बागमती


हेटौँडामा भग्नावशेषमाथि व्यवसाय (तस्बिरहरू)

हेटौँडामा भग्नावशेषमाथि व्यवसाय (तस्बिरहरू)

सुनिता विष्ट
मंसिर २३, २०८२ मंगलबार १८:१६, हेटौँडा

गत शनिबार सडक डिभिजन कार्यालय हेटौँडाले राष्ट्रिय राजमार्ग सीमा सुरक्षा कार्यक्रम, २०८२ अनुसार सडक सीमाबाट २५/२५ गजभित्र पर्ने संरचना हटाउन सुरु गर्‍यो। 

एक दिनमै ५ सय बढी संरचनाहरूमा डोजर चलाएको सडक डिभिजनको काम आइतबार दिउँसोबाट रोकियो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की विघटित प्रतिनिधि सभा सदस्य विन्दवासिनी कंसाकारले सर्वोच्चमा दर्ता गरेको रिट निवेदनका आधारमा सर्वोच्चले काम रोक्न स्टे अर्डर जारी गरेको थियो।

सडक डिभिजन कार्यालयले अदालतको आदेश ढिलो प्राप्त भएको बताउँदै घरहरू भत्काउन रोकेर भत्काइएका घर टहराको भग्नावशेष अलपत्र छाडेको छ।

सडक विस्तारका क्रममा घर–टहरा भत्किए पनि हेटौँडा राप्तिरोडका व्यापारीहरू भग्नावशेषमै बसेर व्यापार गरिरहेका छन्। भत्किएका संरचना, असरल्ल भएका इँटा– ढुंगा, काठ र बिजुलीको तारकै थुप्रोमाथि पुरानै सटर भएको व्यवसाय सुरु गरेका हुन्। 

सडक विस्तार विरुद्ध सर्वोच्चको स्टे अर्डर आएपछि आउँदो २६ गते सम्मका लागि सडक विस्तार कार्य रोकिएको छ। सो दिनको छलफलपछि मात्रै बाँकी संरचना भत्काउने र यसअघि भत्काइएका जोखिमयुक्त संरचना पन्छ्याउन सुरु गरिनेछ।

बाँकी संरचना हटाउने र भत्काइएका संरचना हटाएर सडक सफा गर्ने प्रक्रिया रोकिएपछि हेटौंडा बजार क्षेत्रमा आवतजावत नै जोखिमपूर्ण बनेको छ।

यस्तै अस्तव्यस्ता र जोखिमका बीच व्यवसायीहरू भने जोखिम मोलेरै व्यापार गरिरहेका छन्। घर, पसल भत्किए पनि बैंकको व्याज तिर्नका लागि बाध्यताले जोखिम मोलेरै व्यापार गर्न परिरहेको व्यवसायीहरू बताउँछन्। उनीहरूले कपडा, जुत्ताचप्पल, व्याग देखि अन्य दैनिक उपभोग्य बस्तुहरू सडकमै फिजाएर व्यापार सुरु गरेका हुन्।

यता, मकवानपुर उद्योग वाणिज्य संघले जोखिम मोलेर व्यवसाय सञ्चालन नगर्न व्यवसायीहरूलाई आग्रह गरेको छ। ठाउँको अभाव भएका व्यवसायीले महासंघमा निवेदन दिन सक्ने भन्दै उचित स्थानमा सटरहरू खोज्न सहजीकरण गरिदिने मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाटले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad