ब्लग


काठमाडौँमा ‘कन्दरा’सँग एक रात

काठमाडौँमा ‘कन्दरा’सँग एक रात

श्रीजु सरल
कात्तिक २६, २०८१ सोमबार १८:४१, काठमाडौँ

गएको शनिबार राति काठमाडौँ, ठमेलको एउटा कन्दरामा पोखराको 'कन्दरा'ले आफ्नो ३२ औँ जन्मदिन मनायो। पोखराको 'कन्दरा' भन्नासाथ हरेकको कानमा 'हिउँ त होइन फाप्रेको डङ्गुर' सबैभन्दा पहिला बज्दो हो जस्तो मलाई लाग्छ। अनि मनकै आँखामा आउँदो हो एउटा हँसिलो अनुहार, भौतिक र अभौतिक दुवै मानेमा अग्लो एउटा व्यक्तित्व- विवेक श्रेष्ठ! खैर, विवेक श्रेष्ठ र कन्दराको कथाभन्दा पनि आज म आफ्नै कथा भन्न बसेकी हुँ, जसमा कन्दरासँगका नयाँपुराना अनुभूतिहरू भने अवश्य नै जोडिएर आउनेछन्।

कन्दराले आफ्नो स्थापनाको ३२ वर्ष पुग्दा काठमाडौँमा पहिलोपटक कन्सर्ट गर्‍यो। त्यसो त म पनि झण्डैझण्डै कन्दराजत्तिकै पुरानो हुने बाटोमै छु र यसरी काठमाडौँमा मात्रै होइन, जीवनमै कन्सर्टमा रम्नुको अनुभव मैले पहिलोपटक गएको शनिबार नै गरेँ। यसअघि लाइभ म्युजिक सुन्दै रमाएको अनुभवसम्म त थियो तर, कन्सर्टकै अनुभव काठमाडौँमा कन्दरासँगै पहिलोपटक गर्ने लेखान्त रहेछ कि!

पहिलो कन्सर्ट अनुभव कस्तो रह्यो? त्यता जानुपहिला पोखरा र काठमाडौँबीचको एउटा संयोगलाई पनि सम्झिहालूँ। काठमाडौँमा व्याप्त उपलब्धतालाई छेउ लगाउँदै लाइभ म्युजिकको पहिलो अनुभव गर्न म पोखरा नै पुगेकी थिएँ। फर्माइस गरी गरीकन विपुल क्षेत्रीका गीतहरू पोखरामा लाइभ सुनेको अनुभव अझै ताजा छ। यो संयोगको निचोड यसरी निकाल्न मन भयो- पहिलोपटक लाइभ म्युजिक सुन्न काठमाडौँ छोडेर पोखरा पुगेकी मलाई पहिलोपटक कन्सर्टको अनुभव दिलाउन 'कन्दरा' पोखरादेखि काठमाडौँ आइपुग्यो! आफ्नो कथामा आफै मुख्य पात्र भइने है?

अर्को कुरा पनि सुटुक्क भनूँ? कन्सर्टको मात्र नभएर कुनै क्लब छिरेको पहिलो अनुभव पनि यही नै रह्यो मेरो। तर, पहिलोपटक छिरेको क्लब नै 'एल.ओ.डी' भनेर मख्ख हुन भने पाइयो। यसअघि न कहिल्यै क्लब, न कन्सर्टको अनुभव। आशंका यस्तो पनि थियो, त्यो भिड र ध्वनिले मलाई तान्नुको सट्टा धकेल्ने त होइन? नभन्दै, छिर्दाछिर्दै तितरबितर भएर एक्लै परेँ। टाउकाहरू देखिन्छन् तर, कुनै पनि टाउकोले चिनेको अनुहार बोकेकै छैन। अब धकेलिने भइनँ त?

त्यसो त अँध्यारो पनि छैन। मेरो कोठाभित्र बल्ने भन्दा कयौँ गुणा ज्यादा बत्तीहरू रङरङका उज्यालो फ्याँकिरहेकै छन्। तर, पनि त्यस उज्यालोमा अनगिन्ती अनुहारबीच परिचित अनुहार पहिल्याउन लगभग असम्भव भइदिन्छ। अब दोस्रो उपाय उही फोन त हो नि! तर, स्टेजमा देवेन्द्र बब्लुले कन्दरालाई 'ह्याप्पी बर्थडे' विस गर्दै रहेछन्। त्यस कन्सर्ट हलको कुनै पनि कुना कन्दरामा लुकेर बोले पनि फोनको पल्लो छेउबाट आएको आवाज फोनसम्म त आइपुग्छ, महसुस हुन्छ। तर, कानसम्म आइपुग्दैन। बुझिँदैन। परेन त फसाद? कसो कसो भएर हो एउटा शब्दचाहिँ बुझिन्छ- भर्‍याङ! भर्‍याङ त दुईतर्फ छन्। दायाँ उक्लूँ कि बायाँ? जे परोस् पहिले बायाँ उक्लिएर हेर्छु।

थोरैबेरको तलासीपछि दुईजना त्यहाँ भेटिन्छन्। उस्तै अलपत्र। 'खोइ त अरू?' भन्दै हामी तीनैजना 'आफ्नाहरू'को थप खोजी गर्छौँ। फोन र एस.एम.एसको सिलसिला चल्छ र हामी तलासीको अन्तिम मिसनमा लाग्छौँ। साथीहरू भेटिने अपेक्षा भने पूरा नभए पनि साथीकै भाइब्स दिने अभिभावकसँग भेट हुन्छ। साथी पनि अभिभावक पनि! आफ्नै मुटुको ढुकढुकी सुन्न छोडेर बल्ल भने कन्दराकै ढुकढुकी सुन्नलाई ज्यान तयार हुन्छ।

अँ साच्चै, नढाँटेरै भन्नुपर्दा कन्दराका गीतहरूमा प्रायजसो म पीडा भेट्टाउने गर्थेँ। 'तगारोमा रुमाल राखी', 'विदेशिएर गइन् उनी', 'माया भयो अमिलो अङ्गुर'... तर, पीडाका गीत सुन्न उत्साहित माहोल देखेर मलाई फेरि कारमिन र डक्टरको २०१५ को फिल्म 'इनसाइड आउट' को सम्झना आइदिन्छ। पीडाका गीत, त्यही पनि धीमा गतिका। कन्सर्टको त्यो भव्य माहोलमा पनि उत्तिकै मीठो सुनिएलान् त जति एक्लै हुँदा ल्यापटपमा घन्काउँदा सुनिने गर्छन्?

उत्साहसँगसँगै पछि लागेर एउटा सन्देह पनि आएको छँदै थियो। तर, जसै 'तगारोमा रुमाल' गुञ्जिन थाल्छ, सन्देह मुख लुकाएर त्यही भिडमा बेपत्ता भइदिन्छ। सिलिङबाट नरोकिएरै खसिरहेका रङ बिरङका कागजजस्तै फुरुङ्ग हुन थाल्छ हृदय। त्यसपछि पहिले कहिल्यै नगरेको अनुभूति जीवनले संगालिदिन्छ- कसैले सुनेर 'जज्' गरिदेला कि भन्ने डरबिना नै हरेक प्रिय गीतहरू हजारौँको भिडमा, त्यो पनि गायकसँगै लाइभ गुनगुनाउनु, हातलाई हावामा बत्तिन छोडिदिनु, खुट्टाहरूलाई भुइँमा उफ्रिन छोडिदिनु! चार घण्टा, हिल जुत्तामा उभिएको मात्र पनि कल्पना गर्न नसक्ने म, चार घण्टा उभिएर नाचेँ-उफ्रिएँ पनि?

भलै घर पुगेपछिको कहानी बेग्लै छँदैछ तर, अन्तिम प्रस्तुतिपछि पनि 'वान्स मोर' भन्न पैताला छेडेर रन्किरहेको दुखाइले पनि किन रोकोस्! र ती दुई शब्द 'वान्स मोर' भन्दै गर्दाको आवाज यस्तो सुनिएको थियो छेडिएर मानौँ त्यो पनि चिरा परिरहेको होस्। यसो भनूँ जीवनको पहिलो कन्सर्ट अनुभव मेरा लागि कन्दराका गीतहरू तुल्य रह्यो। जहाँ पीडा छ, त्यहीँ फेरि आनन्द पनि। रन्किएको पैताला र कन्दराका शब्दहरू। हर्षित मन र कन्दराका संगीत।

अर्को एउटा किस्सा सम्झिहालेँ। एउटी साथी थिई कलेज पढ्दाताका। सधैँ आँखामा गाजल र आइलाइनर लगाएर आउने गर्थी। एकदिन रित्तै आँखा सुन्निएका लिएर आई। चासो गर्दा थाहा पाएँ, दिदीबहिनी मिलेर क्लब गएको थाहा पाउँदा दाइचाहिँले पिट्नु पिटेर पठाएका रहेछन्। दाइको भनाइ रहेछ- जस्ता पनि मान्छे हुन्छन् क्लबमा, त्यता नगएकै भलो! त्यसो त न मेरो पिट्ने दाइ, न त क्लब गइदिऊँ भनेर उकास्ने दिदीबहिनी। यसर्थ, डर नहुँदैमा क्लब गइने पनि त होइन रहेछ। क्लब जान त दिदीबहिनी चाहिनेरहेछ- अर्को शब्दमा भन्नुपर्दा उकास्ने कोही।

जे होस्, योपटक उकास्ने कोही भेटेँ। संगीतप्रेमी र कन्दराको ठूलो फ्यान- प्रभाकर गौतम दाइ। दाइले झण्डै एक वर्षअघि पनि कन्दराकै रिहर्सल देखाउन लग्नुभएको मलाई याद छ। त्यस हिसाबले कन्दराको रिहर्सलदेखि कन्सर्टसम्मको साक्षी हुन पुगेकी रहिछु। दाइलाई धन्यवाद भन्न पनि यति त लेख्नैपर्थ्यो मैले। तर म त, साथीको पिट्ने दाइको कुरा पो गर्दै थिएँ।

साथीको दाइले भन्थे- क्लबतिर जस्ता पनि मान्छे हुन्छन्। कन्सर्ट सकिएर फर्किएपछि एकजना साथीले मलाई सोधे- कस्ता थिए कन्सर्टमा मान्छेहरू? यो प्रश्नपछि बल्ल मैले विचार गर्न भ्याएँ। कन्दराको कन्सर्टमा वल्लो भर्याङदेखि पल्लो भर्याङ, ग्राउन्डदेखि बालकोनीसम्म परिचित अनुहार खोज्ने निहुँमा हेरेका तमाम अनुहारहरू। कतिको ओठमाथि जुंगाको रेखी बस्न मात्र भ्याएको थियो। कतिको कपाल सेतै हुन थालेको। अल्लारे, वयस्कदेखि प्रौढसम्म। महिला र पुरुषको सङ्ख्यामा पनि उल्लेख्य अन्तर थियोजस्तो लाग्दैन। र सबैभन्दा सुन्दर कुरा त त्यस चार घण्टाको अवधिमा न कुनै असजिलो हेराइसँग आँखा जुध्यो। न त कुनै सामान्यभन्दा सामान्य गलौजको भाषा नै कानमा ठोक्कियो। बरु, आफ्नो बगलमा मैले एउटा आमा र छोराको जोडीलाई साक्षात्कार गरेँ। भर्खरै बालिग मात्रै हुँदै गरेको छोरो र प्रौढ हुन अटेर गरिरहेकी आमा। आमा र छोरा पुरानाभन्दा पुराना गीतहरू चिच्याउँदै एकसाथ गाइरहेका।

त्यसो त मैले पनि कन्दराका गीतहरू मेरो बुवाले बजाउँदा नै सानै उमेरदेखि सुन्दै आएकी हुँ। कति गीतहरू स्कुले साथीहरूले गाएर सुनाएपछि सुनेकी हुँ। जे होस्, कन्दराको कन्सर्टमा एउटा पारिवारिक माहोल थियो। नेपाली लोक संगीतका अग्रजहरूलाई सम्झिँदै, आफ्ना नयाँ-पुराना कोसेली बाँड्दै र नयाँ पुस्ताको लागि समेत ठाउँ बनाउँदै ब्याण्डले आफ्नो ३२औं वार्षिकोत्सव मनायो। र फर्किएर त्यस रातलाई सम्झिँदा अपनत्व, नोस्टाल्जिया र सादगी कन्दराले दिने खास अनुभूतिहरू रहेछन्।

घरदेशबाट सुरु भएर परदेशतिरको यात्रामा अग्रसर कन्दराले जसरी आफ्नो संगीत यात्राको नयाँ अध्यायमा इलाम र डोटीलाई भेट गराएको छ त्यसले भौगोलिक र सांस्कृतिक रूपमा हरेक नेपालीलाई एकै ठाउँ बाँधिएको महसुस गराउनेछ। कन्दराले यसैगरी आफ्ना अर्गानिक गीतहरूका माध्यमबाट हामी स्रोताहरूलाई देशका कुना कुना डुलाइरहोस्। अनि यिनै गीतहरू लिएर विश्वका कन्दरा कन्दरामा नेपाललाई पनि पुर्‍याइरहोस्। चार घण्टा लामो उभ्याइको कथा यो बसाइलाई यति नै!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad