उमेर यस्तै १६/१७ वर्षजत्तिको हुँदो हो। कक्षाका पुरुष साथीहरू टोलका काका-ठूलाबुवाले तास खेलेको हेरेर विद्यालय जानै भुल्थे। एकदिन/ दुईदिन गर्दागर्दै उनलाई पनि तास खेलेको हेर्ने रस बस्यो। कक्षाकोठामा ढिला पुगेकै कारण ती पुरुष साथीहरूसँगै हातमा लौरोको डाम बस्यो। शिक्षकको गालीले उनको रगत उम्लियो। अनि गाउँमा तास च्यात्ने अभियान सुरु गरिन्।
आफ्ना पति बिहानको झुल्के घाममै तास खेलेर दिन बिताएको हेर्न कसलाई रहर होला र! कक्षा १० मा पढ्दै गरेकी उनले ‘तास च्यातौँ अभियान’ नै सुरु गरिन्। आफ्ना पतिको तास खेल्ने बानीदेखि वाक्क भएका आमा-काकीहरूले उनलाई साथ दिए। तासको खाल बस्यो कि टोलका आमाहरू मीना खोइ भन्दै तास च्यात्नका लागि सहारा खोज्न थाले।
सानैदेखि निडर र हक्की स्वभावकी मीना अर्थात् मीनाकुमारी लामा उनै हुन्- जो हाल बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौँडा उपमहानगरपालिकाको नेतृत्व सम्हालिरहेकी छन्।

मकवानपुरका १० स्थानीय तहमध्ये हेटौँडा उपमहानगरपालिका मात्रै महिलाले नेतृत्व गर्न पाएका हुन्। यसबाहेक महिलाका लागि सुरक्षित गरिएका पद उपाध्यक्ष/उपमेयरमा पनि पर्याप्त सहभागिता छैन।
मनहरी गाउँपालिका उपाध्यक्षमा सीता पुलामी मगर छिन् भने मकवानपुरगढी गाउँपालिकामा मानकुमारी पाख्रिन र इन्द्रसरोवर गाउँपालिकाको उपाध्यक्षमा उमा भ्लोन छिन्। बाँकी सबै स्थानीय तहमा प्रमुख र उपप्रमुख दुवै पदमा पुरुष छन्।
२०३३ सालमा हेटौँडा-११ नवलपुरमा जन्मिएकी मीना कुमारी लामा १६/१७ वर्षको उमेरदेखि नै विद्यार्थी राजनीतिमा होमिइन्। विद्यालयमा महिला विद्यार्थीको अधिकारका लागि चर्को आवाज उठाइन्। महिलाले पनि पुरुष साथीसरह नै खेल्न पाउनुपर्छ, पढ्न पाउनुपर्छ भन्ने नारा लगाइन्।
२०४६ सालमा मकवानपुर क्याम्पसमा अनेरास्ववियुको अध्यक्ष बनिन्। २०५० सालमा यसैको जिल्ला कोषाध्यक्ष बनिन्। एमालेनिकट अखिल नेपाल महिला संघ (अनेमसंघ) को जिल्ला सचिव हुँदै पार्टीको जिल्ला कमिटीको उपसचिवसम्मको जिम्मेवारी सम्हालेको अनुभव उनमा छ। उपसचिव भएपछि भने उनले हेटौँडा उपमहानगरपालिकाको उपमेयरको टिकट पाइन्।
हुन त महिला भएकै कारण नपत्याएर टिकट दिन नै आनाकानी गर्ने प्रवृत्ति नेपाली राजनीतिक दलमा छ। सोही कारण पनि नेतृत्व तहमा नारीको उपस्थिति सन्तोषजनक देखिँदैन।
‘लामो समयदेखि राजनीतिमा थिएँ, त्यसैले पनि होला- २०७४ को निर्वाचनमा पार्टीले हेटौँडाको उपमेयर बनाउन चाहेर टिकट दियो’, लामा भन्छिन्, ‘जितेँ पनि। दिनरात नभनी नगरवासीको हक-अधिकारका लागि निकै संघर्ष गरेँ। लाग्छ- यो प्रतिफलस्वरूप नै नगरप्रमुख बन्ने अवसर पाएँ।’
हेटौँडामा उपमेयर बन्ने महिलाको संख्या कम भएर होइन, तीमध्ये पनि अब्बल भएकै कारण पार्टीले उनलाई पत्याएको हो।
हेटौँडाका मतदाताले पनि उनलाई पत्याए र मत दिए। अनि विजयी हुँदै राजनीतिमा एक खुड्किलो पार गरिन्।
यसअघि उपमेयर हुँदा नागरिकका घरघरमा पुगेकी उनी अहिले कार्यकारी पदमा छिन्। अहिले घरघरबाट नागरिक मेयर लामाको कार्यकक्षमा पुग्छन्। कसैले मेयर साब, कसैले दिदी त कसैले बहिनी, छोरी, भाउजु भनेर सम्बोधन गर्छन्।
विधिसम्मत् काम उनी तुरुन्तै गरिदिन्छिन्। न रात भन्छिन् न दिन। न खाजा खोज्छिन् न चिया।
उनी हाँस्दै भन्छिन्, ‘हुन त महिलालाई अझै पुरुषहरूले पत्याउँदैनन्। तर महिलाले नेतृत्व गरेको जुनसुकै संस्थाको चालचलन सफा हुन्छ। काममा ढिलाइ हुँदैन। विधिसम्मत् छ भने काम हुन्छ, नत्र दायाँबायाँ कुरा गरेर अल्झाउने वातावरण महिलाहरूले सिर्जना गर्दैनन् जस्तो मलाई लाग्छ।’
