बागमती


हेटौँडामा फेरि अर्का वडाध्यक्षमाथि हातपात, विरोधमा शुक्रबार उपमहानगर बन्द

हेटौँडामा फेरि अर्का वडाध्यक्षमाथि हातपात, विरोधमा शुक्रबार उपमहानगर बन्द

नेपालखबर
असार १९, २०८२ बिहिबार २०:३३, हेटौँडा

हेटौँडाका एक वडाध्यक्षमाथि कुटपिट भएको महिना दिन नबित्दै फेरि अर्का वडाध्यक्षमाथि हातपात भएको छ।

हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडाका वडाध्यक्ष नवीन सिग्देलमाथि बिहीबार (आज) सार्वजनिक स्थलमै हातपात भएको हो। उनलाई एक निर्माण व्यवसायी महिलाले सार्वजनिक स्थलमै हातपात गरेकी हुन्।

हेटौँडा– ४ स्थित हेटौँडा क्याम्पस अगाडिबाट हुप्रचौरतर्फ निस्कने सडक विस्तारको विषयमा छलफल भइरहेका बेला आफूमाथि हातपात भएको वडाध्यक्ष सिग्देलले बताए। 

निर्माणका विषयमा सामान्य वादविवाद भैरहेका बेला उनले भिडिओ खिचेको र उक्त भिडियो नखिच्न आग्रह गर्दा पनि भिडिओ बन्द नगरेपछि विवाद उत्पन्न भएको वडाध्यक्ष सिग्देलको भनाई छ।

‘भिडिओ नखिच्नु भन्दा मान्नु भएन, आग्रह गर्दा नमानेपछि मोबाइल तान्न म गएकै हो,’ नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा वडाध्यक्ष सिग्देलले भने, ‘सोहीबेला मोबाइल एक्कासी भुँइमा खस्न पुग्यो। त्यसपछि म माथि निरन्तर गाला र घाँटीमा आक्रमण गरियो।’ 

सडक निर्माणको ढिलासुस्तीलाई लिएर विवाद सुरु भएको उनको दाबी छ।  

लामो समयदेखि अलपत्र छाडिएको उक्त सडक निर्माणमा सहजीकरण गरिरहेको समयमा विवाद गर्दै ती महिलाले आफूमाथि हातपात गरेको वडाध्यक्ष सिग्देलले बताए।

महिला हाल जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा छन्। उनी काभ्रेको रोशी गाउँपालिकाकी निर्माण व्यवसायी रहेको मकवानपुर प्रहरीले जनाएको छ।

मकवानपुर प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले घटनाको बारेमा अनुसन्धान भइरहेको जानकारी दिए।

बिहीबारको उक्त घटनापछि सडक निर्माण कार्य रोकिएको छ भने वडा कार्यालयले शुक्रबारका लागि तय भएका सम्पूर्ण कार्यक्रमहरू स्थगित गरेको जनाएको छ।

यस्तै, हेटौँडा उपमहानगरपालिकाले पनि जनप्रतिनिधिमाथि निरन्तर भइरहेको आक्रमणको घटनामा दोषीलाई कारबाही नभएको भन्दै विरोधमा शुक्रबार सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ। 

उपमहानगर प्रमुख मीनाकुमारी लामाले बिहीबार साँझ पत्रकारहरूसँग कुरा गर्दै वडाध्यक्षहरूको सुरक्षामा गम्भीर चुनौती देखिएकाले विरोधस्वरूप एकदिन पालिकाभित्रका सम्पूर्ण कामहरू बन्द गर्नुपरेको बताइन्।

उनले यसअघि १ नम्बर वडाध्यक्ष सविन न्यौपानेमाथि भएको सांघातिक हमलामा संलग्नलाई समेत कारबाही नभएको भन्दै आक्रोश व्यक्त गरिन्। यसअघि ४ असारमा न्यौपानेमाथि आक्रमण भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad