बागमती


मध्यपुर थिमिले केमा खर्च गर्दै छ ३ अर्ब २५ करोडको बजेट?

मध्यपुर थिमिले केमा खर्च गर्दै छ ३ अर्ब २५ करोडको बजेट?

नेपालखबर
असार १०, २०८२ मंगलबार १५:४, काठमाडौँ

मध्यपुर थिमि नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि सोमवार नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ।

नगर प्रमुख सुरेन्द्र श्रेष्ठले नगरसभाको १२औं बैठकमा नीति तथा कार्यक्रम र उपप्रमुख विजयकृष्ण श्रेष्ठले बजेट सार्वजनिक गरेका हुन्। 

नगर प्रमुख श्रेष्ठले नगरबासीलाई शिक्षा, स्वास्थ्य बिमामार्फत निःशुल्क स्वास्थ्य सेवा, पूर्वाधार विकास, सीपविकास गरी स्वरोजगारमार्फत आर्थिक समृद्ध हासिल गर्ने, नगरको मूर्तअमूर्त कलासँस्कृति, जात्रा पर्वको संरक्षण, पुरातात्विक सम्पदाहरुको मौलिक शैलीमा संरक्षण गरी मध्यपुर थिमि बाह्य र आन्तरिक पर्यटन प्रवद्र्धन मार्फत यहाँको कलासँस्कृतिलाई आर्थिक आयआर्जनको माध्यम बनाउने योजनालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरे।

“सुशासन तथा गुणस्तरीय सार्वजनिक सेवा प्रवाह, शिक्षा, स्वास्थ्य र खेलकुद, समाजिक समावेशीकरण, कृषि तथा पशुपन्छी विकास, उद्योग, वाणिज्य, सहकारी तथा रोजगारी प्रवद्र्धन नीति तथा कार्यक्रमको प्राथमिकताको क्षेत्र रहेको छ,” नगर प्रमुख श्रेष्ठले भने, “वन वातावरण, जलवायु परिवर्तन तथा विपद व्यवस्थापन, कला, सँस्कृति, सम्पदा तथा पर्यटन प्रवद्र्धन, पूर्वाधार विकास र सूचना प्रविधिलाई प्राथमिकतामा राखेको छु।”

भ्रष्टाचारविरुद्ध शून्य सहनशिलता, गुनासो सुन्ने र सम्बोधन गर्ने कार्यलाई प्रभावकारी बनाउने नगर प्रमुख श्रेष्ठले बताए। ११औँ नगरसभाबाट नक्सापास फुकुवा गरी नियमित र अभिलेखीकरण गर्न तोकिएको जरिवानामा छुटको व्यवस्था गरिएको छ। परम्परागत बस्तीमा पुरानो शैलीमा घर बनाउने घरधनीहरुलाई नगरपालिकाको प्रचलित कानून र नियमानुसार आर्थिक अनुदान तथा नक्सापासको समयमा सहुलियत दिइनेछ ।

सार्वजनिक सडकलाई पार्किङ निषेधित क्षेत्र घोषणा गर्ने, भित्री सडकहरुमा समेत सार्वजनिक निजी साझेदारीमा सार्वजनिक यातायातलाई सुलभ र सहज बनाउने नीति मध्यपुर थिमिको रहेको छ।

सार्वजनिक निजी साझेदारी अवधारणाको नीति अनुसार सम्भाव्यता अध्ययन प्रतिवेदनको आधारमा तोकिएको स्थानमा जग्गा विकास तथा जग्गा एकिकरण आयोजनाहरु सञ्चालन गरिनेछ।

नगरपालिकाभित्रका दाहसंस्कार स्थल र माटाका भाँडाहरु पोल्ने स्थललाईवातावरणमैत्री बनाईने भएको छ। प्रत्येक वडामा विपद् व्यवस्थापन अन्तर्गत खोज तथा उद्धार सामग्री भण्डारको व्यवस्था मिलाइनेछ।

शिक्षामा आ.व. २०८२÷०८३ भित्र नसिङ कलेज र पारामेडिक्स कोर्स सञ्चालन गर्ने, ई–लाइब्रेरीसहितको पुस्तकालय स्थापना तथा सञ्चालन गर्ने, मध्यपुर थिमि नगरपालिकालाई शैक्षिक गन्तव्य र २१औँ शताब्दीको ज्ञानविज्ञान केन्द्र बनाउने उद्देश्यसहित एक दीर्घकालीन परियोजना अगाडि बढाइनेछ। कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागू गरी पठनपाठन गराइने भएको छ।

बालश्रममुक्त नगर स्थापना गर्दै प्रतिवद्धता जाहेर भएको समय सीमा भित्रै बालमैत्री स्थानीय शासन नगर घोषणा गरिनेछ। रोजगारी र उद्यमशीलताको लागि आवश्यक तालिमसहित बीउ पुँजीको व्यवस्था गरी लैङ्गिक सशक्तीकरणमा जोड दिइनेछ। लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरिनेछ।

स्वास्थ्य बिमा कार्यक्रमलाई बिस्तार गर्दै लैजाने, क्षयरोगमुक्त नगरपालिका अभियान सञ्चालन गर्ने, लागूऔषध दुर्व्यसनको रोकथाम तथा नियन्त्रण, आत्महत्या रोकथाम र नियन्त्रणलगायतका मानसिक स्वास्थ्य प्रवद्र्धनात्मक क्रियाकलाप सञ्चालन गर्ने, नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा सेवा सुविधामा थप बिस्तार गरी देशकै नमूना अस्पतालको रुपमा विकास गर्ने नीति मध्यपुर थिमिको रहेको छ।

स्वच्छ मासु, स्वस्थ जीवन भन्ने नारा सहित पशु वधस्थललाई वैज्ञानिक र व्यवस्थित ढंगबाट सञ्चालनको लागि नीजि क्षेत्रसँग सहकार्य गरिनेछ।

कौसी खेतीलाई प्रभावकारी बनाउन आवश्यक तालिम प्रदान गरिनेछ। व्यावसायिक तरकारी खेती तथा कृषि व्यवसाय गर्ने कृषक एवम् कृषक समूहलाई उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न आधुनिक कृषि यन्त्र र उपकरणलगायतका सामग्री खरिदमा अनुदान दिइनेछ।

घरेलु तथा साना उद्योगमार्फत स्थानीय स्रोत साधनको उपयोग गरी आयमूलक रोजगारी सृजना गर्दै लागत साझेदारीमा नवप्रवद्र्धनात्मक कार्यक्रम सञ्चालनलाई प्राथमिकता दिइनेछ। 

नगरभित्रका सहकारी संस्थाहरुलाई सवल सक्षम बनाइ जोखिमको न्यूनीकरणको लागि नियमित अनुगमन र सुपरिवेक्षणका साथै तालिमको व्यवस्था गरिनेछ। 

मध्यपुर थिमिलाई पर्यटकिय गन्तव्य स्थलको रुपमा विकास गर्न नगरभित्र रहेका ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक स्थलहरुको संरक्षण, प्रवद्र्धन र सौन्दर्यकरणका लागि कार्यक्रमहरु सञ्चालन गर्ने, नगरभित्रका पार्क पोखरीहरुलाई पर्यटकिय गन्तव्यको रुपमा विकास गर्ने, नगरभित्रका परम्परागत र मौलिक नामको अभिलेखीकरण र पुनःस्थापनको कार्यलाई निरन्तरता दिईने नगर प्रमुख श्रेष्ठले बताए।

नगर प्रमुख श्रेष्ठको अध्यक्षतामा बसेको नगरसभा बैठकमा उपप्रमुख विजयकृष्ण श्रेष्ठले कुल ३ अर्ब २५ करोड रुपैँयाको बजेट सार्वजनिक गरे।

उपप्रमुख श्रेष्ठले नगरपालिकाको सञ्चितिकोष, नगरपालिकाअन्तर्गतको कमेरोटार जग्गा एकिकरण आयोजना, सिन्टिटार जग्गा एकीकरण आयोजना, नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल, सडक बोर्ड र सामाजिक सुरक्षा भत्तातर्फको समेत गरी कुल ३ अर्ब २५ करोड ६६ लाख ७० हजार एक सय रुपैंयाको बजेट बजेट सार्वजनिक गरेका हुन्।

उनका अनुसार नगरपालिकाको सञ्चिति कोषबाट व्यहोर्ने योजना र कार्यक्रमका लागि एक अर्ब ५२ करोड ८३ हजार ५ सय रुपैंयाको बजेट छ भने कमेरोटार जग्गा एकीकरण आयोजनाको ७० करोड २३ लाख, १३ हजार ७ सय, सिन्टिटार जग्गा एकीकरण आयोजनाको २० करोड ४० लाख १७ हजार एक सय, नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको ६० करोड ३२ लाख ५५ हजार ८ सय, सडक बोर्डको ७० लाख र सामाजिक सुरक्षाभत्तामा २२ करोड विनियोजन गरिएको छ। 

नगरपालिकाको सञ्चित कोषबाट व्यहोर्ने एक अर्ब ५२ करोड ८३ हजार ५ सय रुपैयाँमध्ये पुँजीगततर्फ ७७ करोड ७७ लाख २८ हजार ५ सय र चालु तर्फ ७४ करोड २३ लाख ५५ हजार विनियोजन गरिएको छ। कुल विनियोजनको पुँजीगततर्फ ५१ दशमलव १६ र चालु तर्फ ४८ दशमलव ८४ प्रतिशत रहेको छ।

खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक आयबाट ३७ करोड २४ लाख ५७ हजार ९७९, राजस्व बाँडफाँडबाट ४० करोड १३ लाख ७५ हजार ५२१, अन्तरसरकारी वित्त हस्तान्तरण संघीय सरकारबाट ६० करोड ५३ लाख, बागमती प्रदेश सरकारबाट ७ करोड ९ लाख ५० हजार, लागत सहभागिताबाट एक करोड आय हुने अनुमान गरिएको छ । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad