ad ad

ब्लग


चीन देखेपछि बुझेको कुरा : जरुरी छ मुलुक सापेक्ष व्यवस्था र ‘कन्ट्रोल एन्ड कमान्ड’

चीन देखेपछि बुझेको कुरा : जरुरी छ मुलुक सापेक्ष व्यवस्था र ‘कन्ट्रोल एन्ड कमान्ड’

जीवराम भण्डारी
जेठ ३१, २०८१ बिहिबार १६:५८, काठमाडौँ

जनवादी गणतन्त्र चीन नेपालको सीमा जोडिएको छिमेकी देश। संसारको हरेक हिसाबले दोस्रो शक्तिशाली र प्रथम हुने संघारमा पुगेको छिमेकी। भाषाको कारण निकै कठिन, सांस्कृतिक हिसाबले सहज मानिने। यी यावत् कारणले चीनको महत्त्व हामीलाई कति छ, सहजै अनुमान लगाउन सकिन्छ। 

यो छिमेकी शक्तिशाली भएको कारण नेपालजस्तो कमजोर राजनीतिक, प्रशासनिक र अरु निकायलाई प्रयोग गरेर बैरीहरूले दुरुपयोग गर्लान् कि भन्ने चीनको चिन्ता बुझ्न सकिने खालको थियो।

जुनबेला नेपाल भारतमा निर्भर थियो, त्यसबेलासम्म नेपाल–चीन कूटनीतिक सम्बन्ध कायम हुन सकेको थिएन। उसबेलाका जानकार भन्छन् ‘नेपाली शासक डराउँथे।’ विसं २००७ सालको राजनीतिक परिवर्तनपछि राजा महेन्द्रले तत्कालीन कूटनीतिक व्यक्ति र विश्वासपात्रहरू नरप्रताप थापा र सरदार गुञ्जमान सिंहलाई चीनसँग सम्बन्ध कायम गर्न प्रयोग गरेको इतिहासमा पढ्न पाइन्छ। 

नरप्रताप थापालाई सन् १९५३ सालमा कलकत्ता, रङ्गुुन हुँदै युरोपतिर पठाएको जस्तो गरी राजा महेन्द्रको चिट्ठी लिएर माओ चेतुङ र चाउ एनलाइलाई भेटेर चिट्ठी बुझाएको परिणाम सन् १९५५ मा नेपाल र चीनबीच सरकारी तवरमा दौत्य सम्बन्ध कायम भएको रहेछ। जनवादी गणतन्त्र चीनसँग दौत्य सम्बन्ध कायम गर्ने बेला नेपालमा कोही प्रधानमन्त्री नभएको संयोग परेको रहेछ। यसले पनि राजा महेन्द्रलाई धेरै काम गर्न सहज भएको अनुमान लगाउन सकिन्छ। 

गजब संयोगको कुरा, असंलग्न शिखर सम्मेलन वाङडुङमा नेपाल सदस्य हुँदा, राष्ट्रसंघको सदस्य हुँदा र जनवादी गणतन्त्र चीनसँग दौत्य सम्बन्ध कायम गर्दा नेपालको कोही पनि प्रधानमन्त्री रहेनछन्, राजा महेन्द्रको नेतृत्वमा मात्रै राज्य सञ्चालन भएको रहेछ। सायद नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध बिस्तार र नेपालको छवि अन्तर्राष्ट्रिय जगतमा थप फैलाउन सहायक भएको जस्तो अनुमान लगाउन सकिन्छ।

त्यसअघिको इतिहास सम्झिँदा विसं २००७ सालको राजनीतिक परिवर्तनपछि राणा र कांग्रेसको सरकार बन्यो। त्यो बेला राजदरबार भारतीय प्रतिनिधि प्रा. गोविन्दनारायण सिंहले र सिंहदरबार चाहिँ अर्का भारतीय प्रतिनिधि चन्द्रेश्वरप्रसाद सिन्हा (सीपी सिन्हा) ले हेर्ने गरेको र मन्त्रिपरिषद् (क्याबिनेट) बैठक मा पनि बस्ने गरेको इतिहास छ।

यो नेपाली भावना प्रतिकूल भएकोले चीन लगायत अरु देशसँगको दौत्य सम्बन्ध नेपालका लागि जरुरी ठानेर नै राजा महेन्द्रले कायम गरेको सहजै बुझ्न सकिन्छ। प्रधानमन्त्रीका रुपमा पहिलो चीन भ्रमण टंकप्रसाद आचार्यले गरेको इतिहास छ। सन् १९५६ सेप्टेम्बरमा नेपालले राष्ट्रसंघमा चीन र जापानलाई राष्ट्रसंघको सदस्य नबनाए राष्ट्रसंघको महत्त्व कम हुने तत्कालीन परराष्ट्रमन्त्री चुडाराज शर्माले भनेका रहेछन्। उनको नेतृत्वमा नेपालले राष्ट्रसंघको प्रतिनिधित्व गरेको थियो।

तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाले पनि भारतपछि चीनको भ्रमण गरे। थप नेपाल–चीन सम्बन्ध बिस्तारको काम गरे। बीपीको चीन भ्रमणमा सीमा समस्या टुंगोमा पुर्‍याउन दुई देशको संयुक्त आयोग बन्यो। त्यसपछि आयोगको चारवटा बैठक बस्यो। दुईवटा बेइजिङमा र दुईवटा बैठक काठमाडौँमा बसेपछि सीमाको सवाल टुंगो लाग्यो। 

नेपालका तर्फबाट राजा महेन्द्र र चीनका तर्फबाट ल्यु साओ चीबीच हस्ताक्षर भई सन् १९६१ अक्टोबर ५ मा नेपाल–चीनबीचको पश्चिम उत्तरको १ स्थानबाहेक सबै सीमाको विवाद टुंगियो, सगरमाथा सहित। भनिन्छ, नेपाल–चीनको सीमा समस्या समाधान गर्न प्रधानमन्त्री टंकप्रसाद आचार्यले छोए, अर्का प्रधानमन्त्री बीपीले कोट्याए, राजा महेन्द्रले टुंगोमा पुर्‍याउने काम गरे। नेपाल फर्केपछि राजा महेन्द्रले काठमाडौँ खरिबोटमा नेपाल–चीनबीच सगरमाथासहित सीमा विवाद टुंगो लागेर सम्झौता हस्ताक्षर भएको घोषणा गरे।

नेपाल–चीन सम्बन्ध विस्तारमा शौभाग्यजंग थापा, यदुनाथ खनाल, रामप्रसाद मानन्धर, पदमबहादुर खत्री, नरप्रताप थापा, गुञ्जमान सिंह लगायतको अहम् भूमिका देखिन्छ। राजा वीरेन्द्रले १० पटक चीन भ्रमण गरेछन् भने पछिल्लो राजनीतिक परिवर्तनपछि पनि नेपाल–चीन भ्रमणको आदानप्रदान जारी छ। 

चीनका राष्ट्रपति सी चिन फिङको नेपाल भ्रमण, नेपालका प्रधानमन्त्रीको चीन भ्रमण र राष्ट्रपति, उपराष्ट्रपति तथा कयौँ मन्त्री तथा शासक, प्रशासकहरूको भ्रमणले दुई देशलाई झन् नजिक पुर्‍याउने काम गरेको छ। 

चीन देखेपछि पछिल्लो समयमा नेपालमा कयौँ मानिसहरू चीनबारे भ्रम सिर्जना गर्न प्रेरित भएको हामीले बुझ्यौँ। किनभने जब चीनको यात्रा तय गर्‍यौँ, त्यहाँको समृद्धि र मानिसको व्यस्त जीवन, काममा सक्रियताले यही सन्देश हामीलाई दियो। पछाडि परेको भनिने तिब्बतदेखि हान्जाओ हुँदै बेइजिङसम्मको यात्राले हामीलाई के पनि महसुस गरायो भने मुलुक सापेक्ष व्यवस्था र ‘कन्ट्रोल एन्ड कमान्ड’ जरुरी रहेछ।

जबसम्म मुलुकमा विदेशी घुसपैठ र प्रत्यक्ष वा अप्रत्यक्ष वैदेशिक हस्तक्षेप रोक्न सकिन्न, तबसम्म मुलुकको विकास असम्भव हुने रहेछ। चीनले यही काम छोटो समयमा गरेर देखायो। 

नेतृत्व, नीति र मुलुक अनुसारको व्यवस्था जरुरी रहेछ। अर्काको नक्कलले मुलुकको विकास हुँदैन। गरिब छिमेकी खतरनाक हुन्छन्, यसकारण छिमेकी समृद्ध गर्ने र सबै राजनीतिक विचार राख्नेसँग सुसम्बन्ध कायम गर्न चीनको भूमिका अपेक्षित पनि ठानेँ। हाम्रो इतिहास नेपाल–चीनबीच नमेटिने स्थायी सम्बन्धको आधार हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .