बागमती


यस्ता छन् मुख्यमन्त्री बानियाँ नेतृत्वको सरकारका सय दिने उपलब्धि

यस्ता छन् मुख्यमन्त्री बानियाँ नेतृत्वको सरकारका सय दिने उपलब्धि

नेपालखबर
मंसिर ९, २०८२ मंगलबार १९:८, हेटौँडा

बागमती प्रदेश सरकारले आफ्नो सय दिने उपलब्धि सार्वजनिक गरेको छ। गत साउन २० गते बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका इन्द्रबहादुर बानियाँले मंगलबार मुख्यमन्त्री कार्यालयमा आफू नेतृत्वको सरकारको सय दिने उपलब्धि सार्वजनिक गरेका हुन्।

आयोजित कार्यक्रममा मुख्यमन्त्री बानियाँले आफू नेतृत्वको सरकारको सय दिने उपलब्धि सार्वजनिक गरेका हुन्। 

यस अवधिमा १६.६ प्रतिशत राजश्व संकलन गर्न सफल हुनु नै प्रदेश सरकारको प्रमुख उपलब्धिको रुपमा लिनुपर्ने मुख्यमन्त्री बानियाँले बताए। कुल ११ अर्ब १९ करोड ९२ लाख रुपैयाँ राजश्व संकलन भएको बानियाँले बताए। यस्तै, यस अवधिमा ६ वटा मन्त्रिपरिषद् बैठक बसेर ४७ वटा नीतिगत निर्णय गरिएको बताइएको छ। 

बानियाँका अनुसार बागमती प्रदेश सभाको २३ असार २०८२ मा बसेको बैठकबाट स्वीकृत भएको प्रदेश सरकारको प्रशासनिक पुनर्संरचना गर्ने सम्बन्धी संकल्प प्रस्तावको कार्यान्वयनार्थ ३ महिना भित्र प्रशासनिक पुनर्संरचनाको खाका पेश गर्ने गरी उच्चस्तरीय प्रशासनिक पुनर्संरचना निर्देशन समिति गठन गरी कार्य अगाडि बढाइएको छ।

यस्तै, अति गरिव र सीमान्तकृत समुदायलाई गास, बास र कपास सुनिश्चित गर्ने नीतिको मस्यौदा तर्जुमा गर्ने कार्य भइरहेको उल्लेख गरिएको छ भने स्वास्थ्य क्षेत्रमा उच्च शिक्षा अध्ययन गर्ने १० जना विपन्न र सीमान्तकृत परिवारका जेहेन्दार विद्यार्थीहरूलाई प्रदेश सरकारले छात्रवृत्ति उपलब्ध गराउने निर्णय कार्यान्वयन गराउन कार्यविधि निर्माण गर्ने कार्य सुरु गरिएको छ। 

प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्नको लागि विभिन्न मन्त्रालय अन्तर्गत ५०४ वटा अस्थायी दरबन्दी स्वीकृति गरिएको मुख्यमन्त्री बानियाँले बताए। उनका अनुसार यस अवधिमा भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा भएका बागमती प्रदेशभित्रका सरकारी तथा निजी सम्पत्ति र भौतिक संरचनाहरूको क्षतिको विवरण संकलन तथा मूल्यांकन गरी पुनःनिर्माणको कार्ययोजना र स्रोत व्यवस्थापन सम्बन्धमा अध्ययन विश्लेषण सहित क्षति भएका भौतिक संरचनाहरूको पुनःनिर्माणको कार्य प्रारम्भ गरिएको छ। 

जेन–जी प्रदर्शनबाट क्षति पुगेका कारण प्रहरीका लागि ८५ थान दुईपाङ्ग्रे सवारी साधन खरिदका लागि २ करोड ७५ लाख ४० हजार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र बागमती प्रदेश प्रहरी कार्यालयलाई अख्तियारी प्रदान गरिएको उनले बताए।

नेपाल प्रहरीतर्फ नयाँ प्रहरी भवन निर्माण र मर्मत सम्भार गर्न १३ करोड ७४ लाख ९१ हजार रकम अख्तियारी प्रदान गरिएको सय दिने उपलब्धिमा उल्लेख गरिएको छ भने सशस्त्र प्रहरी बल नेपाल तर्फ संरचनात्मक सुधारका लागि १ करोड ६० लाख रकम विनियोजन गरी खर्च गर्न अख्तियारी प्रदान गर्ने प्रक्रिया अगाडि बढाइएको छ। 

यो अवधिमा भौतिक पूर्वाधार तर्फ ११.५ किलोमिटर सडक कालोपत्रे, ६.७४ किलो मिटर सड़क ढलान, ५ किलो मिटर सडक ग्राभेल, ५ वटा सड़क पुल निर्माण तथा १९२.५ किलो मिटर सड़क मर्मत सम्भार गर्ने कार्य सम्पन्न गरिएको छ। यस्तै, चेपाङ, वनकरिया, माझी, बोटे एकिकृत बस्ती विकास कार्यक्रम अन्तर्गत १६ वटा आवास निर्माण तथा खरको छानो उन्मूलन कार्यक्रम अन्तर्गत २० वटा आवास निर्माण गरिएको दाबी गरिएको छ। 

यता, सहकारी तथा गरिबी निवारणतर्फ प्रदेश गरिबी निवारण नीतिको मस्यौदा तयार गरिएको बताइएको छ भने उजुरी परेका सहकारीहरुमध्ये ७ वटा सहकारीको समस्या समाधान गर्न मेलमिलापका लागि सम्बन्धित पक्षसँग छलफल र सहजीकरण गरिएको, प्रदेश भित्रका ८६ वटा सहकारी संस्थाहरूको विवरण अध्यावधिक गरिएको तथा ८ वटा सहकारीको विनियम संशोधन स्वीकृत गरिएको र थप २५ वटा सहकारी संस्थाहरुको विनियम संशोधनका लागि सैद्धान्तिक सहमती प्रदान गरिएको उल्लेख गरिएको छ। 

यस अवधिमा प्रदेश सरकारबाट स्थानीय तहमा हुन वित्तीय हस्तान्तरणका दुई किस्ता रकम स्थानीय तहमा निकासा गरिएको सय दिने उपलब्धिमा समावेश गरिएको छ। जसअन्तर्गत वित्तीय समानीकरण अनुदान ८३ करोड १२ लाख रुपैयाँ, समपूरक अनुदान १ अर्ब ३९ करोड ७२ लाख रुपैयाँ, विशेष अनुदान ३८ करोड १४ लाख रुपैयाँ र सशर्त अनुदान १ अर्ब ७१ करोड ९४ लाख रुपैंया निकासा गरिएको बताइएको छ। 

जेनजी आन्दोलन, संघीय सरकार परिवर्तन र वर्तमान सरकार गठन भए पश्चात दसैँ तिहार जस्ता ठूला चाडपर्वको लामो बिदा आदिका कारण प्रदेश सरकारको काम प्रभावित भएको मुख्यमन्त्री बानियाँले बताए। आगामी दिनमा नतिजामुखी कार्य गर्नेमा प्रदेश सरकार प्रतिवद्ध रहेको उनको भनाई थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad