बागमती


राष्ट्रिय सभाः बागमतीमा २ सिटका लागि ६ जनाको उम्मेदवारी, कस्को पल्लाभारी?

राष्ट्रिय सभाः बागमतीमा २ सिटका लागि ६ जनाको उम्मेदवारी, कस्को पल्लाभारी?

सुनिता विष्ट
पुस २३, २०८२ बुधबार २०:४२, हेटौँडा

राष्ट्रिय सभा निर्वाचनका लागि बागमती प्रदेशमा रिक्त २ सिटका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। बुधबार निर्वाचन अधिकृतको कार्यालय, हेटौँडामा ४ राजनीतिक दलबाट ६ जनाले उम्मेदवारी दिएका हुन्। 

नेपाली कांग्रेस र नेकपा एमालेले साझा उम्मेदवार उठाएको छन् भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र  नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले आ-आफ्नो उम्मेदवार उठाएका छन्।

नेपाली कांग्रेस र नेकपा एमालेको २ दलीय गठबन्धनको भागबन्डामा एमालेका प्रेम दंगालले उम्मेदवारी दर्ता गराएका छन् भने महिला क्लस्टरबाट कांग्रेसकी गीता देवकोटाले उम्मेदवारी दर्ता गराएका हुन्। 

एमालेका तर्फबाट बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्री विनु रायमाझी प्रस्तावक र नेकपा एमाले मकवानपुरका उपाध्यक्ष तथा भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाको समर्थनमा एमालेका दंगालले मनोनयन दर्ता गरेका हुन्।

यता, बागमती प्रदेशसभा सदस्य किरण थापा प्रस्तावक र रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटाको समर्थनमा कांग्रेसकी देवकोटाले मनोनयन दर्ता गराएकी हुन्। 

नेकपा पार्टीका तर्फबाट बागमती प्रदेशमा अन्यतर्फ प्रेम सापकोटा र महिला क्लस्टरमा सरोज कुमारी झाले उम्मेदवारी दर्ता गरेकी हुन्। बागमती प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामी प्रस्तावक र बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्री समर्थनमा सापकोटाले मनोनयन दर्ता गरेका हुन्। 

हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा प्रस्तावक र मनहरी गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगरको समर्थकमा झाले उम्मेदवारी दिएकी हुन्। 

त्यसोत, राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेपाल मजदुर किसान पाटी (नेमकिपा) का तर्फबाट २ जनाले मनोनयन दर्ता गरेका छन्। बागमती प्रदेश तर्फको अन्य क्लस्टरमा विक्रम ढुकुछु र महिला क्लस्टरमा कविता महर्जनले मनोनयन दर्ता गरेका हुन्। 

प्रस्तावक सुनिल प्रजापति र रजनी जोशी समर्थनमा ढुकुछुले मनोनयन दर्ता गरेका हुन् भने बागमती प्रदेश सांसद सुरेन्द्रराज गोसाँई प्रस्तावक र बागमती प्रदेश सांसद सिर्जना सायजुको समर्थनमा जोशीले मनोनयन दर्ता गरेकी हुन्।

कसको पल्लाभारी?
बागमती प्रदेशमा रिक्त हुन लागेको राष्ट्रिय सभा सदस्यको २ सिटका लागि ६ जनाको उम्मेदवारी दर्ता हुँदा कुन राजनीतिक दलको अंकगणित कस्तो छ? भन्ने विषयले सबैको ध्यान खिचेको छ। 

प्रदेशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले नेकपा एमालेसँग सत्ता साझेदारीको हात अघि बढाएसँगै उम्मेदवार बनेका ६ जनामध्ये गठबन्धनका उम्मेदवार दंगाल र देवकोटा विजयी हुने अंकगणित प्रष्ट छ। 

बागमती प्रदेश सभामा ३७ सिट रहेको कांग्रेसको प्रदेशको स्थानीय तहमा प्रमुख र उपप्रमुख गरी १०८ सिट छ। एमालेको प्रदेश सभामा २७ सिट छ भने स्थानीय तहमा ६० सिट छ। राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सांसदको मतभार अर्थात् एक मत बराबर ५३ र स्थानीय तहको प्रमुख÷उप्रमुखको एक मत बराबर १९ मतभार हुन आउँछ। 

यो अंकगणित अनुसार प्रदेश सांसदतर्फ कांग्रेसको ३७ र एमालेको २७ गरी ३ हजार ३९२ हुन आउँछ। स्थानीय तहमा कांग्रसेको १०८ र एमालेको ६० सिट छ। 

स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १९ हुन आउँछ। यो अंकगणित अनुसार स्थानीय तहतर्फ यी २ दलको ३ हजार १९२ हुन्छ। प्रदेश र स्थानीय तह दुवै गरी कांग्रेस–एमाले गठबन्धनको मतभार ६ हजार ५८४ हुन्छ। दलीय अंक गणितकै आधारमा सत्ता गठबन्धनका साझा उम्मेदवार दंगाल र देवकोटाको पल्लाभारी हुनेमा शंका छैन। 

यता, बागमती प्रदेशमा दोस्रो दलको हैसियत बनाएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पनि आफ्नो उम्मेदवार उठाए पनि जित्ने सम्भावना भने छैन। तत्कालीन नेकपा माओवादी केन्द्रको प्रदेश सिट २१ रहेको छ भने स्थानीय तहमा ५७ छ। 

तत्कालीन नेकपा एकीकृत समाजवादीको प्रदेश सभामा ७ सिट हुँदा स्थानीय तहमा ९ सिट छ। यी नेकपाका यी दुई दलको बागमती प्रदेश सभामा १ हजार ४८४ मतभार छ भने स्थानीय तहतर्फ १ हजार २५४ मतभार छ। बागमतीमा नेकपाको कुल मतभार २ हजार ७३८ हुन्छ। 

यता, राष्ट्रिय सभा सदस्यको लागि उम्मेदवारी दर्ता गराएको नेमकिपाको पनि बलियो मतभार छैन। प्रदेश सभामा ३ सिट र स्थानीय तहमा २ सिट रहेको नेमकिपाको कुल मतभार १९७ मात्रै हुन आउँछ। 

 यो अंकगणित हेर्ने हो भने एमाले बागमती प्रदेशतर्फबाट राष्ट्रिय सभामा एमालेको एक सिट सुरक्षित हुने देखिन्छ। तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित भएकी गंगाकुमारी बेलवासेको सिटमा एमालेका प्रेम दंगाललाई साझा उम्मेदवार बनाइएको हो। 

यता, महिला क्लस्टरमा निर्वाचित भएकी इन्दीरा देवी गौतमको सिट कांग्रेसले कब्जा गर्ने निश्चित छ। तत्कालीन माओवादी केन्द्र अर्थात नेकपाले भने राष्ट्रिय सभामा बागमती तर्फको साख जोगाउन नसक्ने अवस्थामा छ।

राष्ट्रिय सभा सदस्य निर्वाचन कार्यक्रमअनुसार आउँदो माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने तालिका छ। बागमती प्रदेशको लागि हेटौँडा-४ स्थित भुटनदेवी माध्यामिक विद्यालयलाई मतदान केन्द्र तोकिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad