समाज


बंगलादेशका नेपाली विद्यार्थीको आग्रहः ‘उद्धार गरिदिनुस्, जहाज भाडा हामी तिर्छौं’

बंगलादेशका नेपाली विद्यार्थीको आग्रहः ‘उद्धार गरिदिनुस्, जहाज भाडा हामी तिर्छौं’

यज्ञराज जोशी
बैशाख ३, २०७७ बुधबार ९:४१,

बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीले त्यहाँ कोरोना संक्रमण जोखिम उच्च रहेको भन्दै उद्धार गरिदिन सरकारसँग अनुरोध गरेका छन्। सरकारले प्लेन चार्टड गरिदिए त्यसको शुल्क आफैँले तिर्ने भन्दै उनीहरुले भनेका छन्, ‘नेपाल आइसकेपछि सरकारले तोकेको स्थानमा बस्न तयार छौं।’

पछिल्लो समय राजधानी ढाकासहितका क्षेत्रमा कोरोना संक्रमितको संख्या तीब्र रुपमा वृद्धि भइरहेको छ। बंगलादेशमा हालसम्म १ हजार जनालाई कोरोना संक्रमण भएको छ। ४६ जनाले ज्यान गुमाइसकेका छन्।

यो साता सुरुवातदेखि संक्रमित हुनेको संख्यामा अझ तीब्रता आएको छ। त्यसपछि नेपाली विद्यार्थी आत्तिएका हुन्। राजधानी ढाकाबाट प्रकाशित हुने राष्ट्रिय दैनिक पत्रिका ढाका ट्रिब्युनकाअनुसार बंगलादेशमा आइतबार, सोमबार र मंगलबार क्रमशः १३९, १८२ र २०९ जना नयाँ संक्रमित देखिए। एकै दिन २ सयभन्दा बढी संक्रमित भेटिएको मंगलबार पहिलो पटक हो। राजधानी ढाकामा ४ सयभन्दा बढी संक्रमित देखिएका छन्।

जोखिम महसुस गरेका नेपाली विद्यार्थीले उद्धारका लागि अनुरोध गर्दै नेपाली दूतावासमा पत्र समेत पठाएका छन्। बंगलादेशमा ६६५ नेपाली विद्यार्थी अध्ययनरत छन्। तीमध्ये अधिकांश चिकित्सा विज्ञानका विद्यार्थी हुन्। उनीहरु तीन हप्तादेखि सेल्फ क्वारेन्टिनमा होस्टलमै बसिरहेका छन्।

नेपाली विद्यार्थीले मंगलबार नै प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, परराष्ट्र मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई बोधार्थसहित ढाकास्थित नेपाली दूतावासलाई उद्धारका लागि पत्र बुझाएका हुन्।

‘लकडाउन फितलो छ, हामी जोखिममा छौं’
‘कोरोना भाइरसको संक्रमण र यसबाट मृत्यु हुनेको संख्या बंगलादेशमा दिनानुदिन बढ्दै गइरहेको अवस्थामा आफ्नो देश, घर परिवारबाट टाढा रही बंगलादेशमा अध्ययन गर्न आएका विद्यार्थीहरुको अवस्था मर्माहत बन्दै गएको छ’, दूतावासमा बुझाइएको पत्रमा भनिएको छ, ‘यहाँको उच्च जनघनत्वका कारण सामाजिक दुरी कायम राखेर बस्न कठिनाइ तथा नियन्त्रण बाहिर जाने जोखिमका कारण सम्पूर्ण विद्यार्थीले असुरक्षित महसुस गरेका छौं। यसर्थ हामीलाई यथाशक्य छिटो उद्दार गरि नेपालमा लाने वातावरण मिलाइ दिन अनुरोध गर्दछौं।’

पत्रको जवाफ नआइसकेको र आफूहरु जवाफ कुरिरहेको ढाकामा अध्ययनरत नेपाली विधार्थी नवीन यादवले नेपालखबरलाई बताए।

‘तीन हप्तादेखि हामी होस्टलमा सेल्फ क्वारेन्टिनमा बसिरहेका छौं। तर यहाँ दिनहुँ केसहरु तीव्र रुपमा बढिरहेछ’, यादवले नेपालखबरसँग भने, ‘भिडभाड बढी हुने भएकाले यहाँको लकडाउन फितलो छ। त्यसैले हामी उच्च जोखिममा छौं। सरकारले चाडैँ उद्धार गरिदेवस् भन्ने चाहना छ।’

ढाका युर्निभर्सिटीमा अध्ययनरत राजु साहले ढाकामा चार सय बढी संक्रमित भेटिएको उल्लेख गर्दै त्यहाँका नेपाली विद्यार्थी त्रासमा रहेको जानकारी दिए। ‘हामी एक महिनादेखि कोठामै छौं। अब खाद्यान्न पनि सकिँदै जाँदा समस्या हुन थालेको छ’, उनले नेपालखबरसँग भने, ‘कोठाबाट अत्यावश्यक सामान किन्न बाहिर निस्कनै पर्छ। ढाकाको घना वस्तीमा संक्रमित पनि धेरै देखिएकाले त्रासबीच बसिरहेछौं। हामी नेपाल फर्किन चाहन्छौं। सरकारले उद्धार गरिदेवस्’,उनले भने।

‘राज्यले प्लेन चार्टर्ड गरिदेवस्, पैसा हामी तिर्छौं’
युनिभर्सिटी अफ एसिया प्यासिफिकमा ह्युमन राईट्समा स्नातकोत्तर अध्ययनरत काठमाडौंका डायमण्ड लामिछानेले पनि ढाकाको अवस्था निकै जोखिमपूर्ण रहेको बताए।

‘यहाँको अवस्था निकै जोखिमपूर्ण छ। कोरोना संक्रमण दिनहुँ बढदै गएको स्थिति छ। समयमा सम्बन्धित निकायले ध्यान नदिएमा ठुलो क्षति व्यहोर्नुपर्ने हुनसक्छ,’ उनले नेपालखबरसँग भने, ‘यहाँ संक्रमण बढेकाले घरमा रहेका परिवारलाई पीडा त छदैछ यहाँको दैनिकी पनि झनै सकसपूर्ण भएको छ। यहाँ हामीलाई कसैले हेर्ने अवस्था पनि छैन।’

केही विद्यार्थीलाई खानको जुगाड गर्न समेत धौधौ भइसकेको, ढाकामा विदेशी नागरिकलाई सरकारले खासै वास्ता नगरेकोले आफूहरुलाई छिटोभन्दा छिटो आफ्नै मातृभूमि फर्काउन उनले अनुरोध गरे।

विद्यार्थीहरुले दूतावासमा पठाएको पत्रमा सरकारले प्लेन चार्टर्ड गरिदिए आफूहरु पैसा तिर्न तयार रहेको उल्लेख गरेका छन्।

‘हामीलाई उद्धार गरेर लिएर जाने राज्यको दायित्व हुँदाहुँदै पनि यदि राज्यसँग आर्थिक कठिनाई रहेको अवस्था छ भने हामीलाई एउटा चार्टर प्लेनको व्यवस्थापन गरिदिए त्यसको न्युनतम् लागत आफैँ तिरेर आफ्नै खर्चमा नेपाल जानेछौ’, पत्रमा भनिएको छ, ‘नेपाल आइसकेपछि सरकारले तोकेको स्थानमा बस्न तयार छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .