म गत शुक्रबार मोटरसाइकलमा माइतीघरतिरबाट ज्ञानेश्वर पुगेको थिएँ। ज्ञानेश्वरमा एकतर्फी बाटो रहेछ। मलाई थाहा थिएन, तल पुगिसकेपछि घुम्नु पर्ने रहेछ। सबै जना घुमेको देखेर घुमेँ। तर एकतर्फी बाटोमै पुगेछु। अलिक अगाडि बढेपछि ट्राफिकले रोकेर चिट काट्नु भयो।
मैले सोधेँ, ‘कहाँ जानुपर्छ सर लाइसेन्स लिन?’
उहाँले मालिगाउँ आउनु भन्नु भयो। चिटमा पनि त्यही लेखिदिनुभयो।
एकदुई दिन त्यत्तिकै भयो। हिजो मालिगाउँ पुगे पनि बिदा भएकाले काम भएन। आज पनि कार्यालय समय सुरु हुनासाथ मालिगाउँ पुगेको थिएँ। यहाँ तपाईंको लाइसेन्स छैन, बग्गीखाना (उपत्यका ट्राफिक प्रहरी कार्यालय) गइसकेको छ भने। मलाई बग्गीखाना जानु भनेपछि म ११ बजेतिर त्यहाँ पुगेँ।
म पहिले पनि एकपटक ट्राफिक कारबाहीमा परिसकेको थिएँ। यसपटक पनि त्यस्तै कारबाही गर्ने होला भन्ने लागेको थियो। म पुग्दा भित्र हलमा कक्षा सञ्चालन भइरहेको थियो। अर्को टिम भित्र भएकाले एक घण्टाजति पर्खिनु पर्यो।
एक घण्टा पर्खेपछि भित्र पालो आयो। भित्र गइसकेपछि प्रहरीले नाम टिप्न थाले। प्रशिक्षकले भने– ‘आजदेखि हामीले ट्राफिक कारबाहीमा परेकालाई स्वयंसेवकमा खटाउन सुरु गर्दैछौँ। गृहमन्त्रीको आदेश अनुसार हामीले सुरु गर्न लागेका हौँ। आज एक दिनको लागि तपाईंहरू ट्राफिक प्रहरी।’
हामीलाई खटाउने ठाउँमा ट्राफिक प्रहरीले नै लैजाने र चारपाँच ठाउँमा परिचालन गर्ने भनियो। माइतीघर मण्डल, सिंहदरबारको पश्चिमगेट, पुतलीसडकतिरका चोकमा खटाउने भनिएको थियो।
हाम्रो २० जनाको टोलीलाई पनि ट्राफिक भोलेन्टियर लेखिएको ज्याकेट वितरण गरियो। त्यसपछि ट्राफिक प्रहरी कार्यालयबाट हामीलाई लाइन लगाएर हिँडाउँदै माइतीघर मण्डलतिर लगियो। माइतीघर मण्डलका जेब्राक्रसमा हामीलाई ४/४ जनाका दरले खटाइयो। एउटै जेब्राक्रसमा एकतिर चार जना र अर्कोतर्फ चार जना खटाइएको थियो।
तर हामीलाई केही सिकाइएको थिएन। त्यहाँ पुगेपछि के गर्नु पर्ने भन्ने पनि थाहा थिएन। हामीलाई जेब्राक्रसमा छाड्ने बेलामा अब यहाँ मान्छे आउन नदिनू र गाडी रोकेको बेला मात्रै क्रस गर्न भन्नू भनिएको थियो। हामीलाई त अनुभव थिएन। हामीलाई त टाइम पास मात्रै भइरहेको थियो। रोकरोक भन्यो भने ८ जनाले नै हात हल्लाउने हो, जा जा भन्यो भने पनि ८ जनाले नै हात हल्लाउने हो।
ज्याकेट वितरण गर्दा २५ मिनेट भनिएको थियो, फिल्डमा पुगेपछि हामीलाई १५ मिनेटपछि बग्गीखानापट्टि जम्मा हुनु भनिएको थियो। गएको र आएको समयसहित मिलाइएको होला सायद।
१५ मिनेट चोकमा गएर हात हल्लाइयो आइयो, त्यही भयो आज।
मापसेमा परेकाहरूले भने हिजो नै थाहा पाइसकेका थिए। तर हामी अन्य कारबाहीमा परेकाले पनि यस्तो काम गर्नु पर्ने भन्ने थाहा थिएन।
अर्को कुरा त यो यसरी ट्राफिक कारबाहीमा परेकाहरूलाई स्वयंसेवक खटाउन आवश्यक पनि होइन र व्यावहारिक पनि छैन। दिनमा कति जनालाई खटाउने? निकै अव्यवस्थित थियो।
स्वयंसेवक भनेको कसैलाई कारबाही गरेर तिमी स्वयंसेवक बन्नुपर्छ भन्ने कुरा पक्कै होइन। स्वयंसेवा भनेको त आफ्नो मनदेखि नै आउनु पर्यो नि। बरु एउटा मापदण्ड बनाएर इच्छुकले आवेदन दिनु भनेर फारम भरायो भने म पनि दिनभरि बसौँला। फुर्सद भएको दिन जाउँला, रमाइलो पनि हुन्छ, सिकिन्छ पनि। त्यसरी दिनभरि गरियो भने केही प्रगति होला नभए यो त देशलाई आर्थिक भार मात्रै हो जस्तो लाग्यो।
हामीलाई पुर्याउन पनि ट्राफिक खट्नै पर्यो। बाख्रा चराएर ल्याएजस्तो लैजाऊ, खटाऊ, ल्याऊ। अफिसमा लगेपछि फेरि अर्को लट लिएर जाऊ, यो व्यावहारिक भएन।
यो त एक दिन रमाइलो जस्तो मात्रै लाग्यो मलाई त। न यसले ट्राफिक व्यवस्थापन हुन्छ। झनै भद्रगोल भयो। भइरहेको ट्राफिकले पनि आफ्नो सुरले काम गर्न पाएनन्, अन्योल भयो।
यसमा खटिने भनेको त ड्राइभर पनि हो। ड्राइभरले त सामान्य ट्राफिक नियम मात्रै जानेको हुन्छ। उसलाई धेरै कुरा थाहा हुँदैन। चोकमा बसेर के गर्नुपर्छ? कसरी संकेत गर्नुपर्छ भन्ने उसलाई आउँदैन। त्यही भएकोले मलाई यो त्यति व्यावहारिक लागेन।
गृहमन्त्री त्यत्तिकै पाइने पद होइन। गृहमन्त्रीले आफ्नो पद र समयलाई सही तरिकाले प्रयोग गर्नुहोला। आफ्नो छोटो कार्यकाल परीक्षणमा नबिताउनु होला। यो गर्दा पो हुन्छ कि, त्यो गर्दा पो हुन्छ कि भनेर कार्यकाल नबितोस्। यही कुरालाई पनि यसरी भद्रगोल पाराले होइन सबै व्यवस्थापन मिलाएर गरेको भए राम्रो हुन्थ्यो।
यसका लागि पहिले अध्ययन गर्नु पर्थ्यो। यसरी कारबाहीको भागिदार भएर होइन, आवश्यकताले दिनभरि नै स्वयंसेवक बन्नुपर्छ भने पनि म तयार छु। खाली भएको बेला आउनु भन्दा हुन्छ, केही समस्या हुँदैन। तर यस्तो व्यवस्थापनले त हुँदैन। १५ मिनेटमा के स्वयंसेवा गर्ने? ल्याउने र लाने मात्रै भयो। गृहमन्त्रीज्यू अलिक परिपक्व तरिकाले काम गर्नुहोला।
त्यहाँबाट फर्किएपछि हामीलाई हलमा लगियो र स्वयंसेवाका लागि धन्यवाद दिइयो। केही जिज्ञासा गुनासो भए कोठा नं ४ मा जान भनिएको थियो। मैले त्यहाँ केही पनि गुनासो गरिनँ, यही हो मेरो कुरा।
Shares
प्रतिक्रिया