भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपाल मकवानपुरले लोक गायक कुलेन्द्र विश्वकर्मा, गायक हेमन्त शर्मा सहित ११ जनालाई सम्मान तथा पुरस्कृत गर्ने भएको छ।
फागुन १७ गते शनिबार हेटौँडामा विशेष सांगीतिक तथा सम्मान कार्यक्रमको आयोजना गरी विश्वकर्मा र शर्मा सहित विभिन्न क्षेत्रका ११ जना सर्जक, श्रष्ठा एवम् क्रियाशिल व्यक्तित्वलाई सम्मान गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठले जानकारी दिए।
वरिष्ठ कला साधक भीम विराग सक्रिय रहेको साहित्य, संगीत, कला र पत्रकारिता चारवटै क्षेत्रलाई समेटेर हेटौँडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा स्रष्टालाई पुरस्कार सर्मपण गर्न लागिएको अध्यक्ष श्रेष्ठको भनाइ छ।
भीम विराग राष्ट्रिय संगीत पुरस्कार २०८१ बाट गायक हेमन्त शर्मालाई प्रदान गर्न लागिएको हो भने लोक गायक कुलेन्द्र विश्वकर्मालाई रामकृष्ण बानियाँ स्मृति लोक संगीत पुरस्कार प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष श्रेष्ठले जानकारी दिए। उनका अनुसार शर्मालाई नगद २५ हजार रुपैयाँ र विश्वकर्मालाई २० हजार रुपैयाँ राशी सहित सम्मान पत्र प्रदान गरिने छ।
यस्तै, भीम विराग राष्ट्रिय साहित्य पुरस्कार काठमाडौंकी साहित्यकार माया ठकुरी, राष्ट्रिय कला पुरस्कार मकवानपुरका कलाकार भोलाराज सापकोटा र राष्ट्रिय पत्रकारिता पुरस्कार काठमाडौँका पत्रकार ठाकुर बेल्वासलाई प्रदान गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए। यी सबै पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ रहेको छ।
१५ हजार रुपैयाँ राशीको तुलसीमाया–शिवकुमारी सिर्जनशील नारी पुरस्कार मकवानपुरकी महिला उद्यमी शोभा श्रेष्ठ र शिला नारी पुरस्कार पनि मकवानपुरकै मेनका श्रेष्ठलाई प्रदान गरिने भएको छ भने भीम–मथुरा बाल प्रतिभा पुरस्कार मकवानपुरकै रितिका छत्कुली समर्पण गरिने भएको छ। यो पुरस्कारको राशी नगद १० हजार रुपैयाँ रहेको छ।
चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कारबाट मकवानपुरका बालसाहित्य अभियानकर्मी दिपक गौतमलाई प्रदान गरिने भएको छ। यस पुरस्कार राशी १५ हजार रुपैयाँ रहेको छ।
त्यसैगरी १० हजार रुपैयाँ राशीको मंगलादेवी स्मृति स्वास्थ्य सेवा पुरस्कारबाट मकवानपुरकै स्वास्थ्यकर्मी निर्मला ब्लोन र अजित सेन–कमलेश्वर गुप्ता भिन्न क्षमता पुरस्कार मकवानपुरका दृष्टिविहिन मेकानिक सुदर्शन ढकाललाई प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताए।
वरिष्ठ कला साधक विरागको नाममा स्थापना गरिएको प्रतिष्ठानले वर्षेनी सम्मान तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गर्दै आएको छ ।
Shares

प्रतिक्रिया