आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा धादिङ–१ को चुनावी माहोल रोचक बनेको छ। यस क्षेत्रमा पञ्चायतकालदेखि चुनावी प्रतिस्पर्धा गर्दै आएका पुराना नेतादेखि राजनीतिमा भर्खरै प्रवेश गरेका नयाँ अनुहारबीच प्रतिस्पर्धा हुँदै छ।
११ स्वतन्त्र सहित २४ जनाले उम्मेदवारी दर्ता गरेको धादिङ–१ मा अनुभवी नेता राजेन्द्र प्रसाद पाण्डेदेखि निर्वाचनकै लागि राजनीतिमा होमिएकी आशिका तामाङसम्म प्रतिस्पर्धामा छन्।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का पाण्डे र रास्वपाकी तामाङसहित नेकपा (एमाले)का भूमि प्रसाद त्रिपाठी, नेपाली कांग्रेसका कृष्ण रिजाल लगायत उम्मेदवारहरू चुनावी मैदानमा छन्। मुख्य प्रतिस्पर्धा पनि नेकपाका पाण्डे, एमालेका त्रिपाठी, कांग्रेसका रिजाल र रास्वपाकी तामाङबीच नै हुने देखिन्छ।
सामाजिक सञ्जालमा चर्चित आशिकाको इन्ट्रीले पुराना दललाई चुनौती थपेको छ। यो क्षेत्र यसअघि नेकपाका राजेन्द्र पाण्डेले जितेको क्षेत्र हो। २०७४ को आम निर्वाचनमा धादिङ १(१) बाट पाण्डे बागमती प्रदेश सभामा निर्वाचित भएका थिए।
तत्कालीन अवस्थामा एमालेबाट चुनाव लडेका पाण्डे पार्टी फुटेपछि नेकपा एकीकृत समाजवादीतिर लागे। उनी बागमती प्रदेशको मुख्यमन्त्री समेत बने।
२०७९ को निर्वाचनमा पाण्डेले कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायत पाँच दलीय गठबन्धनको साझा उम्मेदवार बन्ने मौका पाए। ३५ हजार ९३४ मत ल्याएर विजयी भएका पाण्डेले एमालेका उम्मेदवार भूमि त्रिपाठीलाई ७ हजार ९८१ मतान्तरले पराजित गरेका थिए। रास्वपाबाट उम्मेदवार बनेका हिमेश पन्तले १२ हजार ४७५ मत प्राप्त गरेका थिए।
आगामी निर्वाचनमा पनि एमाले पृष्ठभूमिका पाण्डे र एमाले नेता त्रिपाठी आमने सामने भएका छन्।
पाण्डेलाई यो पटक कांग्रेसको मत आउने छैन। अघिल्लो निर्वाचनमा गठबन्धनमा रहेको कांग्रेसले आफ्नै उम्मेदवार उठाएको छ।
पार्टी समायोजन भएका कारण तत्कालीन माओवादी केन्द्रको मत भने पाण्डेकै पोल्टामा पर्ने छ। यस क्षेत्रमा प्रभावशाली मानिने नेकपाका केन्द्रीय सदस्य शालिकराम जम्मकट्टेलको साथ पनि पाण्डेलाई मिल्नेछ।
तथापि, एमाले धादिङको सबैभन्दा ठूलो दल हो। २०७९ को निर्वाचनमा समानुपातिक तर्फ एमाले पहिलो दल बनेको थियो। एमालेले २४ हजार ८१३ मत प्राप्त गर्दा दोस्रो भएको कांग्रेसले १६ हजार ५६७ मत प्राप्त गरेको थियो।
प्रत्यक्षतर्फ कलम चुनाव चिह्नका पाण्डे विजयी भए पनि कलमको समानुपातिक मत ६ हजार ३५ मात्रै थियो। तत्कालीन माओवादी केन्द्र १५ हजार ७९४ मतसहित तेस्रो भएको थियो। पार्टी समायोजनापछि बनेको नेकपामा एकीकृत समाजवादी र माओवादीको मत पनि समायोजित हुनेछ। दुवै दलको मत जोड्दा २१ हजार ८२९ हुन आउँछ। यो अंक गणितले समेत धादिङ–१ मा एमाले नै बलियो देखाउँछ।
पाण्डेले धादिङको राजनीतिमा पकड कायम गर्ने नेताको परिचय बनाएका छन्। उनको यो छैठौँ पटकको चुनावी यात्रा हो। २०४३ सालदेखि उनी विभिन्न चुनावी प्रतिस्पर्धामा होमिँदै आएका अनुभवी नेता हुन्।
आगामी निर्वाचनमा एमालेका अनुभवी र कांग्रेसका नयाँसँगै रास्वपाका उम्मेदवार समेत उनका लागि चुनौती बनेका छन्।
सामाजिक काम गरेर देशभर चर्चा कमाएकी आशिका प्रतिस्पर्धामा आउनु चुनौतीपूर्ण त छ नै, त्यस बाहेक दुवैजना एउटै वडाका समेत हुन्। धादिङको गजुरी गाउँपालिका–२ स्थायी ठेगाना भएका राजेन्द्र र आशिका दुवैजना एउटै वडाबाट प्रतिस्पर्धामा उत्रँदा मतदाता अलमलिने अवस्था छ।
रास्वपाले समानुपातिकतर्फ सिफारिस गर्न खोजे पनि उनले प्रत्यक्षतर्फ नै जित्न सक्ने आँट बोकेर मैदानमा उत्रिएकी छन्। २०७९ को निर्वाचनमा प्रत्यक्षतर्फ १२ हजार मत कटाएको रास्वपाले समानुपातिमा भने १० हजार १२७ मत मात्रै प्राप्त गरेको थियो।
तर पार्टी भन्दा पनि व्यक्तिका कारण आशिकासँग पुराना दलहरू हच्किएका छन्।
यो क्षेत्रमा कांग्रेसबाट उम्मेदवारी दिएका रिजाल पनि पहिलो पटक चुनावी मैदानमा होमिएका हुन्। यता, चारपक्षीय प्रतिस्पर्धामा २०७४ को प्रतिनिधि सभामा विजयी त्रिपाठी पनि २०७९ को हारको बदला लिने दाउमा छन्।
Shares

प्रतिक्रिया