बागमती


बागमती विवाद : अचानक रोकियो नवनियुक्त ३ मन्त्रीको शपथ

बागमती विवाद : अचानक रोकियो नवनियुक्त ३ मन्त्रीको शपथ

बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरू


सुनिता विष्ट
साउन १५, २०८२ बिहिबार ८:४८, हेटौँडा

बागमती प्रदेश सरकारका नवनियुक्त ३ मन्त्रीको शपथ अचानक स्थगन गरिएको छ। 

आज दिउँसो १ बजे गराउने भनिएको शपथ प्रदेश प्रमुखको कार्यालयले अकस्मात् अनिश्चितकालका लागि स्थगन गरेको हो। 

विवादका बीच मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार मात्र ३ मन्त्री नियुक्ति गरेका थिए।

बिहीबार (आज) बिहान प्रदेश प्रमुखको कार्यालयले प्रेस विज्ञप्ति जारी गरी नवनियुक्त मन्त्रीहरू गोविन्द लम्साल (आन्तरिक मामिला तथा कानुन), गीता गुरुङ (सहकारी तथा गरिबी निवारण) र माया श्रेष्ठ (युवा तथा खेलकुद) को शपथ आज नहुने जानकारी गराएको हो।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको स्वास्थ्यमा समस्या आएको र बिहानै काठमाडौँ जानपर्ने भएका कारण शपथ कार्यक्रम अर्को मिति तय नभएसम्मका लागि स्थगन गरिएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाको भनाइ छ। 

प्रेस विज्ञप्तीमा भनिएको छ, ‘बागमती प्रदेश सरकारका नवनियुक्त माननीय मन्त्रिज्यूहरूको शपथ ग्रहण समारोह मिति २०८२ श्रावण १५ गते बिहीबार दिनको ०१:०० बजेको लागि तोकिएकोमा माननीय प्रदेश प्रमुखज्यूको स्वास्थ्यमा अकस्मात् समस्या आएकोले उपचारार्थ आज बिहानै काठमाडौँ प्रस्थान गर्नुभएको हुँदा माननीय प्रदेश प्रमुखज्यूको निर्देशानुसार अर्को सूचना प्रकाशन नभएसम्मको लागि शपथ ग्रहण कार्यक्रम हाललाई स्थगन गरिएको बेहोरा जानकारीका लागि अनुरोध छ।’

आफूलाई कांग्रेसको बागमती संसदीय दलको नेताबाट हटाउन आफ्नै पार्टीका पाँच मन्त्रीले राजीनामा दिएपछि मुख्यमन्त्री लामाले बुधबार ३ मन्त्री नियुक्ति गरेका थिए। उनीहरूलाई शपथ पनि हिजै खुवाउने तयारी रहे पनि सत्ता साझेदार दल नेकपा एमालेको बागमती संसदीय दलका नेता जगन्नाथ थपलियाले फोन गरेर तत्काल रोक्न भनेपछि रोकिएको थियो। 

त्यसपछि आजका लागि तय शपथ कार्यक्रम पनि अनिश्चितकालका लागि स्थगन गरिएको हो। 

बुधबार बागमती कांग्रेस संसदीय दलमा भएको निर्वाचनमा इन्द्रबहादुर बानियाँ दलको नेतामा विजयी भए भने मुख्यमन्त्री लामा हारेका छन्। तर पनि उनले मुख्यमन्त्रीबाट राजीनामा नदिने अडान लिइरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad