बागमती


मकवानपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

मकवानपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

नेपालखबर
माघ २, २०८२ शुक्रबार १८:२४, काठमाडौँ

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुरका निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।

शुक्रबार (आज) हेटौंडा उपमहानरपालिका–११ स्थित प्रादेशिक कृषि थोक बजारको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो। 

दुईवटा निर्वाचन क्षेत्र रहेको मकपानपुरमा प्रतिनिधि सभा क्षेत्र निर्वाचन क्षेत्र नम्बर १ को लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय र २ का लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।

निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश गीता श्रेष्ठ र निर्वाचन अधिकृतमा जिल्ला सरकारी वकिलको कार्यालय मकवानपुरका जिल्ला न्यायधिवक्ता देवेन्द्रराज आचार्यलाई नियुक्त गरेको थियो। 

बागमती प्रदेश सरकारका प्रमुख सचिव बाबुराम अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सम्बोधन गर्दै उनले निर्वाचनलाई भय रहित, शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सबैको भूमिका अपरिहार्य रहेको बताए।

मुलुक निर्वाचनको माहोल बनिसकेको बताउँदै उनले भने, ‘देश निर्वाचनमय बनिसक्यो। अब निर्वाचन सफल बनाउनुको विकल्प छैन। देशको राजनीतिलाई सही दिशामा लैजान निर्वाचन अपरिहार्य छ। त्यसैले सबैले आ–आफ्नो स्थानबाट निर्वाचन सफल बनाउन सकारात्मक भूमिका खेलौँ।’

यस्तै, मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले निर्वाचन सफल बनाउन सम्पूर्ण नेपालीको भूमिका अतुलनीय रहने बताइन्। विषम परिस्थितिमा निर्वाचन सफल बनाउन सबै निकाय र सरोकारवाला पक्षबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

निर्वाचनसँग सम्बन्धित सूचना प्रवाह, शान्ति–सुरक्षा लगायतका विषयमा सत्यतथ्य र जिम्मेवार ढंगले सबै सरोकारवाला निकायहरु गम्भीरतापूर्वक लाग्न मुख्य निर्वाचन अधिकृत श्रेष्ठले आग्रह गरिन्। 

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामा, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी पुस्कर बोगटी तथा सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति रहेको थियो।

प्रतिनिधिसभा अन्तर्गत दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा हाल १ सय ६७ मतदान स्थल र ३ सय ७४ मतदान केन्द्र तोकिएका छन्। निर्वाचन क्षेत्र नम्बर १ मा ६२ मतदान स्थल र १ सय ७८ मतदान केन्द्र रहेका छन् भने निर्वाचन क्षेत्र नम्बर २ मा १ सय ५ मतदान स्थल र १ सय ९६ मतदान केन्द्र रहेका छन्।

मतदाता विवरणअनुसार निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख ५८ हजार ४३५ र निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख ५६ हजार ८९९ मतदाता रहेका छन्। जिल्लाभर कुल मतदातामध्ये महिला १ लाख ५३ हजार ३७६, पुरुष १ लाख ६१ हजार ९५३ तथा अन्य ५ जना रहेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad