्यो, तब बेल्जियम सरकारले महामारी रोक्न नसक्ने हो कि भन्ने चिन्ता छायो। किनभने यहाँको संसद् ध्रुवीकृत थियो। सरकार खण्डीकृत थियो। अहिले पनि बेल्जियममा अल्पमतको सरकार छ। संघीय र क्षेत्रीय गरी ९ जना स्वास्थ्य मन्त्री छन्।

तर, राजनीतिक संकटका बाबजूद यहाँ राजनीतिक दलहरुले जनस्वास्थ्यलाई दलगत विचारधाराभन्दा माथि राखे। त्यसैले संसदले कामचलाउ प्रधानमन्त्री सोफी विल्म्स र राष्ट्रिय सुरक्षा परिषदलाई संकट झेल्न आवश्यक आपतकालीन अधिकार प्रयोग गर्ने अनुमति दियो।

अक्टोबर २०१९ देखि कामचलाउ सरकारको नेतृत्व गर्दै आएकी विल्म्सले संकटको घडीमा मुख्य जिम्मेवारी सम्हालेकी छन्। उनले शान्त, समझदारीपूर्वक र समावेशी ढंगले काम गरिरहेकी छन्। उनको शैली बेलायती समकक्षी बोरिस जोनसनको जस्तो आडम्बरी र हल्लाखल्लायुक्त छैन। त्यसैले नै प्रायः कसैको प्रशंसा नगर्ने फाइनान्सियल टाइम्सले समेत विल्म्सको प्रशंसा गरेको छ।

अहिलेसम्म महामारी रोकथामका लागि बेल्जियमले चालेको कदम निर्णायक र प्रभावकारी साबित भएको छ। बेल्जियमको यो सफलताको कारण के हो त?

एउटा महत्वपूर्ण पक्ष हो, समयमै तीव्र गतिका साथ निर्णय हुनु। केही सुरुवाती गडबडीका बाबजूद बेल्जियम समय बाँकी छँदै लकडाउनमा गयो। इटलीको भयानक दृश्यले अनिर्णितहरुलाई पनि निर्णय गर्न सहज बनायो।

सबैभन्दा महत्वपूर्ण अर्को पक्ष भनेको बेल्जियमको अत्यन्त विकसित स्वास्थ्य सेवासम्बन्धी पूर्वाधार हो। बेल्जियमको स्वास्थ्य प्रणाली युरोपकै उत्कृष्टमा त पर्छ नै, त्यसमाथि उसले ठूलो संख्यामा अस्पताल बेड र आईसीयू तयार गरेको छ। त्यसैले सघन उपचार आवश्यक पर्ने ठूलो संख्याका बिरामीलाई पनि बेल्जियमले सहजै उपचार गर्न सक्छ।

वास्तवमा महामारीका कारण अन्य मुलुकको स्वास्थ्य प्रणालीमा ठूलो बोझ परिसक्दा पनि बेल्जियमले अझै आफ्नो पूर्ण क्षमता प्रयोग गर्नुपरेको छैन। त्यसमाथि यो मुलुक संक्रमण दरलाई पनि न्यून राख्न सफल भएको छ। अहिलेसम्मको सबैभन्दा प्रमुख कमजोरी भनेको वृद्धवृद्धाहरुलाई राखिने नर्सिङ होममा देखिएको छ। हालसम्म मृतकमध्येको ४० प्रतिशत नर्सिङ होमकै छन्। हालसम्म यहाँ ४ हजारको ज्यान गएको छ।

विश्वका अन्य स्थानमा लकडाउन र सोसल डिस्ट्यान्सिङ पालना गराउन मुस्किल देखिएको छ। तर, बेल्जियममा त्यो समस्या छैन। बरु, यहाँको लकडाउन अलिकति हलुका किसिमको छ। सबै आर्थिक गतिविधि ठप्प छ। तर मानिसहरुलाई केही समयका लागि घरबाहिर जान पनि दिइएको छ। जुन, पूर्ण लकडाउन घोषित मुलुकहरुमा भन्दा सफल देखिएको छ। मानिसहरुलाई बाहिर निस्केर कसरत गर्न, हिँड्न दिइएको छ। जसका कारण उनीहरुले सजिलै अरु प्रतिबन्धलाई झेल्न सकेका छन्।

सुरुमा यो सुविधाको दुरुपयोग गरेर केही ‘लकडाउन पार्टी’ आयोजना भएपनि मानिसहरुले स्वेच्छाले सामाजिक दूरी कायम गरिरहेका छन्। अझ भन्नुपर्दा सरकारले आधिकारिक रुपमा बन्द गर्ने निर्णय नगर्दै थुप्रै मानिसले व्यवसाय तथा पसल बन्द गरिसकेका थिए।

व्यक्तिगत स्वतन्त्रतालाई सम्मान गर्ने समाज भइकन बेल्जियमका मानिस आफ्नो दैनिकीमा तुरुन्तै सामाजिक दूरीलाई कायम गर्न तयार भए। सरकारले भन्नुअघि नै खुला रहेका केही पसलहरुमा पनि मानिसहरु आपसमा दूरी राखेर उभिएका थिए। खुला ठाउँहरुमा अरु मानिससँग दूरी राखेर हिँड्ने, उभिने गरेका थिए।

जबर्जस्तीको सट्टा लोकतान्त्रिक शासन विधि, प्रोत्साहन र सहमति कायम गर्ने चलनका कारण सबैले यस्ता नियम पालना गरेका छन्। सबै पार्टीले वैज्ञानिक सुझावलाई पछ्याएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायत केही राजनीतिक नेताहरुले वैज्ञानिकहरुसँग आफ्नो मत बझाएका छन्। जसका कारण यो संकटको राजनीतिकरण भएको छ। तर, बेल्जियम सरकारको प्रतिक्रिया भने विज्ञानद्वारा निर्देशित त छ नै, सञ्चारमाध्यममा पनि राजनीतिक व्यक्तित्वभन्दा सम्बन्धित क्षेत्रका विज्ञले बढी स्थान पाएका छन्।

दैनिक प्रेस ब्रिफिङ नेसनल क्राइसिस सेन्टरका भाइरोलोजिस्ट स्टिभन भान गुख्तले आयोजना गर्छन्। जसलाई बेल्जियन नागरिकले नियमित हेर्ने गर्छन्। सन्ध्याकालीन टेलिभिजन कार्यक्रमहरुमा अर्का भाइरोलोजिस्ट तथा एपिडिमियोलिोजिस्ट मार्क भान रान्स्ट दैनिकजसो देखा पर्छन्। उनले भाइरस रोकथामका हरेक उपाय र भविष्यमा हुनसक्ने घटनाको कारण व्याख्या गर्छन्।

त्यसबाहेक बेल्जियमको सफलताको अर्को महत्वपूर्ण कारण हो, सामाजिक सुरक्षा प्रणाली र ऐक्यबद्धताको अभ्यास। यद्यपि यहाँ सामाजिक सुरक्षाको स्थिति पहिलेभन्दा खस्किँदो छ।

महामारीको सुरुवातमै बेल्जियम सरकार, व्यवसायी र संस्थाहरुले ठूलै आर्थिक घाटा बेहोरेर भए पनि मानिसको ज्यान बचाउनु र प्रकोप रोक्नु महत्वपूर्ण छ भन्ने निर्णय गरिसकेका थिए। जसका कारण गरिब र साना व्यवसायीलाई अप्ठेरो परिरहेको छ। तर, सरकारले आपतकालीन राहत प्याकेज ल्याएर यो समस्या निराकरण गर्ने प्रयास गरेको छ। कर, बैंकको भुक्तानीलगायत स्थगित गरिएको छ भने कामदार र गरिबहरुलाई अस्थायी बेरोजगारी भत्ता दिइएको छ।

जसको नतिजा विस्तारै देखिँदैछ। महामारी विज्ञहरुले अस्पताल भर्ना हुने मानिसको संख्या स्थिर भएको बताएका छन्। तथापि, पूरै जनसंख्याले नियम पालना कति गर्छन् भन्नेमा सफलता निर्भर हुने विज्ञहरुको जोड छ।

बेल्जियमको उदाहरणले के देखाउँछ भने संकटको बेला मात्र होइन, अन्य समयमा पनि स्वास्थ्य सेवा र सामाजिक सुरक्षा प्रणालीमा ठूलो लगानी निकै महत्वपूर्ण छ। महामारी सकिएपछि पनि बेल्जियमसहित सबै मुलुकका नेताहरुले यो पाठलाई याद राख्नेछन् भन्ने आशा गर्न सकिन्छ।

बेल्जियम र धनी युरोपेली मुलुकहरुको अवस्थाले के पनि देखाउँछ भने महामारीलाई यति मजबुत तरिकाले रोक्नु अन्य गरिब मुलुकका लागि सम्भव छैन।

त्यसैले यतिबेला विश्वव्यापी ऐक्यबद्धताको ठूलो खाँचो छ। गरिब मुलुकहरुलाई सघाउन विश्वव्यापी कोभिड–१९ कोष स्थापना गरिनुपर्छ। साथै कोरोना भाइरसको महामारी फैलिएका खास क्षेत्रहरुमा पठाउन स्वास्थ्यकर्मीहरुको टोली पनि बनाउनुपर्छ।


(अल जजिराबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .