नेकपा एमालेले बागमती प्रदेशका ३३ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म २७ स्थानका उम्मेदवार मात्र टुंगो लगाएको छ।
शनिबार बसेको एमाले सचिवालय बैठकले बाँकी ६ क्षेत्रका उम्मेदवार चयन गर्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिँदै टिकट ‘होल्ड’मा राखेको हो।
ती क्षेत्र हुन- काभ्रे-२, काठमाडौँ-४, ५, ७ र ९ तथा ललितपुर-३।
तीमध्ये काभ्रे-२ बाट गोकुल बास्कोटाको नाम एकल सिफारिस भएको छ।
गत पुस २१ गते बसेको एमालेको क्षेत्रीय समन्वय कमिटीको बैठकले बाँस्कोटाको नाम मात्र सिफारिस गर्ने निर्णय गरेको थियो।
सोहीबमोजिम उनको नाम सिफारिस गरिएको एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेलले बताए।
तर पनि उनलाई विचाराधीनमा राखिनुको कारण हालै सम्पन्न एमालेको एघारौँ महाधिवेशनमा ईश्वर पोखरेल प्यानलबाट सचिव पदमा उम्मेदवारी दिनु भएको आशंका गरिएको छ। सचिव पदमा झिनो मतान्तरले हारेका बास्कोटा केन्द्रीय सदस्यमा भने विजयी भए।
काभ्रेकै क्षेत्र नम्बर काभ्रे-१ मा भने १० जनाको नाम सिफारिस गरिएको भए पनि एमालेले त्यहाँ अमित लामालाई उम्मेदवार तोकिसकेको छ।
यस्तै एमालेले होल्ड गरेको अर्को क्षेत्र काठमाडौँ-४ बाट १३ जनाको नाम सिफारिस गरिएको छ।
एमाले काठमाडौँका अध्यक्ष दीपक निरौलाका अनुसार सिफारिस सूचीमा पहिलो नम्बरमा छन्- केन्द्रीय सचिव राजन भट्टराई। जिल्लाका सुझाव र क्षेत्रको सिफारिसमा उनको नाम पहिलो नम्बरमा राखेर केन्द्रमा सिफारिस गरिएको उनले बताए।
यसअघि २०७९ मा भएको प्रतिनिधि सभा निर्वाचनमा पनि उक्त क्षेत्रमा एमालेबाट भट्टराई नै उम्मेदवार थिए। तर उनी कांग्रेसका उम्मेदवार गगन थापासँग हारे। विजयी थापाले २१ हजार ३०२ मत ल्याउँदा भट्टराईले १३ हजार ८५५ मत पाएका थिए।
त्यसअघि २०७४ मा पनि उनी थापासँगै हारेका थिए।
तर पनि अहिले तेस्रोपटक पनि उम्मेदवारमा भट्टराईकै नाममा एक नम्बरमा सिफारिस गरिएको हो।
काठमाडौँ-४ का लागि सिफारिस १३ जनामा उषाकिरण भण्डारी पनि छिन्।
यस्तै एमालेले टिकट होल्ड गरेको अर्को निर्वाचन क्षेत्र हो- काठमाडौँ-५।
जहाँका लागि पहिलो नम्बरमा सिफारिस भएका छन्- एघारौँ महाधिवेशनमा ओलीसँग अध्यक्षमा पराजित नेता ईश्वर पोखरेल।
काठमाडौँ-५ बाट जम्मा ८ जनाको नाम सिफारिस गरिए पनि पोखरेलले इच्छा नदेखाए मात्रै अन्य आकांक्षीलाई अवसर दिनेगरी निर्णय गरिएको बताउँछन्- एमालेका काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौला।
२०७९ को निर्वाचनमा पोखरेल त्यही क्षेत्रबाट कांग्रेसका उम्मेदवार १० हजारभन्दा बढी मतान्तरले कांग्रेसका उम्मेदवार प्रकाशशरण महतलाई हराउँदै विजयी भएका थिए। पोखरेलले २३ हजार २९ मत प्राप्त गर्दा महतले १३ हजार ६९ मत ल्याएका थिए।
बागमती प्रदेश सांसदसमेत रहेका प्रकाश श्रेष्ठ, नेता रघुजी पन्तसहित ११ जनाको नाम सिफारिस गरिएको काठमाडौँ-७ मा पनि एमालेले टिकट दिन बाँकी राखेको छ। जहाँ प्रदेश सांसद श्रेष्ठको नाम पहिलो नम्बरमा छ।
२०७९ मा त्यस क्षेत्रमा रास्वपाका गणेश पराजुली विजयी भएका थिए। त्यतिबेला एमालेबाट उम्मेदवार बनेका श्यामकुमार घिमिरे १ हजार ९४३ मतान्तरले हारेका थिए। अहिले घिमिरेको नाम सिफारिस सूचीमा दोस्रो नम्बरमा रहेको एमालेका काठमाडौँ अध्यक्ष निरौला बताउँछन्।
एमालेले उम्मेदवार चयन गर्न बाँकी राखेको अर्को क्षेत्र हो- काठमाडौँ-९। जहाँका लागि अजय क्रान्ति शाक्य, कृष्णगोपाल श्रेष्ठदेखि बागमती प्रदेश सांसद केशवप्रसाद पोखरेलसम्म ७ जनाको नाम सिफारिस गरिएको छ।
जुन क्षेत्रमा २०७९ को निर्वाचनमा एमालेकै कृष्णगोपाल विजयी भएका थिए। उनले रास्वपाका उम्मेदवार टेकबहादुर पोखरेललाई ९९५ मतान्तरले हराएका थिए। अहिले श्रेष्ठको नाम दोस्रो नम्बरमा छ।
२०७४ को आम निर्वाचनमा काठमाडौँ १ (९) बाट प्रदेश सांसदमा निर्वाचित उनी बागमती सरकारमा आन्तरिक मामिला मन्त्रीसमेत भएका थिए।
यस्तै एमालेले उम्मेदवार तोक्न बाँकी राखेको अर्को क्षेत्र हो- ललितपुर-३।
त्यहाँका लागि एमालेका जिल्ला अध्यक्ष पुरुषोत्तम ढुंगाना, केन्द्रीय सदस्य डा. टीका ढकालसहित ७ जनाको नाम सिफारिस गरिएको छ।
२०७९ को निर्वाचनमा उक्त क्षेत्रमा एमालेबाट अमृत खड्का उम्मेदवार बनेका थिए। तर उनी हारे।
त्यसबेला रास्वपाकी तोसिमा कार्की विजयी भएकी थिइन्। यसपटक भने एमालेले खड्काको नाम सिफारिस गरेको छैन।
Shares

प्रतिक्रिया