नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि बागमतीको १२ जिल्लाहरूले प्रतिनिधिको नाम टुंगो लगाउँदा सिन्धुलीमा भने सकस परेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली निकटका प्रतिनिधि छनोट गर्ने प्रयास कारण हालसम्म प्रतिनिधि छनोट प्रक्रियामै सकस देखिएको हो।
ओली निकट रहेका सिन्धुली एमालेका अध्यक्ष महेन्द्रदेव श्रेष्ठ ओली निकटकै प्रतिनिधि छनोट गर्ने प्रयासमा लागेका कारण प्रतिनिधि छनोट प्रक्रिया टुंगो नलागेको स्रोतले जनाएको छ। दुईवटा क्षेत्र रहेको सिन्धुलीमा निर्वाचन क्षेत्र नम्बर २ मा सर्वसम्मतीमा प्रतिनिधि छनोट भैसकेका छन् भने क्षेत्र नम्बर १ मा टुंगो लाग्न बाँकी छ।
क्षेत्र नम्बर २ बाट ८ जना प्रतिनिधिको नाम टुंगो लागेको एमाले सिन्धुलीका अध्यक्ष श्रेष्ठले जानकारी दिए। उनका अनुसार खुलातर्फ उनी सहित कर्णबहादुर घिसिङ, गोविन्दलाल माझी र रोमनराज गिरी प्रतिनिधि छनोट भएका हुन्। यस्तै, महिला तर्फबाट अप्सरा खड्का, प्रमिला वाइवा र रस्मिला देवकोटा चयन भएका छन् भने युवा तर्फबाट दीपक कुमार माझी महाधिवेशन प्रतिनिधि छनोट भएका छन्।
जिल्ला अध्यक्ष श्रेष्ठ ओली निकट भए पनि उनी सहित छनोट भएका ८ जना प्रतिनिधि मध्ये ५ जना एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल निकटको रहेको स्रोतको दाबी छ। केही दिन अघि गुण्डु पुगेर जिल्लाबाट छनोट हुने १७ जना प्रतिनिधिमा सिंगो टीम नै ओली निकटको ल्याउने वचन दिएका अध्यक्ष श्रेष्ठको योजनामा ब्रेक लागेपछि प्रतिनिधि छनोट पेचिलो बनेको बताइएको छ।
यता, ९ जना प्रतिनिधि छनोट गर्न बाँकी रहेको सिन्धुली क्षेत्र नम्बर १ मा पनि पोखरेल समूह हावी हुँदा प्रतिनिधि छनोट प्रक्रिया नै प्रभावित बनेको छ। यहाँ नाम सिफारिक भएका ९ जनामध्ये अधिकांश पोखरेल समूहका परेपछि ओली निकट जिल्ला नेताहरूले प्रतिनिधिको नाम सार्वजनिक गरेको छैन।
सिन्धुलीका एमाले नेता कर्णबहादुर घिसिङका अनुसार अहिले पनि नेताहरू बैठकमै सहभागी छन्। सोमबार (भोलि) बिहानसम्ममा अन्तिम रुप दिने गरी छलफल भैरहेको उनले बताए।
बागमतीका १२ जिल्लामा एमाले प्रतिनिधि छनोट, सिन्धुलीमा चयन हुन सकेन
Shares

प्रतिक्रिया