बागमती


घर पाएपछि रोकिएन मिठ्ठुमायाको खुसीको आँसु

घर पाएपछि रोकिएन मिठ्ठुमायाको खुसीको आँसु

सुनिता विष्ट
कात्तिक २, २०८२ आइतबार १७:३५, काठमाडौँ

मकवानपुरको मनहरी गाउँपालिका-९ ज्यामिरेकी मिठ्ठुमाया सुनारको आँखा आइतबार (आज) बिहानैदेखि ओभाएन। ३३ वर्षीया मिठ्ठुमायाको ओठ हाँसिरहे पनि उनको आँखा भने टिलपिल भैरह्यो। 

आँगनभरी मुख्यमन्त्री, मन्त्रीदेखि स्थानीय जनप्रतिनिधिहरुको उपस्थिती। हातमा तीनकोठे घरको चाबी अनि आफ्नै घरको दैलोमा आयोजना भएको कार्यक्रम। यही कार्यक्रम हेर्दै बेला/बेलामा भक्कानिरहिन् मिठ्ठुमाया। 

अनि मिठ्ठुमायाको आँखामा आँखा जुदाउँदै उनका छोराहरुले मुस्कुराउँदै सोधिरहेका थिए, ‘ममी अब हामी यो घरमा कहिले सर्ने? घर हेर्दै भावुक बनिरहेकी उनले छोराको टाउको सुम्सुमाउँदै जवाफ दिन्छिन्, ‘कति हतार भको यो केटोलाई? घर बनिहाल्यो अब यहीँ त बस्ने हो नि’ आमाको जवाफ सुनेपछि मुसुक्क हाँस्दै उनका छोराहरू पनि घरको कोठा कोठा चाहारिरहे।

१४ वर्षको कलिलो उमेरमा बिवाह बन्धनमा बाँधिएकी मिठ्ठुमायाले १५ वर्षकै उमेरमा छोरालाई जन्म दिइन्। जेठो छोरापछि तीन छोरा र एक छोरी जन्मिए। श्रीमान्को मृत्यु भएको ७ वर्ष बित्यो। 

श्रीमानको मृत्युपछि चार छोराहरुको हेरचाह, स्याहार सुसारको जिम्मेवारी काँधमा बोकेकी मिठ्ठुमायाको आँखा नओभाउनुको कारण थियो, चिटिक्क परेको तीनकोठे घरमा बस्न पाउनु। 

चुहिने र भत्किनै लागेको घरमा चार छोराहरु र आफ्नो टाउको लुकाउँदै आएकी उनलाई आज नयाँ पक्की घर बनाएर हस्तान्तरण गर्ने कार्यक्रम थियो। घरको आँगनीमा आयोजना गरिएको कार्यक्रम र घर हेरेरै भावुक बनेकी उनी पटक/पटक भक्कानिरहिन्। आँसु दुखको थिएन। दुख भोगेर थाकिसकेकी उनीमाथि प्रदेश सरकारले लगाएको गुनको आँसु थियो। सन्तानलाई ढुक्कले राख्न पाउने घर बनेपछिको उत्साहको आसु थियो। 

तीनकोठे पक्की घरको साँचो हातमा थमाइएपछि मिठ्ठुमायाले भक्कानिदैँ भनिन्, ‘मैले धेरै दुख कष्ट भोगेको छु। चार सन्तान हुर्काउन, खुवाउन, लगाउन दिन नसक्ने मैले यिनीहरुलाई राख्न घर बनाउन सकौँला भन्ने लागेकै थिएन। यिनीहरुको बुवाको मृत्यु भएपछि झन् गाह्रो परिरहेको थियो। मुख्यमन्त्री र गाउँपालिका अध्यक्ष लगाएतको सहयोगले घर बनेको छ। यो भन्दा खुसी मेरो लागि केही हुँदैन। म एकदमै खुसी छु।’

मिठ्ठुमायाको खुसी र हर्षको कारण थिए बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ। बानियाँ मुख्यमन्त्री नियुक्त भएर पदभार ग्रहण गर्दैगर्दा तलबभत्ताको सेवा सुविधा नलिने घोषणा गरेका थिए। 

उक्त तलब तथा अन्य सेवा सुविधा मार्फत प्राप्त भएको रकमले गरिब नागरिकको आवास निर्माण गरिदिने निर्णय गरेका थिए। सोही अनुरुप मुख्यमन्त्री बानियाँले मिठ्ठुमायाको घर निर्माण गरिदिएका हुन्। मुख्यमन्त्री बानियाँले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने मिठ्ठुमायाको घर निर्माण गरेर हस्तान्तरण गरेका हुन्। 

गत साउन २० गते मुख्यमन्त्री नियुक्त भएका बानियाँले आफ्नो तलब भत्ता बापत् प्राप्त हुने रकमले आफ्नो निर्वाचन क्षेत्रका गरिब नागरिकको घर निर्माण गरिदिने निर्णय गरेका थिए। मनहरी गाउँपालिकाको सिफारिसमा मिठ्ठुमायाको घर बनाउने निर्णय गरिएको थियो। आज नवनिर्मित घरको साँचो हस्तान्तरण गर्दै मुख्यमन्त्री बानियाँले सेवाभावले राजनीतिमा लागेको बताउँदै गरिब र दुखीको सेवामा आफू सधैँ लागिरहने प्रतिवद्धा जनाए। 

‘एकल महिला, त्यसमा पनि घर एकदमै जीर्ण भएको भन्ने खबर स्थानीय जनप्रतिनिधिले दिनुभयो। जसले गर्दा मेरो तलब भत्ताको रकमबाट उहाँकै घर बनाइदिन्छु भन्ने निर्णय गरेँ,’ बानियाँले भने, ‘मुख्यमन्त्रीको तलब भत्ताले मात्रै घर बन्ने अवस्था त थिएन। त्यतिधेरै तलब आउने पनि होइन रहेछ। मैले व्यक्तिगत खर्च र साथीभाईको सहयोगबाट घर निर्माण सम्पन्न गरेर दिन सकेँ। त्यो नै ठूलो कुरा लागेको छ। उहाँको परिवारले तिहार यो नयाँ घरमा मनाउँदै हुनुहुन्छ।’

घर निर्माण, खानेपानीको धारा जडान तथा बिजुली बत्ति समेत जडान गरेर तयार गरिएको घर हस्तान्तरण पश्चात् मुख्यमन्त्री बानियाँले मिठ्ठुमायाको हातमा २० हजार रुपैँया थमाइदिए। जंगल नजिकै घर भएकी उनलाई बाख्रा पालेर जीविकोपार्जन गर्न सुझाव दिदैँ २० हजार रुपैँया समेत सहयोग गरेका हुन्। 

यता, मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले पनि आफ्नो तलब सुविधा वापत्को रकमले गाउँपालिकामा रहेका विपन्न परिवारको लागि घर निर्माण गर्दै आएका छन्। यसअघि एउटा घर निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिसकेका उनले मिठ्ठुमायाको घर बनाइदिन मुख्यमन्त्री बानियाँ समक्ष सिफारिस गरेका थिए। उनकै सिफारिसका आधारमा मिठ्ठुमायालाई तीनकोठे पक्की घर, शौचालय सहितको संरचना निर्माण गरेर हस्तान्तरण गरिएको अध्यक्ष कालाखेती बताउँछन्। 

घर हस्तान्तरण कार्यक्रममा पुगेकी बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझीले पनि आफ्नो व्यक्तिगत खर्चबाट मिठ्ठुमायाको परिवारलाई भान्सामा प्रयोग हुने सामानहरु र चामल सहयोग गरिन्। राजनीतिमा लाग्नु नै समाजसेवामा लाग्नु भएको बताउँदै मन्त्री रायमाझीले चामल लगाएत सामाग्रीहरु वितरण गरेकी हुन्। 

‘मुख्यमन्त्री ज्युले आफ्नो घर जलेर खरानी भैरहँदा पनि विपन्न नागरिकको घर बनाउन चासो देखाउनु भयो’, उनले भनिन्, ‘उहाँको महानताको अगाडि हामीले गरेको सहयोग त केही होइन। तर पनि एकले थुके थुक, हजारले थुके नदी भनेझैँ हुन्छ भन्ने विश्वासले मैले मिठ्ठुमायाको लागि केही सामान सहयोग गरेकी हुँ।’

मुख्यमन्त्री बानियाँले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने मनहरी गाउँपालिकामा मिठ्ठुमायाको घर निर्माण गरेर हस्तान्तरण गरेका हुन् भने यसै महिनाभित्र राक्सिराङ गाउँपालिका–१ इन्द्रुङका सुमन चेपाङको घर निर्माण सम्पन्न गरी हस्तानतरण गरिने मुख्यमन्त्री बानियाँ बताउँछन्। त्यसबाहेक कैलाश गाउँपालिकामा पनि घर बनाइदिने तयारी भैरहेको उनको भनाइ छ। 

मिठ्ठुमायाको घर बनाउन ७ लाख रुपैँयाको सरकारी लागत अनुमान गरिएको थियो। मुख्यमन्त्री बानियाँको पहल र स्थानीयको श्रमदानमार्फत तयार भएको घर निर्माण गर्न ४ लाख ६५ हजार रुपैँया खर्च भएको बताइएको छ। 

बानियाँ नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकमा मुख्यमन्त्रीले आफूले पाउने तलब भत्ता र आफ्नो सचिवालयलाई प्राप्त अन्य सेवासुविधा कटौती गर्दै विपन्न परिवारको घर निर्माणमा खर्चिने घोषणा गरेका थिए। साथै, मन्त्रिपरिषद् बैठकले यसअघिनै चेपाङ, दलित, बोटे, जिरेल, हायू, वनकरियालगायत अति विपन्न र सिमान्तकृत समुदायका लागि गाँस, बास र कपासको सुनिश्चितता गर्न उच्च प्राथमिकताका साथ नीतिगत व्यवस्था गरिने निर्णय समेत गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad