ad ad

ब्लग


‘धेरैले सोधे- कोरोना भाइरसबाट डराएर चीनबाट नेपाल फर्केको?’

‘धेरैले सोधे- कोरोना भाइरसबाट डराएर चीनबाट नेपाल फर्केको?’

डा. राजीव झा
माघ १०, २०७६ शुक्रबार १२:१०,

चीनमा अहिले वसन्त पर्वको विदा छ। यही समयमा कोरोना भाइरसको संक्रमण फैलिएको छ। म चीनमा सियानमा बस्छु। भाइरसको केन्द्रविन्दु वुहान सहर हो, जुन सियानबाट एक हजार किलोमिटर टाढा पर्छ। तर, यातायात सुविधाको कारण चीनमा यो दूरी त्यति टाढा होइन।

नयाँ भाइरस देखिएपछि त्यसको उपचार गर्ने औषधि बनाउन समय लाग्छ। औषधि बनाउनुभन्दा अघि कोरोना भाइरसको स्रोत के हो, यो मानिसमा कसरी आइपुग्यो भन्ने पत्ता लगाउनु पर्छ। अहिले यो भाइरस कसैले सर्पबाट उत्पन्न भएको भनेका छन्, कसैले के। यी सञ्चार माध्यममा आएका कुरा हुन्। अहिलेसम्म यसको आधिकारिता पुष्टि भएको छैन। विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले पनि यसको कारण औपचारिक रुपमा पुष्टि गरेका छैन।

ब्याक्टेरियाको कारण हुनेभन्दा भाइरसको कारण हुने निमोनिया गम्भीर प्रकृतिको हुन्छ। यसले पनि सन् २००३ मा सार्सले जस्तै समस्या उत्पन्न गरेको छ। कोरोना भाइरस लागेको व्यक्तिको श्वास प्रश्वासमा समस्या हुन्छ र रोगीलाई औषधिले काम गर्दैन।

चीनको अहिलेको अवस्थामा भनेको मेडिकल इमर्जेन्सी नै हो। यो चीनको विभिन्न प्रान्तमा फैलिएको छ। यसबाट सयौं मानिस संक्रमित भएका छन्। २६ जनाको मृत्यु भइसकेको समाचार आएको छ।

अहिले यसको मृत्युदर ४ देखि ५ प्रतिशतबीचमा छ। हुबेई प्रान्तमा सार्वजनिक यातायात र कार्यक्रम रोकिएको छ। केही साताअघि वुहानमा एकै पटक १७ जनामा यसको लक्षण देखियो। त्यससछि कोरोना भाइरस भएको पत्ता लागेको थियो।

शुक्रबारदेखि चीनमा नयाँ वर्ष सुरु भएको छ। यो चीनको सबैभन्दा ठूलो चाड हो। यो पर्वमा सबै मानिस आफ्नो थातथलो फर्किन्छन्। अहिलो करोडौँ मानिस एक स्थानबाट अर्को स्थानमा जाने गरेका छन्। तर, भाइरसको संक्रमणपछि सरकारले नागरिकहरुलाई अनावश्यक यात्रा नगर्न सुझाव दिएको छ। भाइरस थप नफैलियोस् भनेर यस्तो सुझाव दिएको हो।

१७ वर्षअघि पनि चीनमा सार्सको महामारी फैलिएको थियो। त्यो पनि जनवरीको अन्त्यतिर सुरु भएको थियो। त्यसबाट विश्वभर ८ हजार मानिस प्रभावित भएका थिए भने ८ सय जनाकाे मृत्यु भएको  थियो। जाडोमा सुरु भएको महामारी गर्मी सुरु भएपछि मार्चमा नियन्त्रणमा आएको थियो। अहिले पनि त्यस्तै हुने अपेक्षा गरिएको छ।

चीनले यसबीचमा महामारी नियन्त्रणको क्षमता पनि धेरै बढाएको छ। तर, पूर्वाधारमा ठूलो विकास गरेको हुनाले एकै पटक लाखौँ, करोडौँ मानिस अर्को स्थान सर्न सक्ने भएका छन्। यसले भाइरसको संक्रमण फैल्याउनलाई मद्दत गर्छ। अहिले प्रतिघण्टा ३ सय किमिभन्दा तीव्र दरले गुड्ने रेल चीनमा छ्यापछ्याप्ती छन्।

विगत १७ वर्षमा विश्वभरका मुलुकसँग पनि चीनको सम्पर्क बढेको छ। जसले यो भाइरस संसारभर पुग्ने जोखिम पनि बढाएको छ। त्यसैले वुहानबाट हुने उडान रोकिएको छ।

नेपालमा यसको प्रभाव
वसन्त पर्वको छुट्टी भएपछि म यसै साता नेपाल आएको हुँ। यो भाइरसका विषयमा यहाँ नेपालीहरु धेरै डराएको भेटेँ। तर, नेपालमा डराइहाल्नुपर्ने अवस्था छैन। होसियारी भने अपनाउनु जरुरी छ।

काठमाडौँ अलि उचाइमा छ। यहाँ बिहानदेखि बेलुकीसम्म घाम लाग्छ। चिसो मौसममा यो भाइरस बढी सर्ने भएकाले हामीले त्यति डराउनु पर्दैन।

तर, हामी सतर्क भने हुनै पर्छ। पछिल्लो समयमा चीनसँग सम्पर्क बढेको छ। अर्को जोखिम भनेको यो चरा बसाइँ सर्ने बेला हो। जाडो सुरु भएपछि यस्ता चरा गर्मी भएको स्थानतर्फ आउने गर्छन्। तिनले यहाँ संक्रमण ल्याउन सक्छन्। त्यसैले चराचुरुङ्गी तथा जनावरको मासुको कारोबार हुने स्थानमा अलि बढी ध्यान दिनुपर्छ।

भाइरस फैलिँदा स्वभाविक रुपमा यसले चीनको अर्थतन्त्रलाई प्रभावित गर्ने छ। सार्स फैलिएको समयमा पनि चिनियाँ अर्थतन्त्र प्रभावित भएको थियो। चीन आवतजावतमा कमी आउने छ। सार्सका कारण ६ महिना जति पर्यटक संख्या नै घटेको थियो। यसको प्रभाव नेपालमा पनि पर्ने छ। चिनियाँहरुको विदेश घुम्ने समय यही हो। प्रकोपका कारण उनीहरुको विदेशयात्रा कम हुनेछ। जसले हाम्रो भ्रमण वर्षको लक्ष्यलाई पनि प्रभावित गर्न सक्छ। नेपाल आउने विदेशी पर्यटकको १० प्रतिशत चिनियाँ हुन्छन्। महामारी नियन्त्रण भयो भने पनि मनोवैज्ञानिक असरबाट मुक्त हुन समय लाग्नेछ।

यो भाइरसको औषधि बनिसकेको छैन। तर, यसबाट बच्ने उपाय अपनाउन सकिन्छ। कम हात मिलाउने, दिनमा तीन चार पटक हात धुने, मास्क लगाएर हिँड्ने, जिउँदो जनावर भएको स्थानमा नजाने, रुघाखोकी लाग्यो, ज्वरो आयो भने हेलचेक्र्याइँ नगर्ने, अस्पताल जाने, मासु राम्रोसँग पकाएर खाने गर्नु पर्छ। काठमाडौँमा मास्क लगाएर हिँड्दा नै राम्रो हो, धुवाँधुलोबाट पनि बचाउँछ।

सन् २००३ मा सार्स फैलिएपछि चीनले इमर्जेन्सी मेडिकलको राम्रो व्यवस्था गर्‍यो। उनीहरु यस्तो महामारीलाई नियन्त्रण गर्न सक्छन्। तर, हामीसँग त्यस्तो तयारी छैन।

चीनबाट नेपाल फर्केपछि मलाई धेरैले तपाईं डराएर यता आउनुभएको हो, भनेर सोधे। चिकित्सा क्षेत्रमा काम गर्ने भएपछि यस्तो अवस्थामा डराउने कुरा हुन्न। सजग र सतर्क भएर काम गर्नुपर्छ।

(डा. झा सियान मेडिकल युनिभर्सिटीमा चाइना–नेपाल मेडिकल रिसर्च सेन्टरसँग आबद्ध छन्)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .