बागमती


बालुवाटारमा ओली–देउवा भेटवार्ता भइरहँदा बागमतीका मुख्यमन्त्री लामाको पद जाने अनुमान

बालुवाटारमा ओली–देउवा भेटवार्ता भइरहँदा बागमतीका मुख्यमन्त्री लामाको पद जाने अनुमान

बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामा


सुनिता विष्ट
साउन १५, २०८२ बिहिबार १३:३९, हेटौँडा

काठमाडौँमा सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भइरहँदा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको पद जाने अनुमान गरिएको छ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रधानमन्त्री ओलीले आज देउवालाई प्रधानमन्त्रीको निवास बालुवाटार बोलाएका हुन्।

त्यसो त जारी भेटमा दुई शीर्ष नेताबीच केन्द्रीय मन्त्रिपरिषद्‌का मन्त्री फेर्ने विषयमा छलफल हुने भनिएको छ।

तर सँगसँगै कांग्रेसका कारण बागमती सरकारमा उत्पन्न संकटका विषयमा पनि छलफल हुने आकलन एमाले बागमती प्रदेशका नेताहरूले गरेका हुन्। 

यसअघि बुधबार राति मात्र एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलिया, दलका सचेतक मधुसूदन पौडेल, पार्टी बागमती इन्चार्ज डा. राजन भट्टराई र एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल अध्यक्ष ओली भेट्न काठमाडौँ पुगेका थिए। 

उनीहरूले बागमती कांग्रेस संसदीय दलको नेतामा मुख्यमन्त्री लामालाई हराउँदै इन्द्रबहादुर बानियाँ विजयी भएको र लामाले राजीनामा दिन्नँ भन्दै अडान लिएको विषयमा अध्यक्ष ओलीसामु ब्रिफिङ गरेका थिए।

प्रदेश नेता समक्ष ओलीले कांग्रेस सभापति देउवासँग छलफल गरेर मात्रै निर्णयमा पुग्ने जवाफ दिएका थिए।

अहिले दुई शीर्ष नेताबीच केन्द्रीय मन्त्रिपरिषद्‌का मन्त्री परिवर्तन गर्ने विषयमा भइरहेको छलफलमा बागमती संकटका विषयमा पनि कुराकानी हुने अनुमान एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले गरेका छन्।

‘बागमतीको पछिल्लो राजनीतिक अवस्थाका बारेमा हामीले प्रधानमन्त्रीज्यूलाई जानकारी गरायौँ,’ ढुंगेलले नेपालखबरसँग भने, ‘उहाँले आफ्नै दलको समर्थन सदस्य संख्या कम देखिएको व्यक्ति मुख्यमन्त्री बन्नु उचित नहुने संकेत गर्नुभयो। यस विषयमा कांग्रेस पार्टी सभापतिसँग छलफल गरेर छिट्टै निर्णय दिने बताउनुभएको थियो। सोही निर्णय गर्नकै लागि शीर्ष नेताज्यूहरू छलफलमा जुट्नुभएको हो।’

दुई शीर्ष नेताबीचको छलफलपछि कांग्रेस संसदीय दलको नेतामा पराजित मुख्यमन्त्री लामालाई राजीनामा दिन पार्टी सभापति देउवाले निर्देशन दिन सक्ने एमालेका प्रदेश अध्यक्ष ढुंगेलको अनुमान छ। 

कसलाई मुख्यमन्त्री बनाउने भन्ने कुरा नितान्त कांग्रेसभित्रको भए पनि कानुनमा मिल्नेगरी जानुपर्छ भन्ने माग एमालेले राखेको उनले बताए।

एमाले अध्यक्ष ओलीले प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसका सभापतिसँग छलफल गरेर मुख्यमन्त्री लामालाई मार्गप्रशस्त गराउन लगाउन सक्ने विश्वास ढुंगेलले गरेका छन्। 

दलका नेताको हैसियत गुमाएपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने दबाब आइरहँदा पनि मुख्यमन्त्री लामाले राजीनामा नदिएको भन्दै चौतर्फी आलोचना भइरहेको छ।

बुधबार बागमती कांग्रेस संसदीय दलमा मत विभाजन हुँदा दलको नेतामा इन्द्रबहादुर बानियाँ विजयी भए भने मुख्यमन्त्री लामा हारेका छन्। तर पनि उनले मुख्यमन्त्रीबाट राजीनामा नदिने अडान लिइरहेका छन्। 

यहीबीच उनले बुधबार नियुक्ति गरेका तीन मन्त्रीको शपथ पनि अनिश्चितकालका लागि स्थगन गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad