बागमती


राजीनामा दिनुअघि मुख्यमन्त्री लामाले बोलाए मन्त्रिपरिषद् बैठक

राजीनामा दिनुअघि मुख्यमन्त्री लामाले बोलाए मन्त्रिपरिषद् बैठक

बागमती प्रदेशमा मुख्यमन्त्री बहादुरसिंह लामाको फाइल तस्बिर


सुनिता विष्ट
साउन १८, २०८२ आइतबार ११:४६, हेटौँडा

बामगती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिनुअघि मन्त्रिपरिषद् बैठक राख्दै छन्। 

मुख्यमन्त्री लामाले आज दिउँसो २ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। 

बैठकमा मुख्यमन्त्री लामाले राजीनामा दिने निर्णय हुने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

८ साउन २०८१ मा मुख्यमन्त्री नियुक्त लामाले भोलिपल्ट साउन ९ गते पद तथा गोपनीयताको शपथ खाएका थिए। 

१४ वटा मन्त्रालय रहेको बागमती प्रदेशमा आज बस्ने मन्त्रिपरिषद् ९ मन्त्री मात्रै सहभागी हुनेछन्।

९ साउन २०८२ मा राजीनामा दिएका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरी र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेलाई मुख्यमन्त्री लामाले बर्खास्त गरिदिएका थिए भने खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री श्याम खड्काले गत बुधबार बिहान मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाएका थिए।

आज बस्ने क्याबिनेट बैठकमा एमालेबाट ६ र कांग्रेसबाट मुख्यमन्त्रीसहित ३ मन्त्री सहभागी हुनेछन्।

एमालेका कृषि मन्त्री प्रकाश श्रेष्ठ, श्रम रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जन, भौतिक पूर्वाधार विकास मन्त्री अमन कुमार मास्के, उद्योग मन्त्री सुकमाया तामाङ र स्वास्थ्य मन्त्री किरण थापा रहनेछन् भने कांग्रेसका मुख्यमन्त्री लामा सहित आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले र सामाजिक विकास मन्त्री हरिप्रभा खड्की रहनेछन्।

क्याबिनेट बैठक सकिएलगत्तै मुख्यमन्त्री लामाले पत्रकार सम्मेलन गर्ने तयारी छ। 

यसपछि उनले राजीनामा दिने बताइएको छ। 

काठमाडौँमा उपचाररत प्रदेश प्रमुख देवकोटा आजै हेटौँडा फर्किएमा लामाले उनलाई प्रत्यक्ष राजीनामा बुझाउनेछन् भने नफर्के मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत राजीनामा दर्ता गराउने बताइएको छ। 

संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ विजयी भएपछि दलभित्र र बाहिर दुवैतर्फको दबाबबीच पार्टीका सभापति शेरबहादुर देउवाले मार्गप्रशस्त गर्न निर्देशन दिएपछि लामा मुख्यमन्त्री पदबाट राजीनामा दिने निर्णयमा पुगेका हुन्। 

बिहीबार बेलुका सभापति देउवाले आफ्नै निवास बोलाएपछि छलफलका लागि बुढानीलकण्ठ पुगेका मुख्यमन्त्री लामा र अब मुख्यमन्त्री बन्ने बानियाँबीच शनिबार बिहान छलफल भएको थियो। 

त्यस क्रममा लामाले राखेका २ सर्त मान्न देउवाले बानियाँलाई पनि निर्देशन दिएको र उनी त्यसमा सहमत भएको छलफलमा सहभागी कांग्रेस प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले जानकारी दिए। 

लामाले आफूले नियुक्त गरेका तीन मन्त्रीलाई शपथ गराउनुपर्ने र नयाँ सरकार सञ्चालनमा आफ्नो पक्षसँग सहकार्य गर्नुपर्ने सर्त राखेका छन्। त्यसमा बानियाँ राजी भएपछि लामा राजीनामा दिन तयार भएको चित्रकारको भनाइ छ। 

लामाले राजीनामा दिएपछि कांग्रेस संसदीय दलका नव निर्वाचित नेता इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने प्रक्रिया अघि बढ्नेछ।

उनी बागमती प्रदेशका छैटौँ मुख्यमन्त्री हुनेछन्।

यसअघि डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्मकट्टेल र बहादुरसिंह लामाले प्रदेश सरकारको नेतृत्व गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad