बागमती


कान्तिलोकपथमा दुई रात रात्रिकालीन यात्रा नगर्न आग्रह

कान्तिलोकपथमा दुई रात रात्रिकालीन यात्रा नगर्न आग्रह

नेपालखबर
असार १६, २०८३ मंगलबार १८:४, हेटौँडा

हेटौँडा–कान्तिलोकपथ–काठमाडौं सडकखण्डमा दुई रात रात्रिकालीन सवारी आवागमन रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार र बुधबार राति उक्त सडकखण्ड हुँदै कुनै पनि प्रकारको सवारी सञ्चालन नगर्न तथा नगराउन सार्वजनिक सूचना जारी गरेको हो।

भारीदेखि अति भारी वर्षाको पूर्वानुमानसँगै पहिरो र सडक अवरोधको जोखिम बढेकाले प्रशासनले आज साँझ ५ बजेदेखि बुधबार बिहान ५ बजेसम्म तथा बुधबार साँझ ५ बजेदेखि बिहीबार बिहान ५ बजेसम्म कान्तिलोकपथ हुँदै यात्रा नगर्न आग्रह गरेको छ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीद्वारा जारी सूचनामा सम्भावित वर्षाजन्य विपद्लाई मध्यनजर गर्दै सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ। पहिरो, बाढी तथा डुबानको जोखिम रहेका क्षेत्र, नदी किनार तथा भिरालो स्थानमा अनावश्यक आवतजावत नगर्न र विशेष सतर्कता अपनाउन पनि आग्रह गरिएको छ।

प्रशासनले मौसम तथा सडक अवस्थासम्बन्धी आधिकारिक सूचना तथा सुरक्षा निकायबाट जारी हुने निर्देशनको पालना गरी सुरक्षित अवस्था भएपछि मात्र यात्रा गर्न अनुरोध गरेको छ। साथै, कुनै विपद्जन्य घटना वा आपतकालीन अवस्था सिर्जना भएमा तत्काल नजिकको सुरक्षा निकाय, स्थानीय तह वा जिल्ला प्रशासन कार्यालयको आपतकालीन कार्य सञ्चालन केन्द्रको निःशुल्क फोन नम्बर ११४९ मा जानकारी गराउन आग्रह गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असार १६ र १७ गते देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा हुने, पहाडी तथा हिमाली क्षेत्रमा पहिरो, सडक अवरोध, गेग्रान बहाव, बाढी तथा नदीमा जलसतह बढ्ने सम्भावना रहेको छ। सोही जोखिमलाई मध्यनजर गर्दै प्रशासनले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणसँग अनुरोध गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad