राजनीति


काठमाडौँ डुब्दा स्याङ्जामा सेतो खादा, केका लागि सम्झिइनेछन् मुख्यसचिव एकनारायण अर्याल?

काठमाडौँ डुब्दा स्याङ्जामा सेतो खादा, केका लागि सम्झिइनेछन् मुख्यसचिव एकनारायण अर्याल?

विदाइ कार्यक्रममा मुख्यसचिव एकनारायण अर्याललाई पौभा आर्ट उपहार प्रदान गर्दै प्रधानमन्त्री सुशीला कार्की


नेपालखबर
मंसिर ९, २०८२ मंगलबार १९:१८, काठमाडौँ

कर्मचारी प्रशासनको उच्च पद मुख्यसचिवमा चार सय ५३ दिन बिताएपछि एकनारायण अर्यालले उमेर हदका कारण अवकास पाएका छन्। कर्मचारी प्रशासनको मेरुदण्ड भनिने यो पद उनको कार्यकालमा धेरै कारणले चर्चामा रह्यो। जेनजी आन्दोलनपछिको परिस्थितिका लागि महत्वपूर्ण पनि रह्यो।

सरकारले बिहीबार उनको विदाई कार्यक्रम राखेको थियो। यसअघि नै मन्त्रिपरिषदमा उनको अवकासको विषयमा छलफल भएको थियो। मन्त्रिपरिषदले उनलाई धन्यवाद दिएको थियो।

‘मुख्यसचिव एकनारायाण अर्यालले मंसिर १० गतेदेखि अनिवार्य अवकास पाउने हुँदा उहाँले हालसम्म पुर्‍याएको योगदानको लागि मन्त्रिपरिषदले धन्यवाद दिने निर्णय गरेको छ’, मन्त्रिपरिषदका निर्णय सुनाउँदै सञ्चारमन्त्री जगदीश खरेलले भनेका थिए।

नेतृत्व तहमा पुगेको व्यक्तिलाई सम्झनु इतिहासको खोजी पनि हो। भविष्यमा अनुसरण गर्न तथा अनुसरण नगर्नका लागि पनि मुख्यसचिवको रुपमा एकनारायण अर्याल सम्झिइनेछन्।

३५ वर्षे सरकारी सेवाबाट अवकास पाउँदै गर्दा एउटा सवाल अझै बाँकी छ। मुख्यसचिव अर्याललाई कसरी सम्झिने? के का लागि सम्झिने?

स्याङ्जाको पुतली बजारमा जन्मिएका उनी सीडीओ हुने लक्ष्य लिएर नायब सुब्बा र २०५१ फागुनमा अधिकृत भएका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ साल भदौ १३ गते मुख्यसचिव बनाए। त्योभन्दा ठिक अगाडि उनी गृह सचिव थिए।

प्रशासनिक सर्वोच्च पदमा पुगेको व्यक्तिको जीवन केवल मितिहरूको संग्रह मात्र होइन। बरु उसले मस्यौदा गरेका नीति, स्थापित गरेका मूल्यमान्यता र नागरिकमा जगाएको आशाको संग्रह पनि हो। 

समग्रमा सचिवको रुपमा उनको कार्यकाल औसत रहे पनि संघीय मामिला तथा सामान्य प्रशासन, श्रम रोजगार तथा सामाजिक सुरक्षा र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सचिव रहँदा राम्रा काम गरेका छन्। 

नासुबाट अधिकृत र त्योभन्दा माथिको पदमा आएपछि उनी निरन्तर शक्ति अभ्यास गर्ने अड्डामा बसे। कोलकतास्थित नेपाली महावाणिज्यदूतको भूमिका निर्वाह गरेका उनी काठमाडौंको सीडीओ पनि भए। तनहुँ र मकवानपुरको सीडीओ भएका अर्याल २०७२ सालको भूकम्पको समयमा गोरखाको सीडीओ थिए। लामो समय गृह मन्त्रालय अन्तर्गतका कार्यालयमा बिताएका उनी सचिव भएर पनि सोही मन्त्रालयमा पुगेको बेला ओली सरकारले उनलाई मुख्यसचिव नियुक्त गरेको थियो।

वैदेशिक रोजगार सेवाको डिजिटलाइजेसन र सामाजिक सुरक्षाको कभरेज विस्तारमा पुर्‍याएको योगदानका लागि उनी पछिसम्म सम्झिइनेछन्। 

२०८१ असोजमा बाढी र पहिरोले नागरिक छटपटाइरहँदा स्याङ्जामा सम्मान थाप्दै मुख्यसचिव अर्याल

नेपालको कर्मचारीतन्त्रको इतिहासमै उनले एउटा गैरजिम्मेवार रेकर्ड पनि दर्ज गराएका छन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली २०८१ असोज ४ गतेदेखि अमेरिका गएका थिए। प्रधानमन्त्री भनेको देशको कार्यकारी प्रमुख हो भने उनी नहुँदाको अवस्थामा कामु प्रधानमन्त्री र स्थायी कार्यकारी मुख्यसचिवले देशको शासन सम्हाल्ने हुन्। प्रधानमन्त्री अमेरिकामा डुलिरहँदा काठमाडौंसहित पूरै देशलाई बाढीले तवातवा बनायो। नेपाल प्रहरीको तथ्यांकअनुसार त्यो बेला २ सयभन्दा बढीले ज्यान गुमाए। चार सय आठ घर डुबानमा परे। तीन सय ६४ घरमा क्षति पुग्यो। बाढी, पहिरोको पीडामा नागरिक छटपटाइरहेका बेला मुख्यसचिव अर्याल भने स्याङ्जामा सेतोखादासहित सम्मान ग्रहण गरिरहेका थिए। देश गम्भीर संकटमा पर्दा भद्दा सम्मानमा रमाएको विषयका लागि पनि उनी सम्झिइने छन्। प्रशासनिक इतिहासमा यो एउटा गैरजिम्मेवार उदाहरणको रुपमा रहनेछ। 

मुख्य सचिव भएपछि उनी अर्को विषयका लागि चर्चामा आए। संघीय निजामती विधेयक मस्यौदामा सरकारी कर्मचारीले अवकास वा राजीनामापछि दुई वर्षसम्म संवैधानिक वा कुटनीतिक नियुक्ति लिन नपाउने प्रस्ताव गरेको थियो। त्यो विधेयक संसदबाट पारित भएको भए उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त बन्न पाउने थिएनन्। राजदूत हुन पनि बाटो बन्द हुने थियो। चर्चाअनुसार त्यतिबेला प्रधानमन्त्री ओलीसँग उनले अवकासपछि दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तको नियुक्ति खाने सेटिङ मिलाएका थिए। यो विषयमा कर्मचारीले चर्को असन्तुष्टि जनाएपछि विवाद चुलिएको थियो। यसको नेतृत्व मुख्यसचिवले गरेका थिए। चलखेल र विवादका कारण गत संसद अधिवेशनमा सो विधेयक पारित हुन पाएन। अवकासमा गएका अर्याल सरकारले चाहे अब संवैधानिक आयोग तथा कुटनीतिक नियुक्तिका लागि अयोग्य हुने छैनन्।

प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं उपत्यकाको बज्रयानी बौद्ध परम्पराअनुसारको पौभा आर्ट उपहार दिएर उनलाई बिदाइ गरिन्। आफ्नो बिदाइमा सरकारले मंगलबार अयोजना गरेको कार्यक्रममा अर्यालले भने, ‘भविष्यमा नेपाल सरकारले आवश्यक ठानेमा आफ्नो ज्ञान, सीप र अनुभव राष्ट्रहितमै प्रयोग गर्न सधैँ तयार रहने छु।’

अवकास वा मृत्युपछि कुनै मानिसलाई किन सम्झिने ? भन्छन्, ‘मृतकको जीवन जीवितहरुको स्मृतिमा रहन्छ।’ अथवा अवकासमा जानेहरुको काम बहालवालाहरुको सम्झनामा बस्छ। हो, प्रमुख प्रशासकको कार्यकाल केवल मितिहरूको संग्रह मात्रै होइन, बरु उसले कोरेका नीति, स्थापित गरेका मूल्य, मान्यताहरु र नागरिकमा जगाएको आशाको समष्टि हो। एक हिसाबले नैतिक लेखाजोखा पनि हो। 

मुख्यसचिवबाट एकनारायण अर्याल सिंहदरबारबाट बिदा हुँदा निजामती कर्मचारी र आम मानिसले सोचिरहेको कुरा पनि यही नै हो– पदको उचाई बाहेक एकनारायण अर्यालले राज्य र नागरिकलाई छोडेर गएको बिरासत के हो? 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad