जेनजी आन्दोलनका क्रममा विराटनगरको सरकारी कार्यालयहरु आगजनी गर्ने समूहका नाइके मध्येका एक ताजिम अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ।
तत्कालीन नेकपा माओवादी केन्द्रका नेता समेत रहेका अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो। उनी सहित पाँच जना पक्राउ परेका छन्।
अमनलाल मोदी सांसद तथा मन्त्री भएको समयमा उनी उनका विश्वास पात्र तथा स्वकीय सचिव समेत थिए।
गत भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा अन्सारीले सरकारी कार्यालयहरुमा तोडफोड र आगजनी गर्ने एउटा समूहको नेतृत्व गरेका थिए। उनकै नेतृत्वमा मोरङका अधिकांश सरकारी कार्यालयहरु जलेको आरोप लाग्दै आएको थियो।
तोडफोड र आगजनीमा संलग्न भएको विभिन्न प्रमाणहरूको आधारमा उनी सहितका केही व्यक्तिहरु पक्राउ परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङ कवित कटुवालले विराटनगरबाट ५ जना र रंगेलीबाट ३ जना सहित आजै ८ जना पक्राउ गरिएको जानकारी दिए।
उनका अनुसार, अन्सारी विराटनगरको बजारबाट पक्राउ परेका हुन्। बिरारटनगरबाट पक्राउ पर्नेहरुमा अन्सारी सहित राजिव यादव, अरुण साह सोनार, महेश नेपाल र आवाज पौडेल पक्राउ परेका छन्।
उनीहरुको सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। अन्सारीले विराटनगरका आधा दर्जन भन्दा बढी सरकारी कार्यालयमा आगो लगाएको भिडिओ तथा फोटोहरूको आधारमा उनलाई नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ।
Shares

प्रतिक्रिया