बागमती


काठमाडौँ महानगरमा खाद्यवस्तुको गुणस्तर ठाउँको ठाउँ जाँच गर्ने तयारी

काठमाडौँ महानगरमा खाद्यवस्तुको गुणस्तर ठाउँको ठाउँ जाँच गर्ने तयारी

नेपालखबर
फागुन ४, २०८१ आइतबार १४:३, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले सहरमा बिक्री हुने खाद्य सेवाअन्तर्गतका खानेकुराको गुणस्तर परीक्षणका लागि मोबाइल भ्यानबाट फिल्डमा तत्काल नतिजा हेर्ने तयारी गरेको छ।

नियमित अनुगमन गरेर सचेतनात्मक कार्यक्रम र क्षमता विकासका लागि क्षेत्रगत तालिम प्रदान गरिसकेपछि व्यवसायीहरूमा आएको परिवर्तनलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको सहकार्यमा प्रयोगशाला परीक्षणबाट नतिजा हेर्ने तयारी भएको हो।

यसका लागि महानगरपालिकाका उपप्रमुख प्रमुख सुनिता डंगोल, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका कार्यकारी निर्देशक सञ्जीवकुमार कर्णसहित अधिकारीहरूबीच मोबाइल भ्यान सञ्चालन र क्षमता विकासका विषयमा छलफल भएको छ।

छलफलमा खाद्य स्वच्छताको गुणस्तर नियन्त्रणका लागि महानगरपालिकाले काम गर्ने, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले क्षमता विकास र प्राविधिक सहयोग उपलब्ध गराउने विषयले प्राथमिकता पाएको थियो।

छलफलमा महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नुरनिधि न्यौपाने, खाद्य स्वच्छता तथा गुणस्तर कार्यक्रमका विज्ञ सल्लाहकार जीवनप्रभा लामा, कार्यक्रमका सल्लाहकार सन्तोष गिरीसहित अधिकारीहरूले सहकार्य क्षेत्रका विषयमा धारणा राखेका थिए।

सुपथ मूल्यमा गुणस्तरीय वस्तु प्राप्त गर्ने उपभोक्ताको अधिकार सुनिश्चित गर्न महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले नियमित बजार अनुगमन गरिरहेको छ।

यससँगै स्वच्छ खाद्य सेवा प्रवर्धन तथा प्रमाणीकरणका लागि खाद्य स्वच्छता: प्रवर्धन शिविर (फुड सेफ्टी, बुट क्याम्प) अन्तर्गत क्षेत्रगत खाद्य सेवा सञ्चालन गर्ने सञ्चालक र व्यवसायीलाई क्षमता विकास तालिम प्रदान गरेको छ। क्षमता विकासको पहिलो संस्करणमा साना तथा मध्यम भोजनालय, दोस्रो संस्करणमा मासुजन्य खाद्य वस्तुका उत्पादक तथा बिक्रेता, तेस्रो संस्करणमा मिठाईजन्य खाद्य सेवाका उत्पादक तथा विक्रेतालाई तालिम दिइएको थियो।

यस्तै चौथो संस्करणमा होटल, क्याटरिङ् र ब्याङ्क्वेट सेवाका व्यवसायी र पाँचौँ संस्करणमा रैथाने खाना सेवाका उत्पादक र बिक्रेतालाई तालिम दिइएको थियो।

बजार अनुगमन र व्यवसायीलाई दिइएको तालिमको नतिजालाई तथ्यमा मापन गर्न महानगरपालिकाले मोबाइल भ्यानमार्फत गुणस्तर परीक्षण कार्यक्रम अगाडि बढाउन लागेको हो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad