ad ad

ब्लग


प्रेमको आत्मदाहपछि बोलेका बिमाकुमारी दुरा, बिनु यादव ...

प्रेमको आत्मदाहपछि बोलेका बिमाकुमारी दुरा, बिनु यादव ...

राधिका अधिकारी
माघ १९, २०७९ बिहिबार २१:२३, काठमाडौँ

गत माघ ११ गते प्रेमप्रसाद आचार्यले काठमाडौंको व्यस्त सडकमा उभिएर आफ्नै शरीरमा आगो लगाए। देशको पूर्वी भेग इलामबाट राजधानी काठमाडौंमा आएर आफ्नै शरीरमा आगो लगाउनुअघि उनले लामो सुसाइड नोट लेखे। उनले उक्त सुसाइड नोटमा इलम गर्दा खाएको धोकाको कथा कहेका थिए। शरीरमा आगो लगाएको भोलिपल्ट उनको मृत्यु भयो। 

सुसाइड नोटमा उनले श्रीमतीको खाता नम्बर राखिदिएका थिए। प्रेमको मृत्युपछि उनकी श्रीमतीको नाममा रहेको खाता नम्बरमा पैसा हालिदिनेको होड चल्यो। उक्त खातामा हालेको रकमको भौचर सामाजिक सञ्जालमा पोस्ट गरेर मानवीयता प्रदर्शन गरियो। 

प्रेमले आफ्नो मृत्युअघि उठाएका मुद्दा अधिकतर नेपालका मुद्दा हुन्। उनले उठाएका मुद्दा उचित थिए। प्रेमको आत्महत्यापछि केही दिनसम्म प्रणालीगत खराबी हटाउनुपर्ने माग चर्किए। केही समय त यसले ठूलै आन्दोलनको रुप लेला कि भन्ने पनि देखियो। तर, त्यो चर्चा सेलाउन बेर लागेन। 

त्यसपछि ती मुद्दा छाडेर उनको आत्मदाह सही थियो, उनलाई ‘सहिद’ घोषणा गरिनुपर्छजस्ता विषयमा बहस केन्द्रित भयो। थुप्रैले उनको आत्महत्यालाई ‘क्रान्ति’का रुपमा प्रस्तुत गरे। र, उनकी पत्नीलाई ठूलो रकम सहयोग प्राप्त भएको खबर सार्वजनिक गरियो। यो घटनाले उस्तै समस्या झेलिरहेका अन्यलाई उत्प्रेरित गर्यो। उनीहरुलाई लाग्यो, ‘म मरेँ भने मेरो परिवार बन्ने रहेछ।’ त्यसपछि केहीले सुसाइड नोट लेखेर त केही नलेखी आत्मदाह गरे। उनीहरुका समस्या पनि ऋण थियो। केहीले सामाजिक सञ्जालमा आत्मदाहको घोषणा गरिरहेका छन्। 

प्रेमको परिवारलाई सहयोगका नाममा रकम पठाएका भौचरका चिरकटा सामाजिक सञ्जालमा पोस्ट गर्नेहरु अरुलाई पनि ‘समस्यामा भए तिमी मर हामी छौं’ भन्ने प्रकृतिको सन्देश दिइरहेका छन्। 

तर, यही समय लोक गायिका बिमाकुमारी दुरा आफ्नो समस्या भनेर रोइरहेकी छिन्। सहयोगको याचना गरिरहेकी छिन्। केही वर्षदेखि विभिन्न कारणले करोडौंको सम्पत्ति गुमाएर सडकमा पुगेकी दुरा प्रेमको मृत्युपछि पुनः बोलेकी छिन्। उनले भनेकी छिन्, ‘यो देशमा नमरी न्याय नपाइने रहेछ, म अब आत्मदाह गर्छु।’ 

रामेछापकी बिनु यादवले पनि सामाजिक सञ्जालमा आत्मदाह गर्ने भन्दै स्टाटस पोस्ट गरिन। उनले आफ्नो तस्बिरमाथि क्याप्सन लेखिन्, ‘आत्मदाहका लागि तयार एउटा ज्यान।’ केही समयदेखि आफूमाथि हिंसा गर्नेलाई कारबाही गर भनेर सडकमा भौँतारिरहेकी बिनुका न्यायिक लडाइमा साथ दिन कोही तयार देखिएका छैनन्। उनले पनि मृत्युपछि यो समाजले आफ्नो न्यायका लागि बोलिदिने भन्दै आत्मदाह गर्ने बताइन्। उनी बेलाबेला भनिरहेकी हुन्छिन्, ‘यहाँ बाँच्न संघर्ष गर्ने मान्छेलाई मर्न बाध्य पारिन्छ र मरेपछि सहयोगको ढोङ रचिन्छ, बुझ्नुभयो!’

पछिल्लो समय दोलखाको शैलुङका डिल्ली कार्की पनि बाँच्नका लागि याचना गरिरहेका छन्। पुरानो बसपार्क क्षेत्रमा मास्क, पानी र चुरोट बेचेर गुजारा चलाउँदै आएका उनलाई महानगर प्रहरी बारम्बार ठाउँ छोड्न धम्की दिन्छ। ह्विलचेयरमा बसेर जीवन धानिरहेका डिल्लीलाई यसै साता महानगर प्रहरीले उठाएर लग्यो। त्यसपछि उनले भनेका छन्, ‘यहाँ गरेर खान पाइन्न रहेछ, म एक सिसी मेटासिड खाएर मर्छु। मरेपछि मानिसहरुले मेरो कदर गर्लान् र मेरी छोरी र रोगी श्रीमतीले सजिलोसँग बाँच्न पाउलान्।’ तर उनलाई ‘हामी छौँ नि त!’ भनेर मानवता प्रदर्शन कसैले गरेको छैन।

मासिक २२ हजारको औषधि खानुपर्ने बताउने डिल्ली कार्कीको कम्मरमुनिको भाग चल्दैन। कतै गएर काम गर्ने अवस्था छैन। त्यसैले उनी मास्क बेचिरहेका छन्। त्यो पनि महानगर सुन्दर सहर बनाउने होडमा लखेटिरहन्छ। दुःखको कुरा त यो छ कि डिल्लीको यो अवस्था पनि अहिले धेरैका लागि मसला बनेको छ। तर, जीवित डिल्लीहरुप्रति दानीहरुको मन पनि पग्लिन सकेको देखिँदैन।

अनेक हण्डर झेलेर, संघर्ष गरेर, लडेर बाँचिरहेका मान्छेको मनोबल खस्किरहेको कुराप्रति कसले ध्यान दिने? त्यसैले धेरैले भनिरहेका छन्, ‘यहाँ न्याय त मरेपछि पाइने रहेछ।’ 

यहाँ चर्चाको आयु निकै कम हुन्छ। प्रेमप्रसादको चर्चालाई रवि लामिछानेको मुद्दाले छोपिदियो। प्रेमका मुद्दालाई स्थापित गर्छौं भन्दै हिँडेको भीड अहिले रवि लामिछानेलाई पुनः गृहमन्त्रीको कुर्सीमा पुर्याउने अभियानको पछि लागेको छ। तर, प्रेमको मृत्युको प्रभाव भने वर्षौं रहने देखिन्छ। उनको आत्मदाहलाई समस्यामा परेको एउटा मान्छेले जीवनसँग हारेको दिनका रुपमा मानिसहरुले सम्झिरहनेछन्।

सन् २०१० डिसेम्बरमा ट्युनिसियाली नागरिक मोहम्मद बुअजिजीको आत्मदाहपछि ट्युनिसिया र अन्य केही देशमा चलेको आत्मदाह शृंखलाजस्तै यहाँ पनि प्रेमको आत्मदाहपछि केही संख्या थपिए। यो क्रम रोकिएको छैन। प्रेमप्रसादको आत्मदाह खासमा सत्ताको विरोधमा जस्तै देखिए पनि त्यो उनको मानसिक अवस्थाको उपज थियो। उनको आत्महत्या नितान्त व्यक्तिगत थियो। तर यसलाई क्रान्तिको नाम दिइयो। प्रेमले भोगेका जीवनका जटिलताहरू थुप्रै युवाले भोगेका छन्। व्यक्ति, संस्था, राज्यबाट प्रेमजस्तै उपेक्षित नभएको युवा कम छन्। यहाँ आफ्नो सपना, हैसियत र महत्वकांक्षा अनुसार सबै समस्याको लामो सूची बोकेर बाँचेका छन्। 

तर, समस्या के हो भने हामी समस्या झेलिरहेका जीवित मानिसहरुलाई मर्न र परेपछि न्याय पाइन्छ भन्ने भाष्य स्थापित गर्दैछौँ। आफूमाथि बलात्कार भएको अभियोग पत्र बोकेर अदालत पुगेकी एक नाबालिगमाथि घृणाको शब्द बर्साउँछौं र मारिएकी निर्मला पन्तका लागि न्यायको भिख माग्दै माइतीघरमा आन्दोलन गर्छौं। हामीलाई बाँचेर, बाँच्नका लागि संघर्ष गरिरहेकी समीक्षा अधिकारीको जीवनको चासो छैन, मरेका मानिसका नाममा राजनीति गर्नु छ। यस्ता थुप्रै घटनाक्रम सतहमा छन्, बरु केही यस्तो काम गरौँ, जसले मान्छेलाई आत्महत्या होइन, संघर्ष गर्नका लागि प्रेरित गरोस्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .