बागमती


हिउँद लागेयता काठमाडौँ उपत्यकामा पहिलोपटक वर्षा

हिउँद लागेयता काठमाडौँ उपत्यकामा पहिलोपटक वर्षा

ललितपुरको कुपन्डोल हाइटबाट बुधबार बिहान १० बजे लिइएको तस्बिर।


नेपालखबर
माघ १४, २०८२ बुधबार १०:१६, काठमाडौँ

हिउँद लागेयता काठमाडौँ उपत्यकामा पहिलोपटक आज (माघ १४ अर्थात् जनवरी २८ मा) वर्षा भएको छ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार आज काठमाडौँमा यो वर्षको पहिलो हिउँदे वर्षा भएको हो। 

‘विन्टर (हिउँद) लागेपछि काठमाडौँमा पानी परेको आजै हो’, उनले बुधबार बिहान १० बजेतिर नेपालखबरसँग भनिन्, ‘पछिल्लो एक घण्टाको रेकर्ड हेर्दा काठमाडौँ उपत्यकामा पानी पर्न सुरु भइसकेको छ।’ 

ललितपुरको कुपन्डोल हाइटबाट बुधबार बिहान १० बजे लिइएको तस्बिर।

उनले थपिन्, ‘यसअघि काठमाडौँ उपत्यकामा अन्तिमपटक नोभेम्बर ५ मा वर्षा भएको थियो। त्यो पोस्ट-मनसुन सिजन नै थियो।’  

डिसेम्बरदेखि विन्टर अर्थात् हिउँद लागेको हो। यो सिजन फेब्रुअरीसम्म रहन्छ।

मौसमविद् महर्जनका अनुसार आज दिनभर काठमाडौँमा मौसम खुल्ने सम्भावना कम छ।  

‘वर्षाचाहिँ हल्का कतैकतै मध्यमसम्म पनि हुने देखिएको छ’, उनले भनिन्। 

साँझदेखि चाहिँ बिस्तारै बादल हटेर मौसम खुल्ने सम्भावना रहेको उनले बताइन्।

नेपालको मौसम ४ भागमा वर्गीकरण 

मौसमविद्का अनुसार नेपालको मौसमलाई जम्मा ४ भागमा वर्गीकरण गरिएको छ : प्रि-मनसुन, मनसुन, पोस्ट-मनसुन र विन्टर।

जसमध्ये प्रि-मनसुन ३ महिना- मार्च, अप्रिल र मेसम्म रहन्छ भने त्यसपछि मनसुन सुरु हुन्छ।  

मनसुन ४ महिना जुन, जुलाई, अगस्ट र सेप्टेम्बरसम्म रहन्छ। मनसुन सकिएपछि पोस्ट-मनसुन सुरु हुन्छ।

मौसमविद्का अनुसार पोस्ट-मनसुन सिजन अक्टोबर र नोभेम्बर २ महिना रहन्छ। 

यसपछि डिसेम्बरदेखि विन्टर अर्थात् हिउँद लाग्छ र यो सिजन ३ महिना अर्थात् फेब्रुअरीसम्म रहन्छ। 

यसपछि मार्चमा फेरि प्रि-मनसुन सुरु हुन्छ। मेमा यो सिजन सकिएर जुन महिनादेखि फेरि मनसुन लाग्छ। 

यस वर्ष मनसुन औसत मिति (जुन १३) भन्दा १५ दिनअगाडि (मे २९) नै प्रवेश गरेको थियो भने बाहिरिँदा पनि सरदर मिति (अक्टोबर २) भन्दा ८ दिन ढिला अक्टोबर १० (असोज २४) मा बाहिरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad