दुईवटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको धादिङमा समानुपातिकतर्फ ५ जना थपिँदा सांसदको संख्या ७ पुगेको छ। फागुन २१ गते सम्पन्न निर्वाचनमा दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विजयी भएको थियो। प्रत्यक्षतर्फ धादिङ–१ मा आशिका तामाङ र धादिङ–२ मा बोधनारायण श्रेष्ठ विजयी भएका थिए।
दुवै क्षेत्रमा क्लिनस्वीप गरेको रास्वपाले धादिङकी बसुमाया तामाङलाई समानुपातिक सांसद बनाएको छ। आदीबासी जनजाति क्लष्टरबाट समानुपातिक सूचीमा परेपछि धादिङमा रास्वापाका मात्रै तीन जना सांसद भएका छन्। उनी रास्वपाको केन्द्रीय सहकोषाध्यक्ष समेत हुन्।
यता, बागमती प्रदेशको १३ वटै जिल्लाका ३३ वटा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ पराजित भएको नेकपा एमालेले समानुपातिकतर्फ धादिङकै दुईजनालाई सांसद बनाउने निर्णय गरेको छ। एमालेका पुराना नेता डा पुष्प कडेँल र गंगादेवी श्रेष्ठलाई समानुपातिक सांसद बनाएको हो।
एमाले बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेलका अनुसार बागमतीको उपत्यका बाहेकका १० जिल्ला मध्ये धादिङले मात्रै एमालेको समानुपातिक सांसद पाएको हो। एउटै जिल्लाका दुई नेतालाई सांसदमा सिफारिस गरिएको ढुंगेल बताउँछन्।
कँडेल खस आर्य क्लष्टरबाट समानुपातिक सांसदमा भएका हुन् भने श्रेष्ठ आदिवासी जनजाति महिला क्लष्टरबाट बनेकी हुन्।
नेपाली कांग्रेसले उर्मिला थपलिया (सीता) लाई समानुपातिक सांसद बनाएको छ। धादिङमा लामो समयदेखि कांग्रेसको राजनीतिमा भूमिका खेलेकी थपलियालाई महिला क्लष्टरबाट समानुपातिक सांसद बनाएको हो। कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी थपलिया पहिलो पटक संसदीय यात्रामा निस्किएकी हुन्।
यता, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरस्वती लामालाई समानुपातिक सांसद बनाएको छ। आदीबासी जनजाति महिला क्लष्टरबाट समानुपतिक सांसदमा बनेकी लामा राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङकी श्रीमती हुन्। उनी लामो समयदेखि राप्रपाको राजनीतिमा सक्रिय छिन्।
यो सँगै प्रत्यक्ष २ र समानुपातिक ५ गरी धादिङले ७ सांसद पाएको हो। समानुपातिक र प्रत्यक्ष गरी धादिङले एकैपटक यतीधेरै सांसद पाएको यो पहिलो अनुभव रहेको धादिङ कांग्रेसका सभापति रामनाथ अधिकारी बताउँछन्। पूर्वमन्त्री समेत रहेका अधिकारीका अनुसार धादिङले एकैपटक ७ जना सांसद पाएको भने यो पहिलो अनुभव हो।
‘२०७९ मा प्रत्यक्ष निर्वाचित दुईजना थियौँ, त्यसबाहेक राप्रपा र रास्वपाबाट गरी ३ जना हुनुहुन्थ्यो, अधिकारीले भने, ‘त्यतिबेला ५ जना सांसद थियौँ। यो पटक विभिन्न राजनीनिक दलबाट ५ जना समानुपातिक सहित ७ जना सांसद हुनुभयो। यो पटक सबै राजनीतिक दलले धादिङको इज्जत गरे भन्ने लागेको छ।’
Shares

प्रतिक्रिया