नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ चनडाँडामा खेतमा लडेर गम्भीर घाइते भएका एक बालकको उपचारको क्रममा मृत्यु भएको छ। बाख्रा गोठाला गएका मनिष गिरी आइतबार (हिजो) साँझ ५ बजेतिरको समयमा खेतकाे कान्लाबाट लडेका थिए।
करिब २० मिटर तल खसेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि काठमाडौँस्थित ग्राण्डी अस्पताल लगिएको थियो। उनको उपचारकै क्रममा हिजो साँझ उपचारको क्रममा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।
नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ स्थायी ठेगाना भएका ११ वर्षीय मनिष हाल काठमाडौँको तारकेश्वर नगरपालिकामा रहेको कौशल इंग्लिश बोर्डिङ स्कुलमा पढ्दै आएका थिए।
अघिल्लो वर्षसम्म नुवाकोटको लिखु गाउँपालिका–६ छहरे बजारमा रहेको से बोर्डिङ स्कुलमा कक्षा ४ सम्म पढेका थिए। सानैदेखि सँगै राखेर पढाउँदै आएकी मनिषको फूपूदिदी कविता गिरीले यो वर्षबाट काठमाडौँ लगेकी थिइन्। कक्षा ५ मा पढ्ने मनिषको विद्यालय बिदा भएका कारण कविताले भाइलाई लिएर शुक्रबार घर आएकी थिइन्।
धान रोपाइँको लागि घर आएकी कविताले मनिषलाई धानको बिउ काड्न खेतमा लगेकी थिइन्। दिनभर जसो दिदीसँगै खेल्दै खेतमै याताउती गरिरहेका थिए। आकाशबाट पानी पर्न थालेपछि मनिषका हजुरबुबा डिल्लीबहादुर गिरी ओढ्ने प्लाष्टिक लिन घरतिर गए। कविता आफ्नै सुरमा धानको बिउ उखेल्नमा व्यस्त भइन्।
पञ्चकन्या गाउँपालिकाकी उपाध्यक्ष विमला केसीले नेपालखबरलाई दिएको जानकारी अनुसार डिल्लीबहादुर घरबाट एक्लै आएको देखेपछि कविताले बुवालाई भाई खोइ त? भनेर प्रश्न गरिन्। डिल्लीबहादुरले खेतमै थियो त! भन्दै अत्तालिएको आवाजमा जवाफ दिए।
कविताले फेरि बुबालाई प्रश्न गरिन्, घर गयो होला, देख्नुभएन तपाईंले घरमा? त्यसपछि डिल्लीबहादुरले घरमा नभएको भन्न नभ्याउँदै आत्तिएर नातीलाई बोलाउन थाले।
सिमसिम पानी परेको थियो। कविता र डिल्लीबहादुरले खोज्ने क्रममा आलीबाट लडेर रगताम्य भएको अवस्थामा कान्लामुनी भेटिए मनिष।
‘पानी परेपछि खेत नजिकै रहको आफ्नो घरमा जाने क्रममा खेतको आलिबाट चिप्लेर लडेको अवस्थामा फेला परेको रहेछ, गाउँपालिका उपाध्यक्ष केसीले भनिन्, ‘टाउको ढुंगामा परेको कारण रगत रोकिएको थिएन। अस्पताल लैजाने क्रममा बाटोमा नै बेहोस भैसकेको थियो। अस्पताल पुर्यापछि डाक्टरले मृत घोषणा गरिदिए।’
उपाध्यक्ष केसीका अनुसार मनिषका बुबा उद्धव गिरी वैदेशिक रोजगारीको क्रममा साउदी अरबमा छन्। उनकी आमा मनिका गिरीको २०७२ को भूकम्पमा परेर मृत्यु भएको थियो। मनिष ६ महिनाको हुँदा आमाको मृत्यु भएपछि उनको स्याहार सुसार फूपूदिदी कविताले गर्दै आएकी थिइन्।
Shares

प्रतिक्रिया