आज (शनिबार) काठमाडौँ उपत्यकामा चिसो बढ्ने भएको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज दिउँसोदेखि काठमाडौँ उपत्यकाको मौसम पनि बदली हुने भएको हो।
‘आज दिउँसो काठमाडौँमा घाम–बादल, घाम–बादल हुने सम्भावना छ’, उनले भने, ‘दिउँसोलाई पानी नै पर्ने सम्भावनाचाहिँ देखिएको छैन, तर बादल लाग्ने, मौसम बदली हुने सम्भावना छ।’
उनले थपे, ‘त्यसैले आज काठमाडौँमा तुलनात्मक रूपमा मौसम चिसो हुने सम्भावना छ, रातिचाहिँ छिटपुट पानी पनि पर्छ कि भन्ने अनुमान गरेका छौँ।’
यसैबीच आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियस देखिएको जानकारी पनि मौसमविद् लामिछानेले दिए।
‘आज अधिकतम तापक्रमचाहिँ १९ देखि २१ डिग्री सेल्सियसको बीचमा रहने अनुमान छ’, उनले भने।
हिजो शुक्रबार भने काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस थियो। त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे पुन: मापन हुन्छ। त्यतिबेला थप केही घट्ने सम्भावना हुन्छ भने अहिलेको जत्तिकै रहन पनि सक्छ।
यस्तै शुक्रबार काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २०.६ डिग्री सेल्सियस थियो।
मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम बढ्छ, आकाश सफा रह्यो भने घट्छ। अनि यसको ठीक उल्टो दिउँसोचाहिँ बादल लाग्यो भने घाम नदेखिने भएकाले अधिकतम तापक्रम घट्छ भने आकाश सफा रह्यो र दिनभर घाम लाग्यो भने बढ्छ।
न्यूनतम तापक्रम भनेको त्यस दिन सबैभन्दा तल झरेको तापक्रम हो भने अधिकतम तापक्रम भनेको सबैभन्दा माथि उक्लिएको तापक्रम हो।
मौसमविद्का अनुसार सामान्यतया न्यूनतम तापक्रम हरेक दिन बिहान ८:४५ बजे तथा अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
हिजो शुक्रबार देशका यी स्थानमा यस्तो थियो अधिकतम र न्यूनतम तापक्रम:

Shares

प्रतिक्रिया