नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनबाट बागमती प्रदेशका ७ जना सांसद एमालेको केन्द्रीय कमिटीमा अटाएका छन्। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया, दलका प्रमुख सचेतक एकालाल श्रेष्ठ, सांसदहरु अमन मास्के, भारती पाठक, शकुन्तला श्रेष्ठ र उर्मिला सुनुवार केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।
यस्तै, कृष्ण प्रसाद सिलवाल केन्द्रीय अनुशासन आयोग सदस्यमा निर्वाचित भएका छन्। दलका नेता जगनाथ थपलिया, सांसद अमन मास्के र सकुन्तला श्रेष्ठले केन्द्रीय सदस्यको खुलातर्फ उम्मेदवारी दिएका थिए। थपलियाले १२०९, मास्केले १४३८ र शकुन्तला श्रेष्ठले १७९५ मत प्राप्त गर्दै खुला तर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।
यस्तै, समावेशी आदीवासी जनताती क्लस्टरबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेका एमाले बागमती संसदीय दलको प्रमुख सचेतक एकालाल श्रेष्ठले १५०९ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा डेब्यु गरेका छन् भने महिला क्लसटरबाट उर्मिला सुनुवार र भारती पाठक निर्वाचित भएका हुन्। पाठक केन्द्रीय सदस्यमा दोहोरिएकी हुन् भने सुनुवार प्रदेश कमिटीबाट केन्द्रीय कमिटीमा डेब्यु गरेकी हुन्।
ओली प्यानलबाट उम्मेदवार बनेका ६ जना सांसद यसरी केन्द्रीय सदस्यमा निर्वाचित हुँदा ईश्वर पोखरेल प्यानलबाट उम्मेदवारी दिएका २ सांसद भने पराजित भएका छन्। प्रदेशका पूर्वमन्त्री समेत रहेका केशव पोखरेल र सांसद ज्ञानबहादुर तामाङ पराजित भएका हुन्। पोखरेलले खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए भने तामाङले समावेशी आदीवासी जनजाती क्लष्टरबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए।
यता, पूर्वमन्त्री प्रकाश पनि श्रेष्ठ पराजित भएका हुन्। श्रेष्ठले खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए। ओलीको प्यानलमा आफ्नो नाम नअटाएपछि स्वतन्त्रबाट खुला सदस्यमा उम्मेदवारी दिएका श्रेष्ठले ४१४ मत मात्रै प्राप्त गरे।
यता, प्रदेशका पूर्वमन्त्री एवम् सांसद कृष्ण प्रसाद सिलवाल केन्द्रीय अनुशासन आयोगको सदस्यमा निर्वाचित भएका छन्। ओली प्यानलबाट उम्मेदवार बनेका उनले १८०३ मत प्राप्त गर्दै आयोग सदस्यमा निर्वाचित भएका हुन्।
प्रदेशका अर्का पूर्वमन्त्री रामेश्वर श्रेष्ठ केन्द्रीय लेखा आयेग सदस्यमा निर्वाचित भएका छन्। उनले १६५१ मत प्राप्त गरेका छन्। उनी पनि ओली प्यानलबाटै उम्मेदवार बनेका थिए। यससँगै बागमती प्रदेश सभामा रहेका एमालेका २७ सांसदमध्ये ८ जना एमालेको केन्द्रीय कमिटीमा अटाएका छन्।
Shares

प्रतिक्रिया