भाषा मनका कुरा अरूलाई व्यक्त गर्ने माध्यम हो। यो मौखिक, लिखित र साङ्केतिक हुन्छ। यसलाई बोलिचालीको भाषा, लेखपढको भाषा भनेर पनि बुझ्ने गरिन्छ। हामीले बोल्ने र लेख्ने भाषा शुद्ध, स्पष्ट र मिठासपूर्ण हुनुपर्दछ। भाषा द्विअर्थी हुनुहुँदैन। अस्पष्ट, गोलमाल र घुमाउरो भाषाले सुन्ने र पढ्नेलाई अलमल्ल पार्ने हुन्छ। भाषाले संभ्रम सिर्जना गर्नु हुँदैन।
भाषाको प्रयोग गर्दा अनावश्यक शब्दको प्रयोग गर्ने, चलनचल्तीका भन्दा फरक शब्दको प्रयोग गर्ने, व्याकरणीय नियमको अनुसरण नगर्ने, भाषामा गलगाँड लगाउने जस्ता कारणले भाषा जटिल बन्न जान्छ। लोक कथा सुनाउँदा सबै मोहित हुने, एकपटक भन्दा सबैलाई कथा कण्ठ हुने किन भएको होला? सम्भवत: लोक कथामा प्रयोग हुने भाषाशैलीको सरलता, जनजिब्रोका शब्दको प्रयोग, जीवनशैलीका विषयवस्तु आदिको कारण नै सबैले बुझ्ने र ग्रहण गर्ने भएको होला।
विश्वमा प्रयोग हुने जुनसुकै भाषाका आ-आफ्नै नियम, संरचना, व्याकरणीय सूत्र, लवज आदि हुन्छन् नै। यी विविध विषय भाषाविज्ञानका अध्ययनका क्षेत्र हुन्। सबै भाषाको सर्वमान्य सिद्धान्त के हो भने भाषा सरल, शुद्ध, स्पष्ट र बोधगम्य हुनुपर्दछ। भाषाको प्रयोग शालीन तवरले गरिनुपर्दछ। भाषा चाहे कथ्य होस् वा लिखित होस्, शुद्ध हुनै पर्दछ। यसो भएन भने अर्थको अनर्थ हुनजान्छ। भनाइ र गराइमा फरक हुनजान्छ। भाषाको गलत प्रयोग हुन गयो भने बोल्ने वा लेख्नेले एउटा कुरा बोलेको वा लेखेको हुन्छ, सुन्ने वा पढ्नेले अर्कै कुरा बोध गर्छ। यसबाट प्राप्त हुने नतिजा अपेक्षाकृत नहुन सक्छ। यसै सन्दर्भमा एउटा रोचक कथालाई उदाहरणको रूपमा लिन सकिन्छ।
धेरै वर्षपहिलेको कुरा हो। स्वर्णपुर नामक देशमा लक्ष्मीनन्द नामका राजाले राज्य गर्दथे। त्यसदेशका जनता सबै सुखी र समृद्ध थिए। राजाको त झन् धनदौलतको कुरा गरी साध्यै थिएन। धर्म, कर्म, रीतिथिति, संस्कारको खुब संरक्षण र प्रवर्द्धन गरिएको थियो। ज्योतिषशास्त्रको विकास पनि खुव भएको थियो। त्यसदेशमा ठूला ठूला ज्योतिषहरू थिए। ती ज्योतिषहरूले मानिसको भूत, वर्तमान र भविष्य बताउने गर्दथे।
एकदिन राजाले त्यसदेशमा एकजना युवा ज्योतिषको भविष्यवाणी ठ्याक्कै मिल्ने, उनले भनेको कुनै कुराको फरक नपर्ने गरेको कुरा सुने। राजालाई पनि ती युवा ज्योतिषलाई दरबारमा बोलाएर आफ्नो भूत, वर्तमान र भविष्य देखाउने विचार जाग्यो। उनले आफ्ना सैनिकलाई ती युवा ज्योतिषलाई दरबारमा हाजिर गराउन आदेश दिए। सैनिक जवान राजाको आदेशानुसार ती युवा ज्योतिष भएको गाउँमा गए र राजाले बोलाएको कुरा बताई ज्योतिषलाई लिएर आए।
ज्योतिषलाई राजाले दर्शनभेट दिए र भने- मैले तपाईंको बारेमा धेरै सुनेको छु। तपाईं हात हेरेर भूत, वर्तमान र भविष्य बताउन सक्नु हुन्छ रे। त्यतिमात्र होइन, तपाईंले गरेको भविष्यवाणी अहिलेसम्म ठ्याक्कै मिलेको छ रे, कुनै पनि गल्ती भएको छैन रे। त्यसैले तपाईंलाई यहाँ बोलाएको हुँ। मेरो हात हेरेर मेरो भूत के थियो, वर्तमानको अवस्था के हो र भविष्यमा के के हुने अवस्था छ, बताउनुहोस्।
राजाको आदेशानुसार ती युवा ज्योतिषले राजाको चाहनाअनुसार हात हेरे र राजाका भूतमा घटित घटना, वर्तमानका अवस्था सबै बताए। सबै कुरा हुबहु मिलेकोले राजा झन् उत्साहित पनि भए। ज्योतिषले राजाका भविष्यका अवश्यम्भावी घटना बताउँदै गए। राजा आशवादी हुँदै गए। यसै क्रममा जोतिषले भने- 'सरकार, हजूरले हजूरका परिवारका सबै सदस्यको मृत्यु भएको हेर्नुपर्नेछ।'
यो कुरा सुनेर राजा भयंकर रिसाए र भने- यो तिमी के भन्दै छौ? यो हुनै सक्तैन, राम्ररी हेर। ज्योतिषले फेरि भने- सरकार, यो कुरा अकाट्य नै छ, हजूरले परिवारका सबै सदस्यको मृत्यु भएको हेर्नुपर्नेछ। ज्योतिषको यस्तो कुरा सुनेर राजा धैरै रिसाए र ती ज्योतिषलाई तत्काल फाँसी दिन आदेश दिए। ज्योतिषले पनि कत्ति नि नडराई भने- सरकार, मेरो विश्वास लाग्दैन भने मभन्दा ठूला र अनुभवी ज्योतिषलाई देखाउनुहोस्। उहाँले मेरो कुरा गलत भनेमा मलाई फाँसी दिनुहोस्। म फाँसीमा चढ्न तयार छु। मैले त जे देखेँ त्यही भनेँ।
दरबारमा राजाका महामन्त्री, मन्त्री र अन्य उच्च पदस्थ भारदारहरूको यस विषयमा व्यापक विचारविमर्श भयो र सबै तत्काल युवा ज्योतिषलाई फाँसी नदिने र ज्योतिषले भने जस्तै अर्को ज्योतिषलाई पनि देखाउने सल्लाह भयो। सबैको सल्लाहअनुसार राजाले सैनिक जवानलाई आदेश दिए- यो देशको सबभन्दा ठूलो र अनुभवी ज्योतिषलाई हाजिर गराऊ। सैनिकले राजाको आदेशानुसार त्यस देशको कहलिएको र अनुभवले खारिएको अर्को ज्योतिषलाई खोजेर दरबारमा हाजिर गराए।
ती अनुभवी ज्योतिषले पनि राजाको हात हेरे र राजाको भूत र वर्तमानका सबै कुरा पहिलेका युवा ज्योतिषले झै मिलाउँदै गए। अन्तमा भविष्यको बारेमा बताउँदै जाने क्रममा उनले भने- 'सरकार, हजूर त परिवारका सबै सदस्यभन्दा बढी बाँची बक्सन्छ।' ज्योतिषको यस्तो कुरा सुनेर राजा खुसी भए र पहिलेको युवा ज्योतिषलाई हप्काउन लागे- देख्यौ, तिमीले गलत कुरा भनेका रहेछौ। अब तिमी फाँसीमा चढ। राजाको यस्तो कुरा सुनेपछि युवा ज्योतिषले भने- सरकार, मैले पनि हजूर बढी बाँच्नुहुन्छ त भनेको। हजूर परिवारका सबै सदस्यभन्दा बढी बाँच्नु भनेको अरू सबै सदस्यको मृत्यु भएको हेर्नु होइन र सरकार? राजाले कुरो बुझे र यी दुवै ज्योतिषलाई मनग्य असर्फी, धनदौलत पुरस्कार दिई पठाए।
यस पौराणिक कथाबाट बुझ्न सकिन्छ कि भाषाको प्रस्तुतीकरणको शैलीले नतिजा र बुझाइमा कति फरक पार्दो रहेछ। ठाडो, मिठास नभएको, नकारात्मक संवेग उत्पन्न गर्ने र गलगाँड आएको भाषा (अनावश्यक शब्द थुपारिएको भाषा) ले नकारात्मक नतिजा ल्याउन सक्छ। त्यसैले भाषाशैली सरल, स्पष्ट, मिठासयुक्त हुनुपर्दछ। नकारात्मक कुरालाई नि ठाडो र निरस पाराले भन्नुभन्दा सकारात्मक तरिकाले मृदु भाषामा भन्न सकिन्छ भन्ने शिक्षा यस कथाले दिन्छ।
भाषा जुनसुकै होस्, यो स्पष्ट, सरल र सकारात्मक हुनुपर्दछ। अंग्रेजी, नेपाली, संस्कृत वा यस्तै प्रचलित भाषा जुनसुकै होऊन्, यिनको नियम, शैली र प्रयोगको उचित तरिकाबारे ज्ञान हुन आवश्यक छ। बोलिने भाषाको उचित प्रयोग नै उक्त भाषाप्रतिको सम्मान हो र संरक्षण पनि हो। भाषाको सामान्य ज्ञान, प्रयोगको उचित तौरतरिका र अनुभवले भाषा शैलीमा साँध लगाउन सहयोग पुर्याउँछ। भाषाको सही प्रयोगबाट भाषा मिठासपूर्ण हुन्छ।
आजभोलि भाषाको प्रयोग अन्धाधुन्ध गर्ने गरिएको पाइन्छ। अंग्रेजी भाषाको मोहले विशेष गरी नेपाली भाषाको प्रयोगमा झन् कमजोरी देखिन्छ। हाम्रो देश कला, संस्कृति, रहनसहन, भाषा, भेषभूषा, धर्म, परम्परामा विविधता भएको देश हो। यहाँ विभिन्न जातजातिले बोल्ने समुदाय विशेषका भाषाको विशिष्टता अनुपम छ। कतिपय हाम्रा समुदायले बोल्ने, जातजाति विशेषले बोल्ने भाषा लोप भएर गइसके भने कतिपय लोपोन्मुख अवस्थामा पुगेका छन्। हाम्रो देशमा बोलिने सबै भाषा हाम्रा पहिचान हुन्, चिनारी हुन् र सम्पदा हुन् अनि अमूल्य सम्पत्ति हुन्। यी विभिन्न भाषाको संरक्षण गर्नु हाम्रो पहिचान, चिनारी, सम्पदाको संरक्षण गर्नु हो। हाम्रो इतिहास संरक्षण गर्नु हो।
हामी अहिले एकातिर हाम्रा विविध भाषाको संरक्षण कसरी गर्ने भन्ने चुनौतीको सामना गरिरहेका छौँ भने अर्कोतिर भएका भाषाको सही र शुद्ध प्रयोग कसरी गर्ने भन्ने समस्यामा छौँ। भाषाको पहिलो पाठशाला परिवार हो भने त्यसपछि क्रमश: समाज, विद्यालय, विश्वविद्यालय हुन्। परिवारबाट बढी कथ्य भाषाको विकास हुन्छ भने विद्यालय र विश्वविद्यालयबाट कथ्य एवं लिखित भाषामा निखार ल्याउने, दक्षता बढाउने, सीप बढाउने र सिर्जनात्मकता अभिवृद्धि गर्ने कार्य हुन्छ।
त्यस्तै, भाषाको प्रयोग र विकासमा सञ्चार जगतको पनि महत्त्वपूर्ण भूमिका रहेको हुन्छ। सञ्चारका विविध माध्यम छपाइ पत्रिका, अनलाइन पत्रिकामा प्रयोग हुने भाषाशैलीलाई मानकका रूपमा लिने र त्यसमा प्रयोग गरिएका शब्द, वाक्य, शैलीको अनुसरण गर्ने गरिन्छ। सञ्चारका विविध माध्यम टिलिभिजन, रेडियो, युट्युब आदिमा प्रयोग हुने भाषिक सम्प्रेषणबाट पनि वाक्य संरचना, शैलीको अनुसरण गर्ने गरिन्छ। सिकाइमा सञ्चार माध्यमको ठूलो योगदान रहेको छ।
कहिलेकाँही प्राविधिक असावधानीका कारण भाषाको उचित संयोजनमा गल्ती हुन जान्छ। अझ, यसलाई यसरी भनौँ, प्राविधिक कारणवश भाषाको लेखन, सम्पादन र प्रयोगमा उचित तालमेल नहुन सक्छ। यसको एउटा सानो उदाहरणका रूपमा सञ्चार माध्यमबाट सम्प्रेषण भएको समाचारमा समाचार वाचिकाले पढेको वाक्यलाई लिन सकिन्छ।
कुरा हो २०६१ भाद्र १६ गतेको समाचारको। रोजगारीका लागि इराक पुगेका १२ जना नेपाली युवाहरूलाई त्यहाँको सुन्नी अतिवादी संगठन इस्लाम अल सुन्ना समूहले निर्मम हत्या गरेको थियो। त्यसै समाचारलाई लिएर प्रयोग भएको वाक्य संरचना यस्तो थियो- 'श्री ५ को सरकारद्वारा इराकमा मारिएका १२ जना युवाको हत्याको घोर भत्सर्ना गरिएको छ।' यो वाक्यले झ्वाट्ट सुन्दा वा पढ्दा के बोध हुन्छ होला? यो वाक्यलाई 'इराकमा हत्या गरिएका १२ जना नेपाली युवाको हत्याको श्री ५ को सरकारद्वारा घोर भत्सर्ना गरिएको छ।' बनाएको भए के हुन्थ्यो होला! अर्थमा अन्तर सायद आउँदैनथ्यो होला।
त्यस्तै, कहिलेकाँही प्रिन्ट समाचारमा 'चार किलोमिटर लामो मोटर चल्ने कच्ची बाटो निर्माण गरिएको छ' भन्ने वाक्य संरचना भेटिन्छन्। यो वाक्य झ्वाट्ट पढ्दा 'चारकिलो लामो मोटर' कस्तो होला भन्ने खुलदुली जाग्छ नै। यो वाक्यमा भन्न खोजिएको 'मोटर चल्ने चार किलोमिटर लामो कच्ची बाटो निर्माण गरिएको' हो। बजारमा 'सस्तो सिमी आयो' भन्नु र 'बजारमा सिमी सस्तो आयो' भन्नुमा के फरक होला, दुवै वाक्यको अर्थ एउटै होला कि फरकफरक होला! यस्ता स-साना कुरामा प्राविधिक कारण वा साना कुरामा मनन् नगरिदिनाले कहिलेकाँही पाठकमा पहिलो नजरमा नै अन्यौलता आउँछ।
भाषा सम्पादन वा परिमार्जन भनेको के होला? विभिन्न व्यक्ति, लेखकबाट लेख रचना माग्ने, संकलन गर्ने र सबैलाई एकीकृत गरी प्रकाशन गर्ने कार्य होला कि अथवा प्राप्त लेख रचनामा भाषागत एकरूपता छ कि छैन, भाषा शुद्ध प्रयोग भएको छ कि छैन, वाक्य संरचना, विषयवस्तुको सन्दर्भ स्तरीय छ कि छैन, लेखले भाषागत मूल्यमान्यता, हाम्रो मूल्य-मान्यतालाई असर पारेको छ कि छैन, कानुनी रूपमा ठीक छ कि छैन लगायतका विविध पक्षमा छलफल गर्ने, सम्बन्धित लेखकसँग परामर्श गरी यकीन गर्ने र स्तरीय बनाउने कार्य सम्पादन, परिमार्जन होला कि? कि लेखकले जेसुकै लेखोस्, आफूलाई मन लागेको जस्तो बनाइदिने कार्य सम्पादन, परिमार्जन होला? यो मैले अहिलेसम्म बुझ्न नसकेको विषय हो।
भाषागत कुरामा सबै पारङ्गत हुन सक्दैनन्। सबै कुरा एउटै व्यक्तिले जान्ने भन्ने सम्भव छैन। हामी कहाँ आफूले लेखेको कुरा अरूलाई देखाउने, परामर्श गर्ने, विचारविमर्श गर्ने प्रचलन त्यति छैन। विभिन्न क्षेत्रका विज्ञहरूको समूह बनाई लेखकका कृति सम्पादन गर्ने, उक्त कृतिमा उल्लेख भएका विषयवस्तु, सुन्दर र भाषागत संयोजनका विविध आयाममा छलफल गर्ने, माझ्ने र उत्कृष्ट कृति प्रकाशन गर्ने प्रचलन त्यति छैन। यसैको कारण केही नाम चलेका श्रष्टाका प्रकाशित कृतिहरू विवादमा परेका घटना पनि छन्। जातजाति, वर्ग, समुदाय, भाषा, धर्म, मूल्य-मान्यतालाई आँच आएको बोध हुने गरी लेखेमा त्यसले विवाद उत्पन्न हुन जान्छ। यसका लागि प्रकाशोन्मुख पाण्डुलिपि उपर बृहत् छलफल, विचारविमर्श र सम्पादन हुनु आवश्यक हुन जान्छ।
मलाई पनि भाषागत निपुणता नभएकोमा अथवा आफ्नो भाषागत दखल कमजोर भएकोमा पछुतो छ। म भाषाविज्ञानको विद्यार्थी होइन। भाषा-साहित्यको विद्यार्थी नभएकोले न मेरो नेपाली भाषामा न्यूनतम तहको दखल हुन सक्यो न अंग्रेजी भाषामा नै। त्यस्तै अन्य भाषामा पनि कमजोर नै भइयो। तर बजारमा आएका पुस्तक, पत्र-पत्रिका आदि पढ्न खोज्दा भेटिने स-साना कमीकमजोरीले पछिल्लो पुस्ताले कस्तो भाषा सिक्ला भन्ने चिन्ता लाग्छ। अहिले भाषाको प्रयोगमा संवेदनशील नहुँदा जे जस्ता प्रयोग बजारमा आएका छन्, पछिल्लो पुस्ताले त्यही कमजोरीको अनुसरण गर्ने देखिन्छ। नेपाली भाषाको प्रयोगमा त अवस्था झन दयनीय भएको छ। एकजना मित्रले भन्नु हुन्थ्यो- ह्रस्व र दीर्घ किन लेख्नु पर्यो, 'श, स, ष' किन तीनवटा चाहियो? 'य र ए' किन दुइटा? 'वर्ष' बाट 'वर्षेनी' नभएर किन सरले 'बर्सेनि' बनाउनुहुन्छ? यसको उत्तर दिन गाह्रो छ। यस्ता कुरा लेख्दै जाँदा धेरै हुन्छन्।
हामीले प्रयोग गर्ने भाषा सरल, शुद्ध, स्पष्ट हुनुपर्दछ। यस्तो भाषा लेख्न आवश्यक पर्ने सीप, दक्षता, ज्ञानको विकास गर्नुपर्दछ। भाषाको स्तर कायम गर्नुपर्दछ। हाम्रा सबै भाषाको संरक्षण, सम्वर्द्धन गर्न सबै सम्वेदनशील हुनपर्दछ। यसमा सबै पक्षबाट पहल हुनुपर्दछ।
Shares
प्रतिक्रिया