जेन-जी आन्दोलनका कारण काठमाडौँ उपत्यकामा चार दिनदेखि लगातार निषेधाज्ञा र कर्फ्यु जारी रहँदा सर्वसाधारण समस्यामा परेका छन्।
गत सोमबारदेखि उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा र कर्फ्यु जारी छ। मंगलबार बिहानदेखि उपत्यकामा सार्वजनिक सवारीसाधन ठप्प छ।
गत मंगलबार रातिदेखि सुरक्षाको जिम्मेवारी लिएको नेपाली सेनाले बुधबार बिहानदेखि निषेधाज्ञा केही खुकुलो बनाए पनि सार्वजनिक सवारीसाधन सञ्चलान गर्न नदिँदा सर्वसाधारण यात्रुलाई सास्ती भइरहेको छ।
अत्यावश्यक कामका लागि भनेर बिहान र बेलुका केही घण्टाका लागि आवतजावत गर्न दिइए पनि सार्वजनिक सवारीसाधन नचल्दा सर्वसाधारण यात्रीलाई समस्या भइरहेको हो। आफ्नो साधन नहुनेहरू पैदलै यात्रा गर्न बाध्य छन्। झन् लामो दूरीका यात्रु त बिचल्लीमा छन्।
काठमाडौँ उपत्यकाका तीन जिल्लामा अत्यावश्यक कामका लागि भनेर बिहान ५ घण्टा र साँझपख २ घण्टा आवतजावत गर्न समय दिइएको छ।
आज बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा र साँझ ७ बजेदेखि भोलि बिहान ६ बजेसम्मका लागि कर्फ्यु जारी राखिएको छ।
Shares

प्रतिक्रिया