बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण बागमती प्रदेश सभामा प्रस्तुत गरेको छ। शुक्रबार बसेको प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले आर्थिक सर्वेक्षण सदनमा प्रस्तुत गरेका हुन्।
मन्त्री काफ्ले प्रस्तुत गरेको आर्थिक सर्वेक्षणमा बागमती प्रदेशको आर्थिक बृद्धिदर ५.१८ प्रतिशत रहने अनुमान गरिएको छ भने मुलुकको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब २२ करोड रहने अनुमान गरिएकोमा बागमती प्रदेशको अंश सबैभन्दा बढी ३६.५२ प्रतिशत रहने अनुमान गरिएको बताइएको छ।
मन्त्री काफ्लेले प्रस्तुत गरेको आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षको फागुन महिनासम्म प्रदेश सरकारले कुल खर्चको २५.६२ प्रतिशत मात्रै खर्च गर्न सकेको बताइएको छ भने यसमा चालू खर्च ३५.२२ प्रतिशत र पुँजीगत खर्च १९.९४ प्रतिशत रहेको उल्लेख छ। सो अवधिमा प्रदेश सरकारको आय ४४ अर्ब ५६ करोड ५३ लाख रुपैयाँ पुगेको मन्त्री काफ्लेले बताए।
उनका अनुसार बागमती प्रदेशमा सामाजिक र भौतिक सूचकहरूमा पनि उल्लेखनीय प्रगति गरेको पाइएको छ। बागमती प्रदेशमा हाल ९९.९७ प्रतिशत जनसंख्यामा विद्युत् सेवा पुगेको तथा ९२.३५ प्रतिशत घरधुरीमा आधारभूत खानेपानी सेवा पुगेको छ उनले बताए।
साक्षरताको दर ८२.१ प्रतिशत रहेको र युवामा उद्यमशील सोचको विकास हुँदै गएको सर्वेक्षणमा उल्लेख गरिएको छ। प्रदेश सरकारले सर्वेक्षणले औंल्याएका विषयहरूलाई आगामी बजेट तथा कार्यक्रम र क्षेत्रगत नीतिमार्फत सम्बोधन गर्ने आर्थिक मामिला तथा योजना मन्त्री काफ्लेले बताए।
यस्तै, चालु आर्थिक वर्षको फागुनसम्ममा बागमती प्रदेश सरकारले नयाँ सड़क निर्माण ३८.२ किलोमिटर, खण्डस्मित सडक स्तरोन्नति ७५.९५ किलोमिटर, पक्की सड़क स्तरोन्नति १०२.१८ किलोमिटर, नियमित सडक मर्मत २२० किलोमिटर र आवधिक मर्मत ४८.५९ किलोमिटर निर्माण तथा मर्मत गरेको बताइएको छ।
गत फागुनसम्म बागमती प्रदेश सरकारले कुल १४७ वटा सडक पुल र २८ वटा झोलुङ्गेपुल/ट्रस पुल निर्माण सम्पन्न गरेको उल्लेख छ भने यस अवधिमा बागमती प्रदेश भित्रका ११९ वटै स्थानीय तहको केन्द्रसम्म सडक सञ्जाल जोडिएको र ९१ वटा स्थानीय तहको केन्द्रसम्म पक्की सडकको पहुँच पुगेको बताइएको छ भने २८ वटा स्थानीय तहको केन्द्रसम्म पक्की सडकको पहुँच पुग्न बाँकी रहेको उल्लेख छ।
यता, चालु आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २५.२ प्रतिशत र गैरकृषि क्षेत्रको योगदान ७४.८ प्रतिशत रहने अनुमान गरिएको मन्त्री काफ्ले बताए। उनका अनुसार गत आर्थिक वर्ष यस्तो योगदान क्रमशः २४.७ प्रतिशत र ७५.३ प्रतिशत रहेको थियो।
१.६ चालु आर्थिक वर्ष २०८१÷८२ मा कृषि क्षेत्रको उत्पादन ३.२८ प्रतिशत र गैरकृषि क्षेत्रको उत्पादन ४.२८ प्रतिशतले बढ्ने अनुमान छ। गत आर्थिक वर्षमा कृषि क्षेत्रको उत्पादन ३.३५ प्रतिशत र गैरकृषि क्षेत्रको उत्पादन ३.३६ प्रतिशतले बढेको थियो।
प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक सर्वेक्षणमा बागमतीमा निरपेक्ष गरिवी दर राष्ट्रिय औसतभन्दा कम रहेको उल्लेख छ। नेपाल जीवनस्तर सर्वेक्षण चौथो अनुसार नेपालमा निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्या २०.२७ प्रतिशत र बहुआयामिक गरिबीको जनसंख्या १७.४ प्रतिशत रहेकोमा बागमती प्रदेशको निरपेक्ष गरिवी १२.५९ प्रतिशत र बहुआयामिक गरिबी ७.० प्रतिशत रहेको छ। जुन राष्ट्रिय औसतभन्दा कम रहेको मन्त्री काफ्लेले बताए।
आर्थिक सर्वेक्षण नीति निर्माणमा संलग्न संघीय तथा प्रदेश सांसद, स्थानीय तह, नीति निर्माताहरू, अनुसन्धानकर्ता, शिक्षाविद्, व्यवसायी तथा नागरिकका लागि महत्वपूर्ण दस्तावेज हुने अपेक्षा गरिएको आर्थिक मामिला तथा योजना मन्त्री काफ्लेको भनाइ छ।
Shares

प्रतिक्रिया