राजनीति


महाधिवेशनको कार्यतालिका मान्न पौडेल समूह तयार, यसरी जुट्यो कांग्रेसमा सहमति

महाधिवेशनको कार्यतालिका मान्न पौडेल समूह तयार, यसरी जुट्यो कांग्रेसमा सहमति

सागर न्यौपाने
माघ १०, २०७६ शुक्रबार १२:१८,

संस्थापन पक्षसँग असन्तुष्ट रहँदै आएको पौडेल समूहले १४ औँ महाधिवेशनको कार्यतालिका स्वीकारेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमा डेढ महिनादेखि जारी विवाद साम्य भएको छ।

 शुक्रबार बिहान सभापति शेरबहादुर देउवा निवासमा बसेको कांग्रेस शीर्ष नेताहरुको बैठकमा पौडेल समूह १४ औँ महाधिवेशनको कार्यतालिका स्वीकारेर अगाडि बढ्न तयार भएको हो।

गत पुस ११ गते सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बहिष्कारकाबीच केन्द्रीय कार्यसमिति बैठकको बहुमतबाट १४ औ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेका थिए। पौडेल समूहले गत मंसिर २६ गतेदेखि केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गर्दै आएकाे थियो। सो समूहको वहिष्कारकाबीच केन्द्रीय समितिले २०७७ फागुन ७–१० सम्म महाधिवेशन गर्ने,  पार्टी विभागको संख्या २८ बाट बढाएर ४७ बनाउने, भ्रातृसंस्था तरुण दल र नेविसंघको म्याद ६ महिना थप गर्ने लगायतका निर्णय गरेको थियो। आफूहरुको बहिष्कारकाबीच महाधिवेशनको कार्यतालिका सार्वजनिक भएपछि पौडेल समूह असन्तुष्ट रहँदै आएको थियो।

शुक्रबारको बैठकले महाधिवेशन कार्यतालिका र तरुण दलको म्याद थपको निर्णय यथावत राख्दै नेविसंघको विषयमा भने सहमतीय आधारमा निर्णय लिने सहमति गरेको कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले बताए।

‘पार्टीमा देखिएको विवाद समाधान भएको छ’, नेपालखबरसँग कुरा गर्दै लेखकले भने, ‘महाधिवेशन र तरुण दलको म्याद थप गर्ने निर्णय यथावत राख्दै अन्य विषयमा सहमतीय आधारमा निर्णय गर्ने सहमति बन्यो।’

बैठकमा महाधिवेशन तोकिएकै समयमा गरिने सहमति भए पनि मातहतका कमिटीको अधिवेशनको कार्यतालिका भने हेरफेर गर्न सहमति भएको छ।

 केन्द्रीय सदस्य लेखकका अनुसार शुक्रबारको शीर्ष नेताहरुको छलफलमा कार्यतालिका मिचिएको र विधान निलम्बन भएको विषयमा आपसी सहमतिका आधारमा संशोधन गर्ने सहमति बनेको छ।

यसैबीच कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक माघ १३ गते समोमबार बस्ने भएको छ। कांग्रेसका एक नेताले दिएको जानकारी अनुसार यसअघि गरिएका निर्णयहरु र आजको बैठकका निर्णयहरु पनि अनुमोदन गर्नका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाइएको हो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .