बागमती


चालकलाई अनुशासित बनाउन काठमाडौँका सडकमा अन्तर्राष्ट्रिय स्तरका ट्राफिक कोन

चालकलाई अनुशासित बनाउन काठमाडौँका सडकमा अन्तर्राष्ट्रिय स्तरका ट्राफिक कोन

सिंहदरबारअगाडि सडकमा बुधबार राखिएका ट्राफिक कोन।


नेपालखबर
असोज ९, २०८२ बिहिबार ९:४०, काठमाडौँ

काठमाडौँ महानगरपालिकाको सहरी व्यवस्थापन विभागअन्तर्गत यातायात तथा सडक सुरक्षा स्वर्णम योजनाले ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय गुणस्तरअनुसारका ट्राफिक कोन र रिट्र्याक्टेबल बार सडकमा राख्न सुरु गरेको छ। 

नेपालमै उत्पादन भएका यी सामग्री आर्थिक वर्ष २०८०/८१ मै किन्ने याेजना भए तापनि विभिन्न प्रक्रियागत चुनाैतीका कारण २०८१-८२ मा खरिद गरिएको हो। 

यी सामग्रीले ट्राफिक व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

सहरी योजना आयोगका सहायक विज्ञ (ट्राफिक तथा यातायात इन्जिनियरिङ) अनुकूल निधिका अनुसार, ट्राफिक कोनको उचाइ ९०० देखि १,००० मिलिमिटरसम्म छ।

पहिले-पहिले सडकमा राखिने कोनभन्दा अहिलेको कोनको आकार ठुलो भएकाले सवारीसाधनका चालकहरूलाई अनुशासित बनाउने अपेक्षा गरिएको उनले बताए। 

यी कोन तल प्वालरहित र ३ देखि ५ केजी तौलका छन्। यसले बाइक चालकले कोन हटाउने प्रवृत्तिलाई पनि निरुत्साहन गर्ने निधिको भनाइ छ। 

‘यी कोनहरू राति पनि स्पष्ट देखिन्छन्। एक सेटमा दुई ट्राफिक कोन र एउटा २ मिटर लामो टेलिस्कोपिक रिट्र्याक्टेबल बार (जसले दुई कोनलाई जोड्छ) राखिएको छ। यसरी १,२५० सेट खरिद भएका छन्, जसमा कुल २५ सय कोन र १,२५० बार छन्’, निधिले भने, ‘यी सामग्रीहरू काठमाडौँका मुख्य सडक खण्डहरूमा च्यानलाइजेसनको कमी र दक्षिण एसियाली ड्राइभिङ व्यवहार (खाली ठाउँमा तरल पदार्थजस्तै गाडी चढ्ने प्रवृत्ति) लाई सम्बोधन गर्न सक्ने छ।’

ट्राफिक इन्जिनियरिङका सिद्धान्तअनुसार, सडक चौडा नगरी च्यानलाइजेसन नै ट्राफिक व्यवस्थापनको आधार हो।

सहायक विज्ञ निधिका अनुसार पहिलो चरणमा बुधबार यी कोन तीन स्थानमा प्रयोग गरियोः सिंहदरबारदेखि भद्रकालीसम्म, सिंहदरबारदेखि माइतीघर र पद्मोदय मोडसम्म।

विशेषगरी भद्रकालीबाट सिंहदरबारतिरको क्षेत्रमा लस्कर आकारमा कोन राख्दा विपरीत दिशाबाट आउने सवारीको चापलाई न्यूनीकरण गर्ने छ। जसले सहजै बायाँतर्फ मोडिने सवारीसाधनले (माइतीघरदेखि भद्रकाली तर्फ) लेन निर्वाध रूपमा प्रयाेग गर्न सक्ने छन्। यसले दुर्घटना र ट्राफिक जामको समस्या घटाउनेछ। 

 कोन राख्ने काम काठमाडौँ महानगरपालिका, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र यातायात तथा सडक सुरक्षा योजनाको प्राविधिक टिमसँगको सहकार्यमा सम्पन्न गरेकाे हाे।

‘ट्राफिक व्यवस्थापन साझा समस्या र समाधान हो। सहकार्य नै यसको आधार हो’, सहायक विज्ञ निधिले भने, ‘यी कोनहरूको ब्याचवाइज प्रयोग गरी सरसफाई गरेर पुन: प्रयोग गर्न सकिन्छ।’

सडक प्रयोगकर्ता देखि व्यवस्थापन गर्ने निकाय हुँदै ट्राफिक प्रहरीसम्म सबैको भूमिका र सहकार्य नै यसको आधार हो। ट्राफिक व्यवस्थापन गर्न ‘डेटा-आधारित’ वैज्ञानिक दृष्टिकोण, आधुनिक प्रविधि र स्थलगत व्यावहारिक व्यवस्थापन प्रविधिको भूमिका अनिवार्य भएकाे निधिले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad