बागमती


जब गाउँमै पुगेर सीडीओले नागरिकता दिए...

जब गाउँमै पुगेर सीडीओले नागरिकता दिए...

सुनिता विष्ट
चैत १७, २०८२ मंगलबार १७:२३, हेटौँडा

मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–४ घोरकोटेकी ५० वर्षकी सुन्तलीमाया परियारको नेपाली नागरिकता थिएन। उनका श्रीमान्को दुईवर्ष अघि मृत्यु भयो। ८ वटा सन्तानकी आमा सुन्तलीमायाको नागरिकता नहुँदा उनले राज्यबाट प्राप्त हुने एकल महिलाको भत्ता लिन पाएकी थिइनन्। त्यतिमात्रै होइन, निर्वाचनहरूमा पनि उनी मतदानबाट बञ्चित भइन्। 

नागरिकता बनाउनका लागि पटक/पटक हेटौँडा धाउँदा पनि नपाएकी उनले सोमबार घरको दैलोमै पहिलो पटक नागरिकता प्राप्त गरिन्।

राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको समन्वयमा सुन्तलीमायाको घर पुगेका राष्ट्रिय पञ्जिकरण विभागका अधिकारीहरू र जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी सहितको टोलीले उनलाई नागरिकता प्रदान गरेका हुन्। 

‘नागरिकता नहुँदा राज्यको नागरिक हुँ जस्तो पनि लाग्थेन’ उनले भनिन्, ‘नागरिकता नहुँदा कति समस्या भोग्यो। सरकारले भत्ता दिन्थो रे, त्यो पनि लिन पाएन। यही नागरिकताको लागि कति पटक हेटौँडा धायो। त्यो बेला कहिला के पुगेन, कहिला के पुगेन भनेर नागरिकता दिएन। आज त म धेरै खुसी छु।’

श्रीमान् नाममा छोराछोरीको जन्मदर्ता भए पनि आफ्नो नागरिकता बनाउन नसक्दा उनी सधैँ चिन्तामा थिइन्। तर अब भने ढुक्क भएको उनी बताउँछिन्।

यस्तै, राक्सिराङ–९ लैबाङकी ६५ वर्षीया सुकुमाया प्रजाले पनि घरदैलो कार्यक्रममै नागरिता पाइन्। जिल्ला सदरमुकाम हेटौँडाबाट सवारीमा ३ घण्टाको दूरीमा रहेको खैराङमा पुगेको टोलीले उनलाई नागरिकता प्रदान गरिदियो।

सानैमा बाबु बितेका कारण नागरिकता बनाइदिने मान्छे नभएपछि उनी अहिलेसम्म नागरिकताबाट बञ्चित थिइन्। गाउँपालिकाका जनप्रतिनिधिको समन्वयमा केही दिनअघि नागरिकताको लागि उनको विवरण संकलन गरिएको थियो। सोही विवरण अनुसार जिल्ला प्रशासनको टोलीले गाउँमै पुगेर नागरिकता प्रदान गरेको हो। 

उमेरले ६ दशक पार गरेपछि हातमा नेपाली नागरिकताको परिचय पत्र प्राप्त गरेकी सुकुमाया एकैछिन भावुक देखिइन्।

हातमा नागरिकता समाउँदै उनले भनिन्, ‘यो कागज नभएर मोइले काति दुःख पायो। जे काम गर्न खोज्यो पनि नागरिकता ल्याउ भन्छ। वडामा आएको काम गर्न पनि पाएन। आस्ति भर्खर चुनाउ भयो। चुनाउमा भोट हाल्न पनि पाएन। जे गर्न पनि यही कागज चाहिँदो रैछ। अबो हातमा नागरिकता आयो। म पनि अरुजस्तै मान्छे हुन पायो भन्ने लाग्याको छ।’

२०१८ सालमा जन्मिएकी सुन्तलीमाया नगरकोटी पनि नागरिकताबाट बञ्चित थिइन्। उमेर हुँदा उनलाई नागरिकताको खाँचो कहिल्यै परेन। जब उमेरले नेटो काट्दै गयो, तब जे काममा पनि नागरिकताको खाँचो पर्न थाल्यो।

आमा बुवा र श्रीमान् गुमाइसेकी नगरकोटीलाई नागरिकता बनाइदिने कोही भएनन्। १० वर्ष अघिदेखि एकल महिलाको रुपमा जीवनयापन गर्दै आएकी उनले न सरकारले प्रदान गर्ने भत्ता पाइन्, न त नेपाली नागरिकको पहिचान नै। 

स्थानीय तहको समन्वयमा उनको हातमा पहिलो पटक नागरिकता पर्‍यो। आफ्नै फोटो टाँसिएको नयाँ नागरिकता पाएपछि खुसी हुँदै उनले भनिन्, ‘नागरिकता नभएको कुरा वडाअध्यक्ष सरलाई भनेको थिइँ। उहाँले हामी मिलाउँदै छौँ भन्नुभएको थियो। आहिलेसम्म मेरो नागरिकता नभएर छोराछोरीको पनि नागरिकता बनाउन पाएको थिएन। मेरो बनेपछि मात्रै छोराछोरीको बन्छ भन्नुभएको थियो।’

सुन्तली, सुकुमाया र सुन्तलीमाया प्रतिनिधि पात्र मात्रै हुन्। उनीहरू सहित एकैदिन ३० जना स्थानीयलाई नागरिकता प्रदान गरिएको थियो।

विभिन्न कारणले नागरिताबाट वञ्चित भएका नागरिकहरूलाई आफ्नो अधिकार सुनिश्चित गराउने उदेश्य सहित पञ्जिकरण विभागका अधिकारी सहित आफू घरदैलोमै हिँडेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बताए। 

राक्सिराङ गाउँपालिकामा जिल्ला प्रशासन कार्यालयका अधिकारीहरू सहितको टोली निरीक्षण गर्न आउँदा जेष्ठ नागरिक, अपांगता भएका लगायत नागरिकहरूले विभिन्न कारणले नागरिकता नपाएको भन्ने पुष्टि भएपछि टोली पुगेर वितरण गरिएको उनले बताए। 

यता, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लका अनुसार पालिकाभर ३० जनालाई नागरिकता र १ हजार जनालाई राष्ट्रिय परिचय पत्र वितरण गरिएको हो।

विभिन्न मितिमा जिल्ला प्रशासन पुगेर फारम भरेर आएका स्थानीयको राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका अधिकारीले खैराङमै पुगेर प्रिन्ट गर्दै वितरण गरिदिएका हुन्। गाउँपालिकाले स्थानीय सरकार, घर घरमा सेवा कार्यक्रम मार्फत स्थानीयहरूको लागि यो सुविधा प्रदान गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad