मेरो जन्म बाग्लुङमा भयो। मेरो बाल्यकाल बेनी बजारमा बित्यो। बुवा आमा दुवै सरकारी जागिरे। म हुर्केने बेलातिर बेनीको माहौल पढ्ने खालको खासै थिएन। केटाहरू एसएलसीअघि नै लाहुरे बनिसक्थे। केटीहरू विवाह गरेर गरजम गर्थे। छोराछोरीलाई लिएर आम अभिभावकले देख्ने सपना पनि त्यही नै थियो। यही परिस्थितिमा मेरो बुवाआमाले भने हामी छोराछोरीको शिक्षामा जोड दिनु भयो।
म पनि स्कुलको पढाइ बुवा–आमाका लागि हो भन्ठान्थेँ। तर, मेरो पढाइ राम्रो थियो। सधैँ स्कुल टप हुन्थेँ। त्यसबेला मेरो चर्चा गाउँभरि हुन्थ्यो। सबैले जिन्दगीमा यो केटीले चाहिँ केही गर्छे भन्थे। मलाई लिएर मेरो परिवार तथा शिक्षकहरूका सपना थिए। उनीहरू मलाई डाक्टर बनाउन चाहन्थे। त्यतिबेला मलाई लाग्थ्यो, मेरा आफन्तले देखेको सपना नै मेरो आफ्नो सपना होला। तर, होइन रहेछ। म डाक्टरभन्दा अरु नै केही बन्न जन्मिएकी रहेछु। मैले यो कुरा एसएलसी दिनुभन्दा अघिल्लो वर्ष महसुस गरेँ।
बेनीको बाटो हुँदै थुप्रै हिमाल आरोहीहरू जान्थे। उनीहरूका लागि बेनी बिसौनी थियो। उनीहरू हिमालको सुन्दरताका कथा भनिरहन्थे। म हिमालको कथा सुन्दै डाक्टर बन्ने सपना बोकेर हुर्किएँ। उनीहरूका कुरा सुन्दा मलाई लाग्थ्यो, त्यो हिमालपारि के होला?
कक्षा ९ मा पढ्दै थिएँ, एकजना १५ वर्षको केटो सगरमाथा चढ्न गयो। उसलाई सबैभन्दा सानो उमेरमा सगरमाथा चढ्ने मान्छेको रेकर्ड बनाउनु थियो। त्यतिबेला लाग्यो, म पनि हिमाल चढ्छु। मलाई पनि सगरमाथा चढेर रेकर्ड बनाउन मन थियो। मैले यो मन परिवारलाई बताउन सकिनँ। मनमा चाहिँ म कुनै दिन जुनसुकै हिमाल भए पनि चढ्छु भन्ने थियो।
एसएलसीमा मेरो सोचेको जस्तो रिजल्ट आएन। तर, आफ्नाले देखेको डाक्टरीको भूतले मलाई पछ्याउन छोडेन। त्यसपछि काठमाडौँको एनआईसी कलेजमा विज्ञान विषय लिएर प्लस टु गरेँ। मेरो ब्याचको म कलेज टपर हुँ। एमबीबीएस पढ्नका लागि छात्रवृत्ति पाएँ। एमबीबीएस पढ्न सुरु गर्नुअघि नै विभिन्न कलेज टपरहरूको भीड थियो। मलाई लाग्यो, ‘के अब्बल विद्यार्थी सबैले डाक्टर, इन्जिनियर नै बन्नु पर्छ र?’
एकदिन मलाई मामाले वातावरण विज्ञान पनि पढ्नका लागि राम्रो विषय हो भन्नु भएको थियो। आफैँभित्र जन्मिएको प्रश्नसँगै मैले वातावरण विज्ञानबारे बुझ्न थालेँ। यो काम मैले एमबीबीएसको छात्रावृत्तिको तयारीसँगै गरेकी थिएँ। एमबीबीएस पढ्न शिक्षा मन्त्रालयको पूर्ण छात्रवृत्तिमा नाम निस्कियो। परिवार खुसी थियो। म खुसी हुन सकिनँ। यतिबेलासम्म मैले वातावरण विज्ञान पढ्ने अठोट गरिसकेको थिएँ।
सुरुमा त परिवारलाई भन्नै मुस्किल थियो। अन्तिम अवस्थामा बुवालाई फोनमा भनेँ। सुरुमा केही नराम्रो माने पनि उहाँले मलाई वातावरण विज्ञान पढ्नका लागि सहज बनाइदिनु भयो। त्यसपछि मैले एमबीबीएसको सरकारी पूर्ण छात्रवृत्ति त्याग्दै महँगो शूल्क तिरेर काठमाडौँ विश्वविद्यालयमा वातावरण विज्ञान पढ्न सुरु गरेँ।
चार वर्ष सबै जोड पढ्नमा लगाए। विश्वविद्यालयबाट २५ प्रतिशत छात्रवृत्ति पनि पाए। विश्वविद्यालयकै सेकेन्ड टपर बनेपछि राष्ट्रपतिबाट छात्रातर्फ विद्या पदक पाएँ। नर्वे सरकारको छात्रवृत्ति कार्यक्रममा एक नम्बरमा छनोट भएँ। विश्व वन्यजन्तु कोषको चन्द्र गुरुङ मेमोरियल फेलोसिप पनि पाए। सन् २०११ मा नर्वेको युनिभर्सिटी अफ बर्गेनबाट जैविक विविधता र वातावरण व्यवस्थापनमा स्नातकोत्तर सकेपछि नेपाल फर्किए।
त्यसपछि वातावरणका क्षेत्रमा काम सुरु गरे। वातावरण संरक्षणका लागि मैले प्लास्टिकका झोला प्रतिबन्ध गर्ने नीति ल्याउनेदेखि युवाहरूलाई वातावरणको काममा जोड्ने काम गरेँ, सामाजिक उद्यमशीलतामार्फत १३००-१४०० भन्दा बढी दिदीबहिनीहरुलाई नेपालमै हरित रोजगार दिने काम गरे, अहिले अभ्नी भेन्चर्स नामक फोहोर व्यवस्थापन कम्पनी पनि सञ्चालन गरिरहेकी छु। वातावरणकै क्षेत्रमा काम गर्ने क्रममा सन् २०२१ मा मैले हिमालसंग प्रत्यक्ष जोडिएर काम गर्ने अवसर पाए।
बाहिरबाट ग्ल्यामरस देखिने हिमाल आरोहण सोचेजति ग्ल्यामरस रैनछ भन्ने बुुझेँ। जलवायु परिवर्तनको कुरा गर्दा हिमालबाट सुरु हुन्छ। सबैभन्दा पहिले हिमाल तातिरहेको छ, हिमाल पग्लिरहेको छ। हिमालको औसत तापक्रमभन्दा दुई गुणा बढी तापक्रम मापन भइसकेको छ। हिमाली जिल्लाहरु पानीको समस्याका कारण त्यहाँबाट बसाइसराइ गरिरहेका छन्।
हामीले २०१२ मा २० हिमाली जिल्लामा गरेको अध्ययनले नै के देखाएको थियो भने २० मध्ये १९ जिल्लामा पानीको समस्या सुरु भइसकेको थियो। त्यति बेलादेखि नै त्यहँका मानिस जलबायु शरणार्थी हुुने क्रम सुरु भइसकेको थियो। सन् २०१३/१४ तिरबाटै हिमालमा फोहोरका समस्यालाई लिएर समाचार आउन थालेका थिए। पर्वतारोहणसँग सम्बन्धित नेपालीहरुले ती समाचारलाई विदेशीहरुले नेपालीको बेइज्जत गर्न यस्ता समाचार बनाएको भन्थे। मलाई पनि हिमाल सफाई अभियानमा प्रत्यक्ष काम नगर्दासम्म हिमालमा कुुन मात्रामा र किन फोहोर थुुप्रिरहेको छ भन्ने कुुरा थाहा थिएन।
जब काम गरेँ, त्यहँको फोहरका बारेमा जानकारी भयो। यस क्षेत्रमा मजदुुरी गर्ने हाम्रा दाजुुभाई दिदीबहिनीका आफ्नै दुुखका कथा छन्। ती कुनैदिन खोतल्दै जाउँला। तर, जलवायु परिवर्तको असर र दिनहुँ बढिरहेको हिमाल आरोहीको संख्याका कारण हाम्रा हिमालहरु झन्झन् छिटो पग्लिरहेका छन्। हिमालमा जानेहरुले लगेका फोहोर उतै छाडेर आइरहेका छन्।
हिमाल आरोहण गर्न जानेहरुले दिनको ४ हजार लिटर पिसाब हिमालमा फेर्छन्। त्यही मात्रामा दिसा गर्छन्। त्यसले पनि हिमाललाई दूषित पार्दै लगेको छ। नेपाली सेनाको नेतृत्वमा हुने हिमाल सफाइ अभियानमा लागेर काम गर्दै गर्दा थाहा भयो- हिमालमा भएको फोहर सफा गर्नु असाध्यै महँगो र जोखिमयुुक्त रहेछ। हिमालको फोहर काठमाडौँ ल्याउँदा प्रतिकिलो ५ हजार रुपैया खर्च लाग्दोरहेछ।
बाहिरबाट हिमालले जति कमाइ गरिरहेको छ भनेर भनिएको छ त्यो कमाइले राज्यलाई कुनै योगदान गरेको छैन। नेपालले हिमाल बेचेर यति कमायो भनेर केही लाखको समाचार बन्छ तर हिमाल कसैको मृत्यु भयो भने एउटा लास ल्याउन राज्यको करोड खर्च लाग्छ। त्यही पनि ल्याउन निकै गाह्रो छ।
नेपालका लागि हिमाल आरोहण घाटाको व्यापार हो। हिमालमा भएको केही फोहर निकाल्न राज्यको अहिलेसम्म ५० करोड खर्च भैसक्यो। यही स्पिडमा हिमालको फोहर निकाल्ने हो भने अहिले जम्मा भएको फोहर निकाल्नै सय वर्ष लाग्छ। हिमालमा काम गर्दै गर्दा मलाई थाहा भयो- हामिले हिमाल कौडीको भाउमा बेचेर भविष्यको पानी सकिरहेका रहेछौँ। मन्दिरभन्दा पनि पवित्र ठाउँ, हाम्रो खाने पानीको ट्याङ्कीमा गएर हामी दिसा-पिसाब गरिरहेका छौँ, फोहोर गरिरहेका छौँ।
यो थाहा पाएसँगै मेरो हिमालहरु चढ्ने सपना सकियो। १३ वर्षको उमेरमा देखेको हिमाल चढ्ने सपना अब मेरो सपना रहेन। अब मलाई कसैले सित्तैमा सगरमाथाको टुप्पोमा बोकेरै पुर्याउँछु भने पनि अब म जान्नँ। हामीले हिमालमा बढीभन्दा बढी मान्छे ल्याएर पैसा कमाउने सपना देखिरहेका छौँ। तर, कसरी कम मान्छे लाने र बढी पैसा कमाउने भन्नेतिर हाम्रो अध्ययन हुनु जरुरी छ।
विश्वका अन्य देशले प्राक्टिसमा ल्याइसके, नेपालले पनि ६ हजारभन्दा माथिको हिमाल चढ्न रोक लगाउनुपर्छ। सबैभन्दा ठूलो कुरा जुन कम्पनीले हिमालमा लास र फोहोर छोडेर आएका छन् त्यो फिर्ता ल्याउने जिम्मा उनीहरुकै हुनुपर्छ। नेपालका थुप्रै ठाउँमा पानीको समस्या सुरु भैसकेको छ। अहिले नै हामीले केही नगर्ने हो भने हाम्रो नाती पुस्ताको चिन्ता पानी मात्रै हुने छ।
उनीहरुले के पढौँ, कहाँ गएर कस्तो करिअर बनाऊँ भनेर सोच्न पाउने छैनन्। उनीहरुको एउटै चिन्ता हुने छ- पानी कहाँबाट ल्याऊँ–खाना कहाँबाट ल्याऊँ। म एक्लैले भन्दा यो सम्भवजस्तो देखिँदैन। तर मलाई के विश्वास छ भने मजस्तो, हामीजस्तो १ लाख जनाले यही चेतना बाँड्ने हो भने यो पक्कै सम्भव छ। हाम्रो आँखैअगाडि, हाम्रो अघिल्लो पुस्ताले बागमतीको डेथ गराएर छाड्यो।
यदि हामीले अहिले नै केही गरेनौँ भने हाम्रो पानीको स्रोत, हाम्रा हिमालहरु त्यही स्थितिमा पुग्छन्। हाम्रा हिमालहरुलाई दोस्रो बागमती बनाउने छुट हामीलाई छैन।
(नेपालखबरकर्मी राधिका अधिकारीसँग आचार्यले गरेको कुराकानीको सम्पादित अंश)
Shares
प्रतिक्रिया