कोभिड १९को कारण सेकेन्ड ह्यान्ड (रिकन्डिसन) स्कुटरको माग ह्वात्तै बढेको छ। रिकन्डिसन व्यवसायीले सामान्य अवस्थाभन्दा पनि ३० प्रतिशतले बढेको बताएका हुन्।
कोभिड १९को संक्रमणको डरले अधिकांश मानिस आफ्नो निजी सवारीसाधन चढ्न चाहेका छन्। कोभिडको कारण आर्थिक रुपमा चाप परेपछि ५० हजारदेखि १ लाखसम्मका दुईपांग्रे सवारी खरिद गर्ने बढी भएको व्यवसायीले बताएका छन्।
नेपाल अटो मोबाइल रिकन्डिसन व्यवसायी संघ अध्यक्ष दिनेश महतले दुईपांग्रे सवारीको माग बढेको बताएका छन्।
‘लकडाउन खुकुलो भएको केही समय अन्योल नै थियो। पछिल्लो समय सेकेन्ड ह्यान्ड दुईपांग्रेको माग बढेको छ’, महतले भने, ‘दुईपांग्रेमा पनि बाइकभन्दा स्कुटरको माग बढी रहेको छ।’
सरकारले चैत ११ देखि लकडाउन गरेको थियो। असार १ देखि लकडाउन खुकुलो भएसँगै कार्यालय खुल्न थाले पनि सार्वजनिक यातायात बन्द थियो।
‘लकडाउन भएसँगै घरमा स्कुटर सिक्नको लागि पनि पुराना किन्ने, सार्वजनिक यातायात नचलेको र चले पनि सुरक्षित महशुस नभएको अवस्थामा रिकन्डिसन बाइक÷स्कुटरको बिक्री बढेको हो’, महतले भने।
उनले पुरानो सवारी किन्ने मानिस भए पनि बिक्री गर्ने नहुँदा समस्या भएको बताए।
संघका निवर्तमान अध्यक्ष बीएन पाठकले पनि स्कुटरको माग बढेको बताए।
‘बाइकको बिक्री त खासै छैन तर स्कुटरको माग भने अत्यधिक रहेको छ’, पाठकले भने, ‘पुरानो स्कुटर बेच्ने मानिस नहुँदा स्टक सकिएका छन्।’
अहिले पुरानो स्कटमा भएका स्कुटर बिक्री भइरहेको व्यवसायीले बताएका छन्। कोभिड १९ को कारण नयाँ दुई पांग्रेसवारीको माग समेत उच्च रहेको व्यवसायीले बताउँदै आएका छन् ।

प्रतिक्रिया