बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति पुनर्गठन गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले समस्याग्रस्त सहकारीहरूको व्यवस्थापन र बचतकर्ताको रकम फिर्ता गराउने उद्देश्यसहित ‘समस्याग्रस्त समितिको पुनर्गठन गरेको हो।
यसअघि रिक्त रहेको समितिको अध्यक्ष पदमा शिवप्रसाद सिग्देललाई नियुक्त गर्ने निर्णय गरेको छ भने समितिका सदस्यमा दीपक केसी र रामेश्वर ढकाल नियुक्त गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङका अनुसार समस्यामा परेका सहकारीहरूको व्यवस्थापन व्यवस्थित बनाउने र पीडित बचतकर्तालाई समयमै राहत दिन समितिको पुनर्गठन गरिएको हो।
यस्तै, मन्त्रिपरिषद् बैठकले काभ्रेको धुलिखेलमा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला कार्यालयलाई भक्तपुरमा स्थानान्तरण गर्ने निर्णय पनि गरेको छ। स्वास्थ्य मन्त्रालयका प्रस्तावमा यसअघि धुलिखेलबाट सेवा दिँदै आएको प्रयोगशाला अब भक्तपुरबाट सञ्चालन हुनेछ।
प्रवक्ता तामाङका अनुसार मन्त्रिपरिषद् बैठकले एक विद्यालय, एक नर्स कार्यक्रम सञ्चालनसम्बन्धी तेस्रो कार्यविधि संशोधन पनि पारित गरिएको छ।
Shares

प्रतिक्रिया