ब्लग


त्रिभुवन विश्वविद्यालयको दलीयकरण अन्त्य गर्ने ४ तरिका

त्रिभुवन विश्वविद्यालयको दलीयकरण अन्त्य गर्ने ४ तरिका

उज्ज्वल खड्का
फागुन १८, २०८१ आइतबार १५:४४, काठमाडौँ

विश्वविद्यालयहरूमा प्राध्यापक, कर्मचारी र विद्यार्थी कसैले पनि स्वधर्म पालना नगरिरहेको अवस्था छ। विश्वविद्यालय सञ्चालनका तीन तत्व सधैँभर विवाद र प्रतिवादमा लिप्त छन्। पदाधिकारीदेखि विभागीय प्रमुखसम्मको दलको सदस्यता र संलग्नता हेरेर असल र खराबको दृष्टिकोण निर्माण गर्ने परिपाटी रहँदै आएको छ। 

चिया गफदेखि व्यक्तिगत भेटघाटमा यसप्रकारका प्रयासहरू हुन्छन्। राजनीतिक दल र दलभित्र रहेका गुट–उपगुटहरूका स्वार्थ समूहहरू गैरप्राज्ञिक र अमर्यादित गतिविधिमा तल्लीन छन्। धर्ना र हड्ताल भन्दै स्टन्ट गर्ने जमातको त कुरै नगरौँ। कहिले महिनौँसम्म तालाबन्दी त अर्को तालाबन्दीको विरुद्धमा छौँ भनेर सार्वजनिक घोषणा गर्ने समूह पदाधिकारीलाई कार्यकक्ष प्रवेशमा निषेधको उर्दी जारी गर्ने ठेक्का आफूलाई नै परेजस्तो गरी त्यसको भार थेग्न हरदम तयार भएजस्तो। 

लेटरप्याड फरकफरक तर प्रवृत्ति समान, अनुहारमा फरकपन तर मानसिकता एक भएकाहरू विश्वविद्यालयका समस्याका स्रोत रहँदै आएका छन्। केही समयअगाडि सत्तारुढ दलको एउटा संगठनले उपकुलपतिको ढोकामा उपकुलपतिलाई ‘तँ’ सम्बोधन गरेर लेखेको प्रश्नले विद्यार्थी संघठनहरूको अप्रासंगिकता प्रस्ट्याउँछ। 

नेपालमा हरेक क्षेत्रमा दलहरूले गहिरो जरा गाडेका छन्। हरेक संस्थाहरू दलको छायामा छन्। राज्यका प्रत्येक निकायमा दलहरूको प्रवेशले लोकतन्त्रलाई बलियो बनाएको छ कि कमजोर, दलहरूले पुनरवलोकन गर्नुपर्ने समय आइसकेको छ। दलविहीन पञ्चायतबाट बहुदलीय लोकतन्त्रको पुनर्वहाली वर्तमान अवस्थाका लागि थियो त? यस्तो प्रश्न स्वाभाविक रूपमा उठ्न थालेका छन्।

विश्वविद्यालय सुधारका धेरै बहस छलफलहरू हुने गरेका छन् तर सुधारका प्रयासहरू नगन्य जस्तै छन्। प्रधानमन्त्री कुलपति हुने व्यवस्थाले त्रिभुवन विश्वविद्यालयमा अव्यवस्था मात्र ल्याएको छ। राजनीतिक नेतृत्व सम्हालिरहेका प्रधानमन्त्रीले विश्वविद्यालयहरूको कुलपति बन्ने रहरलाई त्यागेर ‘बोर्ड अफ ट्रस्टी’ मार्फत् मार्फत विश्वविद्यालयहरू संचालन गर्नुपर्छ। 

राजनीतिक नेतृत्वको विश्वविद्यालयलाई हेर्ने दृष्टिकोणले त्रिभुवन विश्वविद्यालय बन्दैन त्यसका लागि प्राज्ञिक नेतृत्व नै अग्रसर रहेर विश्वविद्यालयलाई नेतृत्व गर्नुपर्छ। त्रिभुवन विश्वविद्यालय आजको अवस्थाबाट माथि उठ्न व्यापक संरचनात्मक परिवर्तनको आवश्यकता छ। यो कुरा स्वतन्त्र विद्यार्थी युनियन र विश्वविद्यालयका जिम्मेवार पक्षहरूले मनन गर्न ढिला गर्नु हुँदैन। राज्य, विश्वविद्यालय प्रशासन र स्वतन्त्र विद्यार्थी युनियनले सुधारका निम्न विषयहरूलाई बहस र छलफल गर्दै कार्यान्वयन गर्न सकिन्छ। 

बृहत् पूर्वविद्यार्थी सञ्जाल
पदाधिकारी, कर्मचारी र विद्यार्थीबाट मात्र विश्वविद्यालयहरूको उन्नयन हुने अवस्था छैन; किनभने हरेक तहमा दलीय वर्गीकरण स्पष्ट देख्न थालेको दशकौँ नाघिसक्यो। सुधारका प्रयासहरू आन्तरिक रूपमा मात्र सम्भव छैनन्, त्यसकारण बाहिरी ढोका पनि खोलिनुपर्छ। त्यसका लागि पूर्वविद्यार्थीहरूको सञ्जाल तयार पारिनुपर्छ। यस्ता प्रयासले अपनत्वको भावना विकासमा सघाउ पुर्‍याउँछ र आफ्नो क्षेत्रबाट विश्वविद्यालय उन्नयनका लागि भूमिका खेल्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सकिन्छ। 

पूर्वविद्यार्थीहरूको सञ्जाल निर्माणका लागि विभिन्न क्षेत्रमा नेतृत्वका गरिरहेका पूर्वविद्यार्थीहरूलाई विश्वविद्यालयले नै आमन्त्रित गर्नुपर्छ। यसका लागि विश्वविद्यालयले प्राज्ञिक महोत्सव, उत्कृष्ट थेसिस लेखेका र गोल्ड मेडलिस्टसँगको अन्तर्क्रिया, अन्तर्राष्ट्रिय निकायमा काम गरिरहेका र गरिसकेकाहरूलाई ‘गेस्ट लेक्चरर’का् भूमिकामा भित्र्याउन सकिन्छ। यदि विश्वविद्यालयका जिम्मेवार निकायमा रहेकाहरूले स्वधर्म पूरा गर्ने हो भने अहिले पनि नेपालका अरु विश्वविद्यालयहरूभन्दा त्रिविकै भविष्य सबैभन्दा राम्रो छ। 

पूर्णआवासीय केन्द्रीय क्याम्पस 
अहिले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस परिसर एकातर्फ अनेक व्यक्ति र संस्थाहरूको अतिक्रमणमा परेको छ भने अर्कोतर्फ केन्द्रीय क्याम्पसको स्वामित्वमा रहेको जमिन पनि सदुपयोग भएको छैन। केन्द्रीय क्याम्पसको प्रवेश र निकास जताततैबाट खुला छ। विश्वविद्यालय प्रिन्सिपल कार्यालय प्राध्यापक–कर्मचारी क्वार्टरबाट भाडा र अन्य शुल्क उठाउने काममा मात्र सीमित छ। 

अतिक्रमित जमिन विश्वविद्यालयले फिर्ता ल्याउनै सक्दैन किनभने जसले अतिक्रमण गरेर बसेका छन, तिनको हात धेरै माथिसम्म छ। सरकारले विश्वविद्यालयको सम्पूर्ण जग्गा फिर्ता ल्याउन सहजीकरण गर्नुपर्छ। विद्यार्थीहरूबीच खोज अनुसन्धानका लागि विश्वविद्यालयले प्राज्ञिक सहकार्यका स्रोत जुटाइदिन सक्छ। 

आवासीय विश्वविद्यालयले सामाजिक अनुकूलता र सांस्कृतिक आदानप्रदानका लागि पनि भूमिका खेल्न सक्छ। अहिले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय निजामति सेवा, बैंकिङ र वैदेशिक अध्ययनमा जाने विद्यार्थीका जीआरई, आइएल्ट्स तयारीका लागि अत्यधिक प्रयोग भएको देखिन्छ। विश्वविद्यालय क्याम्पसले पुस्तकालयलाई पढ्ने थलो मात्र होइन, स्वतन्त्र विद्यार्थी युनियनसँगको सहकार्यमा केन्द्रीय विभागका विद्यार्थीहरूको प्राज्ञिक क्षमता अभिवृद्धि र समालोचनात्मक छलफल बहसका लागि डिस्कोर्स गर्ने स्थान दिनुपर्छ किनकि यसप्रकारका गतिविधिले सामाजिक सद्भाव र सामाजिक अनुकूलतालाई अभिवृद्धि गर्न मदत गर्दछ। 

त्रिभुवन विश्वविद्यालयको पुनर्जागरणका लागि केन्द्रीय क्याम्पसलाई पूर्ण आवासीय बनाउनै पर्छ र प्राध्यापकको तलबबाट आवासको भाडा काट्न बन्द गरिनुपर्छ। विश्वविद्यालयका प्राध्यापक–कर्मचारी राज्यका बौद्धिक सम्पत्ति हुन्, उनीहरूलाई विश्वविद्यालयले दिनुपर्ने ठाउँमा भाडा उठाउनु शोभनीय देखिँदैन। होस्टेलको क्षमतामा व्यापक अभिवृद्धि गर्न जरुरी छ। विद्यार्थीलाई आर्थिक रूपमा सहजीकरण गर्नका लागि राज्यले विश्वविद्यालयलाइ पूर्ण आवासीय बनाउन सुरु गरिहाल्नुपर्छ। 

प्राध्यापक–विद्यार्थी, राज्य र विश्वविद्यालयबीच प्राज्ञिक सहकार्य 
अहिलेको हाम्रो विश्वविद्यालयको शिक्षा पश्चिमकेन्द्रित छ। पश्चिमाले सभ्यता, राज्य र संस्कृतिलाई जुन तरिकाबाट हेर्छन्, बुझ्छन्, धेरथोर यहाँ पनि त्यसैको नक्कल गरेको जस्तो देखिन्छ। मानविकी संकायतर्फ कोर्सहरूको निर्माणमा हुनुपर्ने जति विविधता नभएको देखिन्छ। भारतको नयाँ आकांक्षालाई पूरा गर्न १९५० को दशकमा आईआईटी, आईआईएम, एम्सजस्ता शैक्षिक संस्थाहरू निर्माण गरियो, जुन आजको भारतले शिक्षा र प्रविधिको क्षेत्रमा हासिल गर्न सक्ने कोशेढुङ्गा बन्यो। उत्तरी छिमेकी चीनमा पनि सन १८९८ मा पेकिङ्ग युनिभर्सिटीको स्थापनापछि औपचारिक उच्च शिक्षाले गति लिएको मानिन्छ। 

नेपालमा पनि महेन्द्रकालीन समयमा शिक्षा क्षेत्रमा योगदान दिन त्रिभुवन विश्वविद्यालयको स्थापना भएपछि यस अन्तर्गत आईओई, आईओएमजस्ता प्रतिष्ठित शैक्षिक संस्था निर्माण भए र तिनले नेपालको शैक्षिक प्रणालीमा महत्त्वपूर्ण योगदान दिँदै आएका छन्। यदि बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि विश्वविद्यालयमामा भातृ संघठन मार्फत् दलीय राजनीति प्रवेश नगराएको भए यी संस्थाहरूले आजको भन्दा उत्कृष्ट नतिजा दिन सक्थे र राज्यको क्षमता वृद्धिमा महत्त्वपूर्ण योगदान दिन सक्थे। 

समयको पदचाप पछ्याउन ढिला भइसकेको छ। युरोपले २०० वर्षमा गरेको विकासको स्तर नेपालले दुईतीन दशकभित्र पूरा गर्नुपर्नेछ। त्यसकारण राज्यले विश्वविद्यालयका अनुसन्धान केन्द्रहरू र राज्यका निकायहरूबीचको सम्झौतामार्फत विद्यार्थी–प्राध्यापक बीचको प्राज्ञिक सम्बन्धलाई कक्षाकोठा बाहिर सुदृढ पार्न सकिन्छ। 

संवेदनशील राजनीतिक दल 
वर्तमान नेपाली राज्य व्यवस्थाका कर्ता राजनीतिक दल हुन्। इतिहासको प्रवाह र संकुचनलाई नियाल्न सक्ने र वर्तमान वैश्विक संरचनाको जगमा राज्यको भविष्यलाई नीति र विधि मार्फत डोर्‍याउन राजनीतिक दलहरू सामाजिक रूपमा सक्षम र प्रभावशाली हुनुपर्छ। समस्याको सूक्ष्म पहिचान र निर्माणको विन्दु निर्धारण गर्न सक्ने नेतृत्व र कार्यकर्तापंक्ति भएका राजनीतिक दल नै इतिहासका वास्तविक कर्ता साबित भएका छन्। 

फरक–फरक राजनीतिक धारबाट करिब दुई शताब्दी लामो अन्योल र आन्तरिक कलहमा विजय प्राप्त गर्दै दुई ठुला छिमेकीहरूका पछिल्ला ७/८ दशक हेर्दा सहज अनुमान लगाउन सकिन्छ कि कसरी राजनीतिक कर्ताहरूले चीन र भारतलाई विश्वव्यवस्थाको शिखरमा पुर्‍याउँदै छन्। उच्च–शिक्षामा गरेको लगानी, आफ्ना विद्यार्थीहरूलाई संसारका उत्कृष्ट विश्वविद्यालयमा सरकारी लगानीबाट अध्ययन, आन्तरिक नीतिहरूमा लागानी र प्रबर्द्धनमा गरेको सहजीकरणले प्रविधि र उत्पादनमा महान् उपलब्धि हासिल गरेका हुन्। 

नेपाली राज्यले सोचेजस्तो प्रगति हासिल नगर्नुमा मुख्य समस्या राजनीतिक दलहरूमा नै छ। पछिला ४/५ दशकमा नेपालले जे जति प्रगति गर्‍यो, त्यो दलहरूकै अगुवाइमा भयो र जे जति बिग्रियो, त्यो पनि दलहरूकै निकम्मापनका कारण भए। त्यसमा थप आन्तरिक अवयव र वाह्य अवयवहरू पनि होलान् र छन्। गैरदलीय पञ्चायत व्यवस्थाको अन्त्य गरेपछि राजनीतिक दलहरू राज्यका विभिन्न निकायमा प्रवेश गरे, त्यहाँका मुख्य अवयवहरूलाई कार्यकर्ता बनाउन ध्याउन्नमा लागे त्यसको एउटा मुख्य असर विश्वविद्यालयहरूमा पर्‍यो र विश्व व्यवस्थाको जगमा उभिएर स्थानीय आवश्यकताई पूर्ति गर्न सक्ने जनशक्ति उत्पादनमा समस्या भएको छ। 

विश्वविद्यालयमा दलहरूको अति कार्यकर्ताकरणले स्वयं राजनीतिक दलको सक्षम नेतृत्व र कार्यकर्ता पंक्ति निर्माणमा पनि बाधा पुर्‍याइरहेको छ। त्यसको प्रत्यक्ष उदाहरण मुख्य राजनीतिक दलहरूमा पछिल्लो ५/६ दशकदेखि नेतृत्व तहमा रहेका अनुहारहरू हुन्। अब राजनीतिक दलहरू विश्वविद्यालय र अन्य राज्यका निकायहरूबाट पछि हट्नुपर्छ र आवश्यक ठाउँमा मात्र कार्यकर्ता निर्माण गर्न लाग्नुपर्छ। अन्य क्षेत्रमा रहेका जनशक्तिहरू परिस्थिति आकलन गर्दै र आफूलाई त्यो परिस्थितिअनुकूल तुल्याउँदै दलहरूका आन्तरिक संरचनामा रहेर अथवा बाहिरबाट नै सहयोग गर्ने वातावरण सिर्जना हुनसके दलहरू राष्ट्र निर्माणको मुख्य कर्ताका रूपमा कामियाब हुन सक्छन्।

(उज्जवल खड्का राजनीतिशास्त्र केन्द्रीय विभाग दोस्रो सेमस्टरका विद्यार्थी हुन्)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad