ब्लग


इटालीमा कोरोनाविरूद्ध डाक्टर, नर्स अनि नेपाली छन् ड्युटीमा

इटालीमा कोरोनाविरूद्ध डाक्टर, नर्स अनि नेपाली छन् ड्युटीमा

छविलाल कँडेल
चैत २०, २०७६ बिहिबार ५:१,

इटाली यतिबेला कोरोना भाइरस (कोभिड—१९) को केन्द्रविन्दू भएको अन्तर्राष्ट्रिय प्रचार छ। हुन पनि मध्य—पश्चिम युरोपको यो देशले कोरोनाबाट अरुभन्दा बढी मानवीय क्षति व्यहोरेको छ। सायद त्यही भएर होला नेपाल र अरु देशहरुबाट फोन सम्पर्क गर्ने नातेदार एवं साथीभाईहरुले चिन्ता व्यक्त गर्नुहुन्छ। म इटालीको मिलान सहरमा बसोबास गर्छु। यो उत्तरी इटालीको लम्बर्डी प्रदेशको राजधानी सहर हो।

फूटबल, खानाका परिकार, आर्ट ग्यालरी, फेसन एवं संगीतमा ख्याती कमाएको मिलान सहर यतिबेला पहिला जस्तो उल्लासमय छैन, मुर्झाएको छ। यहाँ लकडाउन भएको ५ हप्ता भयो। मिलानसहित इटालीभरि हामी १ हजार ५०० भन्दा बढी नेपाली छौं। बाहिरबाट भन्दा सिंगो इटालीभरि संक्रमण फैलिएको भनिन्छ। तर यहाँ सहरपिच्छे स्थिति फरक छ। सबै ठाउँहरु एकै हिसाबले प्रभावित भएका होइनन्। राजधानी रोम, पिसासहित दक्षिणी क्षेत्र तुलनात्मक रुपमा कोरोनाबाट थोरै प्रभावित छन्। त्यहाँ ६०० नेपालीको बसोबास छ। एउटा भाग्यशाली संयोग मान्नुपर्छ कोरोना महामारीले इटालीमा यत्रो बितण्डा मच्चाए पनि अहिलेसम्म कोही नेपाली संक्रमणमा परेका छैनन्। 

मास्क, पञ्जा, सुरक्षा विधि अपनाएर ड्युटीमा
इटालीका उत्तरी भाग लम्बर्डी, इमिलिया—रोमानिया, भेनेतोसहितका क्षेत्रमा कोरोना प्रभाव बढी देखिएको हो। त्यसमा पनि मिलान, पार्मा र भेनिस लगायतका ठाउँहरू पर्दछन् जहाँ नेपालीको बसोबास उल्लेख्य छ। थाहा पाउँदा अचम्म लाग्ला तर यो वास्तविकता हो इटालीमा यतिबेला कोरोना महामारीविरूद्ध काम गर्नेमा डाक्टर, नर्स र स्वास्थ्यकर्मी मात्र छैनन्। नेपाली समेत छन्। 

अति आवश्यक क्षेत्रमा काम गर्ने नेपालीहरु यो संकटको बेला ड्युटीमै छन्। उनीहरुले तयार पारेका खानाका प्याक डिपार्टमेन्ट स्टोर र लकडाउनमा बसेका मानिसका घर—घरमा पुगेका छन्। उनीहरूले काम गरिदिँदा कोरोना संक्रमणविरूद्धको अभियानमा सहयोग पुगिरहेछ। पार्मामा १५० नेपाली छन्। दूग्ध उत्पादन, पास्ता, टोमाटो पेस्ट बनाउने काममा संलग्न उनीहरुको काम रोकिएको छैन। खाद्यान्न आपूर्ति गर्नुपर्ने भएकाले उनीहरुको काम सञ्चालन भइरहेको हो। केही दिन अगाडि हामीले उनीहरुको अवस्था बुझेका थियौं। स्वास्थ्यबारे चासो राखेका थियौं। ‘अहिले काममा जाँदा मास्क, पञ्जा लगाउनु पर्छ। यहाँको स्वास्थ्य मापदण्डअनुसार एक मिटर दूरीमा रहनुपर्छ’, त्यहाँका नेपालीले सुनाए, ‘सिफ्ट बनाइएकाले भिडभाड हुँदैन। यहाँ स्वास्थ्य सुरक्षाका सबै विधि अपनाएकाले गाह्रो छैन।’

italy food
इटालीको नेपल्सस्थित एक स्टोरमा पास्ताको प्याकेट लिँदै मास्क लगाएकी एक युवती। तस्विरः सिरो डे लुका/रोयटर्स

पार्मा, भेनिस, रोमसहित अन्य ठाउँहरूमा डाक्टर, नर्सजस्तै कतिपय नेपाली ड्युटीमै छन्। अति आवश्यक सेवा अन्तर्गत रहेका उनीहरु कोरोनाविरुद्धको अभियानमा प्रभावकारी ढंगले सेवा दिइरहेका छन्।

इटालीमा भएकामध्ये अधिकांश नेपाली काम गर्ने हुन्। थोरै नेपाली आफ्नै व्यवसायमा संलग्न छन्। कोरोना संक्रमण फैलिँदा अहिले दुवै किसिमका नेपाली प्रभावित भएका छन्। मिलान सहरमा नेपालीका २—३ वटा रेष्टुराँ छन्। अन्य सहरहरुमा पनि केही छन्। मार्चको पहिलो साता राष्ट्रिय संकट घोषणा भएपछि ती बन्द छन्। व्यवसाय बन्द हुँदा त्यसले धेरै पक्षमा असर पारेको छ। अहिले सरकारले २५ बिलियन युरोको प्याकेज घोषणा गरेर व्यवसाय जीवित राख्ने प्रयास गरिरहेको छ। कामरदाहरुलाई तलब दिने, बैंक ऋण ब्याज शून्य बनाउनेजस्ता कार्यक्रम ल्याएको छ।

कोरोना फैलिन थालेसँगै अति आवश्यक सेवामा रहेका बाहेक अरूका काम बन्द छन्। केही नेपाली कागजपत्रबिहीन भएर बस्दै आएका थिए भन्ने पनि सुनिएको छ। उनीहरुले सरकारले उपलब्ध गराउने खाद्यान्न कुपनसहितका सुविधा पाउन सक्दैनन्। काम बन्द हुँदा त्यस्ता नेपाली अप्ठ्यारोमा छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए-इटाली) ले राहत कोष खडा गरी कामबिहीन, कागजपत्र नभएर अप्ठ्यारोमा परेका नेपालीहरुलाई सहयोग गर्ने काम सुरु गरेको छ। त्यसमा  रोम लगायत अन्य क्षेत्रका साथीहरुले समेत सहयोग गरिरहनु भएको छ। परिवार संख्या हेरेर खानाका लागि ५० युरोसम्म उपलब्ध गराउने काम भइरहेको छ।

इटालीबारे फेक समाचार बने
इटालीमा कोरोना भाइरस (कोभिड—१९) बाट बुधबारसम्म १ लाख बढी संक्रमित छन्। १३ हजार  बढीले ज्यान गुमाएका छन्। समचारहरुमा यति, उति भनिए पनि यसको पछाडि थुप्रै वास्तविक दर्दनाक कथा छन्। ती कमै मात्र लेखिएका छन्। जनवरी २९ मा पहिलो कोरोना संक्रमित देखिएदेखि यहाँसम्म आइपुग्दा इटालीले धेरै विषय सामना गरेको छ। ६० जनाभन्दा बढी डाक्टर गुमाएको विषय दर्दनाक छ।

जापानपछि सबैभन्दा बढी वृद्ध जनसंख्या भएको देश इटाली हो। कोरोनाबाट संक्रमित अनि मृत्यु हुनेमा वृद्धहरुको संख्या धेरै छ। त्यो थाहा पाएपछि सुरुमा यहाँ युवाले धेरै मतलब गरेनन्। हामीलाई केही हुँदैन भन्ने ठाने तर पछि युवा नै संक्रमित भए। संक्रमण फैलिँदा त्यसले ठूलो समस्या खडा गर्ने रहेछ।

कोरोनाले इटालीमा संकट पैदा गरेपछि यहाँको अवस्थाबारे फेक समाचार समेत प्रचार भए। इटाली राष्ट्रपति रोए भनेर फोटो प्रचार गरियो। पहिला—पहिला सार्वजनिक स्थानमा मान्छे सुतेर खिचेका फोटा खोजेर ‘यसरी मान्छे मरे’ भनेर देखाइयो। इटालीका मान्छेले नोट सडकमा फाले भनेर समेत प्रचार गरियो। त्यसले त्रास बढायो। यो विपद्ले सिकाएको के हो भने आइसोलेसनमा बस्नु, २०—२० मिनेटमा हात धुनु र सुरक्षाका अरु सावधानी अपनाउनु कोरोना संक्रमणबाट जोगिने प्राथमिक उपाय हुन्। इटालीबाट सिक्नु पर्ने अस्पताल, उपचारसहितका हकमा तयारी नै मुख्य कुरा हो। संक्रमण देखिएपछि तयारी थालेर रोक्न गाह्रो छ। भनिन्छ, कोरोना १ जनामा देखिँदा त्यो ५ जनामा पुगिसक्छ। त्यसैले यसलाई सामान्य नठानौं, नेपालले यी सबै विषय अध्ययन गरेर संक्रमण फैलिन नदिन र उपचारका लागि योजनाबद्ध आन्तरिक तयारी गरौं। (इटालीको मिलान सहर निवासी छविलाल कँडेल एनआरएनए-इटालीका उपाध्यक्ष हुन्।)

यो पनि:  एउटा सानो सहरले १४ दिनमै यसरी गर्‍यो कोरोना उन्मूलन 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .