नेकपा एमाले बागमती प्रदेश अधिवेशनमा अध्यक्षमा पराजित भएका मकवानपुरका एमाले नेता एवम् पूर्वसांसद कृष्ण प्रसाद दाहाल केन्द्रीय सदस्यमा पनि पराजित भएका छन्।
ईश्वर पोखरेल प्यानलबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका दाहाल पराजित भएका हुन्। यसअघि २०८० असोज ८ र ९ गते काठमाडौँमा सम्पन प्रदेश कमिटीको निर्वाचनमा कैलाश ढुंगेलसँग उनी पराजित भएका थिए।
एमाले अध्यक्ष केपी शर्मा ओली निकट ढुंगेलसँग २५७ मतान्तरले पराजित भएका दाहाल केन्द्रीय सदस्यमा पनि इतर समूहबाट उम्मेदवारी दर्ता गराएका थिए।
मकवानपुरमा एमाले स्थापित गर्न महत्त्वपूर्ण योगदान दिएका दाहाल कुनै समय तत्कालीन राप्रपा अध्यक्ष कमल थापालाई निर्वाचनमा हराएर चर्चामा आएका थिए। उनी पछिल्लो समय भने पार्टीकै आन्तरिक चुनावमै पछि पर्न थालेका हुन्।
२०४८ सालको संसदीय निर्वाचन, २०५४ र २०७४ सालको निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचन जितेका थिए।
तर पछिल्लो समय पार्टीको संस्थापन छोडेर इतर समूहबाट निर्वाचनमा होमिन थालेदेखि दाहालको राजनीतिक यात्रा ओरालो लागेको छ। एमाले संस्थापन पक्षको बलियो पकड रहेको मकवानपुरमा इतर समूहको प्रभाव कम छ। जसको असर उनले प्रदेश अधिवेशनदेखि केन्द्रसम्मै भोग्न परिरहेको छ।
प्रदेश अध्यक्षमा २५७ मतान्तरले पराजय भोगेका उनले केन्द्रीय सदस्यमा ७०७ मत मात्रै प्राप्त गरेका हुन्।
ओली प्यानलबाट उम्मेदवार बनेका मकवानपुरका सबैजना निर्वाचित भएका छन्।
Shares

प्रतिक्रिया