उपमेयर बन्दा एमालेबाट टिकट लिएकी लामा दल विभिजनपश्चात् माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लागिन्। गत स्थानीय तहको निर्वाचनमा उनी यही पार्टीबाट टिकट पाएकी हुन्। उनी कांग्रेस, माओवादीसमेत रहेको ५ दलीय सत्ता गठबन्धनको साझा उम्मेदवार बनिन्। एकपटक उपमेयर भइसकेको व्यक्तिलाई मेयर बनाउन मतदाताले साथ दिन्छन् भन्ने सोचेर एकीकृत समाजवादीले उनलाई उठाउने निर्णय गरेको थियो।
एमालेका उम्मेदवार अनन्त पौडेललाई २ हजारभन्दा बढी मतान्तरले पछि पार्दै उनी मेयर पदमा विजयी भइन्। लामाले २३ हजार ८० मत ल्याउँदा पौडेलले २० हजार ९०८ मत पाएका थिए। अघिल्लो चुनावमा एमालेबाट उपमेयरमा विजयी लामाले यसपटक एमालेकै लालकिल्ला भत्काएकी हुन्। यसअघि हेटौँडाको मेयरमा एमालेकै वर्चस्व थियो।
त्यसो त जसरी पुरुषको सफलताको पछाडि महिलाको हात हुन्छ, त्यसैगरी महिलालाई पनि सफलताका लागि पुरुषको साथ आवश्यक पर्छ। विवाह हुनु अघिदेखि नै राजनीतिमा लागेकी लामालाई बिहेपछि यसलाई निरन्तरता दिन नपाइने हो कि भन्ने ठूलो चिन्ता थियो। तर जीवनमा उनले सोचेजस्तै जीवनसाथी पाइन्।
हेटौँडामै व्यवसाय गर्ने सुनकुमार तामाङसँग २०५४ सालमा उनको विवाह भयो। आफ्ना पति फरक क्षेत्रमा भए पनि राजनीतिमा अघि बढ्न उनीबाट पूर्ण रूपमा साथ पाएको उनी सुनाउँछिन्। यस क्रममा उनले राजनीतिसँगै एक छोरा र एक छोरी हुर्काउँदै समाजशास्त्रमा स्नातकोत्तर (एमए) र कानुनमा स्नातक (एलएलबी) अध्ययनसमेत पूरा गरिन्।
घरपरिवार, पढाइ अनि राजनीति एकसाथ अघि बढाउन महिलाका लागि कति कठिन हुँदो हो! तर पनि सबै कुरा व्यवस्थापन गर्दै अघि बढ्न सके नहुने र नसकिने केही नहुने उनी बताउँछिन्।
‘मेयर हुँदा र उपमेयर हुँदा आकाश पातालको फरक हुँदो रहेछ,’ मुसुक्क हाँस्दै उनले भनिन्, ‘उपमेयर हुँदा कामचाहिँ गर्नपर्थ्यो, तर निर्णय भूमिकाको तनाव हुँदैनथ्यो। अहिले सबै निर्णय आफ्नै थाप्लोमा छ जस्तो लाग्छ। त्यसैले निकै सोचेर मात्रै अघि बढ्नुपर्ने हुन्छ। तर महिला भएकै कारण निर्णय नै लिन नसक्ने, चुनौतीपूर्ण हुने भन्ने चाहिँ भएको छैन।’
हेटौँडा उपमहानगरको प्रमुख बनेको लगभग तीन वर्ष पूरा हुन लाग्यो। उपमेयरमा ५ वर्ष र मेयर बनेपछिका अवधि निकै सम्झनलायक बनेको उनी बताउँछिन्। उनकै नेतृत्वमा उपमहानगरपलिकाको आवधिक योजना बनाएरै विकासका काम भइरहेका छन्। शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार तथा सरसफाइका क्षेत्रमा उल्लेख्य काम भइरहेका छन्।
अझ हेटौँडालाई महिलामैत्री सहर बनाउने उनको लक्ष्य छ। यति मात्रै होइन, हेटौँडाका महिलाले गरेका उत्पादन अन्तर्राष्ट्रिय बजारमा पुर्याउन पहल गरिरहेको उनको भनाइ छ।
‘हेटौँडाका दिदीबहिनीहरूले उत्पादन गरेका गुन्द्रुक अहिले विभिन्न देशमा निर्यात भइरहेका छन्’, उनले भनिन्, ‘ढाकाको कपडा हेटौँडाकै महिलाले बनाउनुहुन्छ। गार्मेन्ट उद्योग पनि महिलाले नै सञ्चालन गर्दै आउनुभएको छ। खुवा उत्पादनदेखि फलफूल उत्पादनसम्म महिलाको पहुँच पुगेको छ। महिलाका लागि मात्रै काम भएका छन् भन्ने होइन, महिलाकै क्षेत्रमा पनि उल्लेख्य काम भएका छन् भन्ने उदाहरण हो।’
समग्रमा चौतर्फी विकास गर्ने लक्ष्यका साथ बनाइएको योजनाअन्तर्गत तेस्रो वर्षमा काम देखिन थालेको उनको दाबी छ। आफू मेयर बनेयता हेटौँडाको विकासको रेखा कोर्ने काम भएको जिकिर गर्दै उलने बाँकी २ वर्षमा लक्ष्य पूरा गरेरै छाड्ने प्रतिबद्धता प्रकट गरिन्। उनको नेतृत्वमा हेटौँडा उपमहानगरपालिका ‘स्वच्छ, उत्पादनशील, समृद्ध सहर हेटौँडा’को लक्ष्यतर्फ अग्रसर छ।
Shares

प्रतिक्रिया